वाङ्मय साधनाको सम्मानमा प्रतिभा पौडेलसहित स्रष्टा पुरस्कृत

दिलिप घिमिरे · मंसिर ७, २०८३ ५:३० PM
Cover Image for News

झापा, ६ मङ्सिर /साहित्यको यात्रा सिर्जनामा मात्र सीमित हुँदैन, त्यसको संरक्षण, अध्ययन र नयाँ पुस्तामा हस्तान्तरण पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यही साधनामा समर्पित स्रष्टा, प्रतिभा र शैक्षिक संस्थालाई पं. काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठानले आफ्नो १४औँ वार्षिकोत्सवका अवसरमा पुरस्कृत तथा सम्मानित गरेको छ।

दमकमा आयोजित कार्यक्रममा इलामकी प्रतिभा पौडेललाई हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार प्रदान गरियो। त्यसैगरी डा. तुलसीप्रसाद भट्टराई र प्रा. कोमलप्रसाद पोखरेल वाङ्मय पुरस्कारबाट सम्मानित भए। श्री धनुपकोटी संस्कृत वेदविद्याश्रमलाई कमलापति–डम्बरकुमारी वाङ्मय पुरस्कार प्रदान गरियो। दमकस्थित पिण्डेश्वर विद्यापीठका मेधावी छात्रछात्रालाई पनि पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।

फोटो
वार्षिकोत्सवमा साहित्यिक कृतिको प्रकाशन र सार्वजनिक विमर्शलाई समेत स्थान दिइयो। नारायणप्रसाद शर्मा कट्टेलद्वारा लिखित ‘एकादशी महिमा’ पुस्तक र प्रतिभा निकेतन दमकको समसामयिक प्रकाशनको २०औँ अङ्क लोकार्पण गरियो।

दमक नगरपालिका–२ स्थित डाकिनी चोकको समाज सुधार प्रतिष्ठानमा आयोजित कार्यक्रममा साहित्यकार, वाङ्मयप्रेमी तथा साहित्यिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। सिर्जना, अध्ययन र सांस्कृतिक चेतनाको निरन्तरताका लागि क्रियाशील व्यक्ति तथा संस्थाको सम्मानमार्फत प्रतिष्ठानले वाङ्मय साधनालाई प्रोत्साहन गर्ने प्रयास गरेको छ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।