असमकी कवि निरुपा भारद्वाजको पहिलो काव्यकृति ‘बादलपारिको इन्द्रेणी’ लोकार्पित

दिलिप घिमिरे · मंसिर ९, २०८३ ९:०९ AM
Cover Image for News

झापा, ८ मङ्सिर / असमकी कवि निरुपा भारद्वाजको पहिलो काव्यकृति ‘बादलपारिको इन्द्रेणी’ लोकार्पण गरिएको छ।

नवज्योति सङ्घको आयोजनामा सम्पन्न पाँचौँ वार्षिक तिहार बिदाइ समारोहको अन्तिम दिन आयोजित विशेष समारोहमा असम नेपाली साहित्य सभाका सभापति डा. चिन्तामणि शर्माले कृतिको लोकार्पण गरेका हुन्। समारोहमा साहित्य अकादेमी अनुवाद पुरस्कारप्राप्त वरिष्ठ साहित्यकार डा. सञ्जीव उपाध्याय तथा बिहाली विधानसभा समष्टिका विधायक मुनिन्द्रनाथ दासको उपस्थिति रहेको थियो।

कृति लोकार्पणलाई आफ्नो साहित्यिक यात्राको अविस्मरणीय क्षणका रूपमा लिँदै कवि भारद्वाजले कृतिप्रति शुभेच्छा व्यक्त गर्ने डा. चिन्तामणि शर्मा र डा. सञ्जीव उपाध्याय तथा भूमिकामार्फत कृतिको भावभूमि उजागर गरिदिने नीलिमा आचार्यप्रति कृतज्ञता व्यक्त गरेकी छन्।

कृति प्रकाशनमा जीवनसाथी चेवन शर्माको विशेष योगदान रहेको पनि उनले उल्लेख गरेकी छन्। डायरीका पानामा वर्षौंदेखि सङ्गृहीत कवितालाई पुस्तकको स्वरूप दिन चेवनले निरन्तर साथ, प्रेरणा र अथक प्रयास गरेको कवि भारद्वाजको भनाइ छ। स्रष्टाका सिर्जनालाई पहिचान गरी पुस्तकाकारमा पाठकमाझ पुर्‍याउन जीवनसाथीले खेलेको भूमिका प्रशंसनीय छ। विशेषतः नारी स्रष्टाका लागि पारिवारिक साथ र सिर्जनाप्रतिको सम्मानले सिर्जनायात्रामा थप ऊर्जा र आत्मविश्वास प्रदान गर्छ।

नेपाली भाषा–साहित्यको अध्ययन, लेखन र प्रकाशनका लागि पर्याप्त स्रोतसामग्री तथा सहज अवसरको अभाव रहेको असमको परिवेशमा भारद्वाजको कृति प्रकाशन हुनु थप महत्त्वपूर्ण छ। यस्तो परिस्थितिमा नारी स्रष्टाबाट नेपाली साहित्यको श्रीवृद्धिमा पुगेको योगदान प्रशंसनीय छ।

कविता कृति
‘बादलपारिको इन्द्रेणी’मा जीवनका तीतामीठा अनुभूति, नारीमनका अव्यक्त वेदना, सामाजिक विसङ्गतिप्रतिको विद्रोह र उज्ज्वल भविष्यप्रतिको आशा अभिव्यक्त भएका छन्। कवि भारद्वाजका अनुसार यो कृति उनका सपना, अनुभूति, सङ्घर्ष र आशाहरूको सङ्ग्रह हो। लामो समय डायरीका पानामा सीमित रहेका भावनाहरूले पुस्तकको रूप लिएसँगै आफ्ना सिर्जना पाठकमाझ पुर्‍याउने साहित्यिक यात्राको नयाँ अध्याय सुरु भएको छ।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।