खेमराजको सम्झनामा मनकामना मेला, राजेशपायलको सांगीतिक प्रस्तुति
झापा, ४ मङ्सिर। मित्रता र सम्झनाको सम्बन्ध कति गहिरो हुन्छ भन्ने उदाहरण बनेको छ सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना मेला। दिवङ्गत गायक खेमराज गुरुङको स्मृतिमा हरेक वर्ष आयोजना हुँदै आएको सांगीतिक साँझमा यसपटक पनि गायक राजेशपायल राई सहभागी भए। उनले आफ्ना दिवङ्गत मित्रको सम्झनालाई जीवन्त राख्दै आफू जीवित रहुन्जेल उक्त कार्यक्रममा आइरहने प्रतिबद्धता व्यक्त गरे।
हरिबोधनी एकादशीको अवसरमा अरुण नदी किनारस्थित मनकामनाधाममा लागेको मेलामा तुम्लिङटार स्पोर्टिङ क्लबले आयोजना गरेको स्व. खेमराज गुरुङ स्मृति सांगीतिक साँझमा राईले करिब दुई घण्टा प्रस्तुति दिए। मङ्सिरको चिसो रात र अरुण नदीबाट आएको सिरेटोबीच उनका गीतमा दर्शक छमछमी नाचे।
‘यो–यो’ र ‘राई इज किङ’ उपनामले परिचित राईले ‘सायारेम’, ‘भेट हुँदा सोल्टेनी’, ‘तिमी हाँसी देऊ न’, ‘म त मर्छु क्या हो ठूली’ र ‘कलिलो तामालाई’ लगायत आफ्ना चर्चित गीत सुनाए। गीतसँगै ठट्यौली र हँस्यौलीले दर्शकलाई मनोरञ्जन दिएका उनले प्रत्येक प्रस्तुतिमा ‘वान्स मोर’को हुटिङसमेत पाए।
कार्यक्रममा ‘द भ्वाइस अफ नेपाल’का फाइनलिस्ट रोशन राईले पनि राजेशपायलसँगै र एकल प्रस्तुति दिए। लोक तथा चलचित्र गायिका शान्तिश्री परियारले ‘ऐना हेरेर’, ‘गोर्खे कुखुरी’, ‘रुकुमकोट’, ‘जुनेली रातैरातैमा’ र ‘पछ्यौरी च्यातियो’ लगायत गीत सुनाइन्। गायक प्रशान्त शिवाकोटीले ‘नाच पुतली’, ‘दिलमा ठाउँ छ’ र ‘घामको न्यानो’ प्रस्तुत गरे। शान्तिश्री र प्रशान्तले ‘न्याउली बनैमा’ र ‘बेनी बजारमा’ लगायत लोकप्रिय गीत संयुक्त रूपमा गाएका थिए।
राजेशपायल, शान्तिश्री, प्रशान्त र रोशनको प्रस्तुति रहने भएपछि सङ्खुवासभा र भोजपुरका विभिन्न गाउँबाट युवा तथा वृद्ध दर्शकको बाक्लो उपस्थिति थियो।
वि.सं. १९८२ देखि हरिबोधनी एकादशीका अवसरमा निरन्तर मेला लाग्दै आएको मनकामनाधाम धार्मिक आस्थाको केन्द्रसमेत हो। मनकामना भगवतीको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण यहाँ टाढाटाढाबाट तीर्थालु आउने गरेको तुम्लिङटार स्पोर्टिङ क्लबका अध्यक्ष देवेन्द्र घिमिरेले बताए।