हास्यव्यङ्ग्यको खित्कौलीमा स्रष्टा सम्मान र कृति लोकार्पण

दिलिप घिमिरे · मंसिर १०, २०८३ ७:३७ AM
Cover Image for News

झापा, १० मङ्सिर / नेपाली हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धन र नयाँ पुस्तालाई यस विधातर्फ आकर्षित गर्ने अभियानलाई निरन्तरता दिँदै फित्कौली र बाङ्गा अक्षरको संयुक्त आयोजनामा ‘फित्कौलीको खित्कौली सभा–५’ सम्पन्न भएको छ।

शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा पाँच जना स्रष्टालाई पुरस्कृत तथा सम्मानित गर्नुका साथै दुई साहित्यिक कृति लोकार्पण गरियो।

वरिष्ठ हास्यव्यङ्ग्यकार प्रा. रामकुमार पाँडेको प्रमुख आतिथ्य र नरनाथ लुइँटेलको अध्यक्षतामा सम्पन्न समारोहमा झापाका वरिष्ठ हास्यव्यङ्ग्यकार होम सुवेदीलाई फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य सम्मान प्रदान गरियो। त्यसैगरी राजकुमार लामिछाने, राजेन्द्रप्रसाद अधिकारी, रामप्रसाद पन्थी र रमेशमोहन अधिकारी विभिन्न विधाका पुरस्कारबाट सम्मानित भए। होम सुवेदीलाई २० हजार १०५ रुपैयाँ र अन्य चार स्रष्टालाई जनही १५ हजार १०५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।

समारोहमा ‘सम्हार्जन’ र ठाकुरप्रसाद अधिकारीको हास्यव्यङ्ग्य कृति ‘टेढो नजर’ लोकार्पण गरियो। ‘टेढो नजर’ माथि प्रा. कपिल अज्ञात र ‘सम्हार्जन’ माथि डा. नवराज खतिवडाले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए। खतिवडाले ‘सम्हार्जन’ का ६७ निबन्धको कृत्रिम बौद्धिकता (एआई) मार्फत गरिएको विश्लेषणको सारसमेत प्रस्तुत गरे।

हास्यव्यङ्ग्य लेखनलाई विद्यालय तहदेखि प्रोत्साहन गर्ने उद्देश्यले आयोजित खाइराइड हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कृत गरियो। इलामका सेमन्त आचार्य प्रथम, काठमाडौंका सुविज्ञराज पोखरेल द्वितीय तथा पुसप खरेल र स्वीकृति तामाङ संयुक्त रूपमा तृतीय भए। उनीहरूलाई क्रमशः २० हजार, १० हजार र जनही पाँच हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि पाँडेले नेपाली समाजमा हास्यव्यङ्ग्यको सान्दर्भिकता बढ्दै गएको बताए। विगतमा वासुदेव र भैरवजस्ता स्रष्टाले अघि बढाएको अभियानलाई अहिले फित्कौलीले निरन्तरता दिइरहेको उनको भनाइ थियो।

समारोहमा हास्य कलाकार सुबोध गौतमले चार राष्ट्रिय नेतामाथि केन्द्रित व्यङ्ग्यात्मक कविता प्रस्तुत गरेका थिए। वर्षभरि फित्कौलीमा प्रकाशित राजेश मानन्धरका कार्टुनको प्रदर्शनीसमेत गरिएको थियो। कार्यक्रमको सञ्चालन कल्पना काफ्लेले गरेकी थिइन्।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।