पहिलो ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार’ रमेश विकललाई

दिलिप घिमिरे · मंसिर ९, २०८३ ११:४८ AM
Cover Image for News

झापा, ९ मङ्सिर। प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले पहिलो ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार, २०८३’ बाट साहित्यकार रमेश विकललाई पुरस्कृत गरेको छ। नेपालको वामपन्थी साहित्य तथा न्यायिक अभियानमा विकलले पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

काठमाडौंमा आइतबार आयोजित पुरस्कार वितरण समारोहमा वक्ताहरूले शक्ति लम्सालको पत्रकारिता, राजनीतिक निष्ठा र सामाजिक रूपान्तरणको अभियानमा पुर्‍याएको योगदानको चर्चा गरे। उनीहरूले लम्सालले देखाएको बाटोमा हिँड्न र उनका विचारलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने धारणा राखे।

नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिक स्वतन्त्रता र राष्ट्रिय हितका पक्षमा लम्सालले कहिल्यै सम्झौता नगरेको बताए। राजनीतिक विविधताको सम्मान गर्दै विचार र कार्यदिशामाथि खुला बहस हुनुपर्ने उल्लेख गर्दै उनले निषेधको राजनीतिले समाजलाई अघि बढाउन नसक्ने धारणा राखे।

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री देव गुरुङले कठिन परिस्थितिमा पनि लम्साल न्याय, समानता र विकासका पक्षमा दृढ रहेको बताए। राजनीतिकर्मीहरूले सिद्धान्त र विचारमा आधारित राजनीति गर्न उनको जीवनबाट सिक्नुपर्ने उनले उल्लेख गरे।

लेखक तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले वामपन्थी विचारधारामा रहेर पनि लम्साल अहिंसाका पक्षमा उभिएको बताए। सामाजिक रूपान्तरणका लागि उनले जीवनभर गरेको योगदानको चर्चा गर्दै दाहालले साहित्यिक र न्यायिक कर्मको महत्त्व समयसँगै हराएर नजाने बताए।

पत्रकार तथा विश्लेषक महेश्वर दाहालले उच्च सेन्सरसीपको समयमा पनि लम्सालले कसैको दबाबमा नपरी पत्रकारिता गरेको स्मरण गरे। अहिले अभ्यासमा रहेको स्वतन्त्र पत्रकारिता तथा विचार र अभिव्यक्तिको स्वतन्त्रताका लागि लम्सालजस्ता व्यक्तिहरूको संघर्ष महत्त्वपूर्ण रहेको उनले बताए। लम्सालको आदर्श र त्यागलाई राजनीतिक संस्कारका रूपमा विकास गर्दै नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा लेखक तथा विश्लेषक हिरण्यलाल श्रेष्ठ, वामपन्थी राजनीतिज्ञ मोहनविक्रम सिंह, पूर्वसांसद एवं राजनीतिकर्मी नारायण शर्मा, लम्सालकी धर्मपत्नी कृष्णा लम्साल, छोरी प्रज्ञा लम्साल तथा पत्रकार एवं विश्लेषक अशोक सुवेदीलगायतले पनि धारणा राखेका थिए। उनीहरूले सामाजिक परिवर्तन र जवाफदेही राजनीतिका पक्षमा लेखक तथा विश्लेषकहरूले निर्भीकतापूर्वक कलम चलाउनुपर्ने बताए।

पुरस्कारको राशि २५ हजार १०० रुपैयाँ रहेको छ। प्रलेसले स्वर्गीय शक्ति लम्सालको स्मृतिमा प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्ने जनाएको छ।

लोकतन्त्र प्राप्तिको आन्दोलनका क्रममा पटकपटक जेल परेका शक्ति लम्सालको २०७२ साल कात्तिकमा निधन भएको थियो।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।