निरुता र उत्तमको जोडी ‘सारथी’मार्फत पर्दामा फर्कँदै

दिलिप घिमिरे · मंसिर १०, २०८३ ८:२० PM
Cover Image for News

झापा, ९ मङ्सिर। ‘दर्पण छायाँ’बाट दर्शकमाझ लोकप्रिय बनेको निरुता सिंह र उत्तम प्रधानको जोडी लामो अन्तरालपछि चलचित्र ‘सारथी’मार्फत पर्दामा फर्कने भएको छ। 

कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्र आगामी शुक्रबार मङ्सिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।                              चलचित्र प्रदर्शनको जानकारी दिन बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा निरुता र उत्तमले पुरानो सहकार्यका सम्झना ताजा गरे। उनीहरूले ‘दर्पण छायाँ’का संवाद सुनाउँदै त्यसबेलाका अनुभव साझा गरे। यही क्रममा ‘दर्पण छायाँ’को दोस्रो भाग निर्माणको तयारी भइरहेको र त्यसको कथा तयार भइसकेको जानकारी पनि दिए। निर्माणका अन्य विषयमा भने छलफल जारी रहेको उनीहरूको भनाइ थियो।

किम्भे प्रोडक्सनको प्रस्तुति तथा धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा बनेको ‘सारथी’मा निरुता र उत्तमसँगै मुकुन्दकुमार श्रेष्ठ, सम्रान्त थापा, राजेन्द्र केसी, मदन थापा र तुलसी गुरुङलगायतको अभिनय छ। यसै चलचित्रबाट गिरी विश्वकर्मा र गायत्री जोशीले अभिनय यात्रा सुरु गर्दैछन्।

कार्यक्रममा कलाकारहरूले नेपाली चलचित्र क्षेत्रको विगत र वर्तमानबारे आफ्ना अनुभव सुनाए। प्रविधिको विकाससँगै चलचित्र निर्माणका काम सहज भए पनि यस क्षेत्रमा चुनौती र सङ्घर्ष अझै कायम रहेको उनीहरूले बताए।

कलाकार तथा निर्माण टोलीले दर्शकलाई चलचित्र हेरेर साथ दिन आग्रह गरेका छन्।

ट्यागहरू:
चलचित्र #कला साहित्य #मनोरञ्जन #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।