लता खरेलका पाँच मुक्तक
लता खरेलका पाँच मुक्तक
(१)
म नारी उभिनलाई ,आधार मिलाउँदै छु
बाङ्गा रहेछन् भाग्य रेखा ,आकार मिलाउँदै छु
लड्छु अनि सम्हालिँदै उठ्न खोज्छु सधैँ
बोझै बोझले थिचिएको ,भार मिलाउँदैछु।
(२)
तिमी र मैले ओड्ने , आकाश एउटै हुन्छ
भोगाइका अनुभूति र , आभास एउटै हुन्छ।
एउटै हाँगाका सुन्दर शालिन फुल हौँ हामी।
तिम्रो मेरो सम्बन्धको ,सुभाष एउटै हुन्छ।
(३)
एक अन्जुली खुसी सापट मागी हाँस्न पाए हुन्थ्यो
सधैँ यो मुटुभरि मिठो माया साच्न पाए हुन्थ्यो
जिन्दगीप्रति साँच्चै नै मोह जागेको छ आजभोलि
तिम्रो प्रेमको शीतल छहरीमा बाँच्न पाए हुन्थ्यो
(४)
सहनुको पनि आफ्नै परिधि, र आफ्नै सीमा हुन्छ
खराब विचार र सोचको गति, सधैँ धीमा हुन्छ
मान्छेका अधिकांश सपनाहरू जन्मिएर मर्छन् यहाँ
सपनाको न त कुनै मूल्य, न त कुनै बीमा हुन्छ।
(५)
घाँटीभरि खादा माला, आदत परिसक्यो
खोक्रो भाषण झुटो चाला, आदत परिसक्यो
यत्रतत्र सर्वत्र जताततै, सत्ताकै छ चलखेल
कहिले गोरा कहिले काला , आदत परिसक्यो।
-झापा