देवकुमार सुनुवारको सङ्घर्षपूर्ण जीवन उपन्यास ‘देवी’मा
झापा, ९ मङ्सिर। अभाव, पारिवारिक जटिलता र अनेक कठिनाइसँग जुध्दै अघि बढेका देवकुमार सुनुवारको जीवनकथामा आधारित उपन्यास ‘देवी’ सार्वजनिक गरिएको छ।
बालसाहित्य सर्जक विजयराज आचार्यले लेखेको उपन्यास बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो।उपन्यासमा देवकुमारको बाल्यकाल, किशोरावस्था, पारिवारिक परिवेश तथा शिक्षा र सीप हासिल गर्न उनले गरेका सङ्घर्ष समेटिएका छन्। बाल्यकालमा गम्भीर बिरामी परेर बाँच्ने आशासमेत कमजोर भएको अवस्थादेखि सहरमा काम गर्दै अंग्रेजी भाषा र ड्राइभिङ सिक्दासम्मका जीवनभोगाइलाई आचार्यले कथात्मक रूप दिएका छन्।
पुस्तकमाथि टिप्पणी गर्दै लेखक तथा सामाजिक अध्येता कैलाश राईले सरल भाषामा लेखिएको उपन्यासले सङ्घर्षबाट खारिएको मानिसको जीवनलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको बताइन्। सामान्य जीवनका भोगाइ पनि साहित्यका विषय बन्न सक्छन् भन्ने उदाहरण ‘देवी’ बनेको उनको टिप्पणी थियो।
वरिष्ठ बालसाहित्य सर्जक तथा इतिहासकार प्रमोद प्रधानले देवकुमारको वास्तविक जीवन उपन्यासमा वर्णन गरिएभन्दा पनि कठिन रहेको बताए। देवकुमारसँगको आफ्नो परिचय र उनका सङ्घर्षबारेको जानकारी उल्लेख गर्दै प्रधानले उपन्यासमा जीवनका वास्तविक भोगाइ प्रस्तुत भएको बताए। यस्तो कथाले किशोर पाठकलाई कठिनाइसँग जुधेर अघि बढ्न प्रेरित गर्ने उनको भनाइ थियो। उनले देवकुमारको जीवनकथा आत्मकथाका रूपमा पनि आउनुपर्ने धारणा राखे।
सञ्चारकर्मी जगत दोङ तामाङले देवकुमारको जीवनकथा सुन्दा आफू भावुक भएको स्मरण गर्दै उपन्यासले पाठकलाई पनि त्यस्तै अनुभूति गराउने विश्वास व्यक्त गरे।
क्रान्ति पाण्डेले सम्पादन गरेको उपन्यासको भाषा सम्पादन प्रमोद प्रधानले गरेका हुन्। रवीन्द्र मानन्धरका चित्र समावेश पुस्तक बियोन्ड स्टोरीज प्रकाशनले प्रकाशित गरेको हो।