प्राज्ञ लक्ष्मी उप्रेतीसहित नौ स्रष्टा तथा कलाकार सम्मानित
९ मंसिर,झापा । मोरङको लेटाङमा मंसिरको ८ गते सम्पन्न एक कार्यक्रममा नौजना स्रष्टा तथा कलाकार सम्मानित भएका छन् । लिटिल फ्लावर्स बोर्डिङ स्कुलको आयोजना तथा लेटाङ साहित्य कला संगमको सहकार्यमा सम्पन्न एक कार्यक्रममा प्राज्ञ लक्ष्मी उप्रेतीसहित विभिन्न साहित्यिक तथा कलाकारहरुलाई सम्मान गरिएको हो ।
लिटिल फ्लावर्स बोर्डिङ स्कुलकी संस्थापक सिर्जना देवकोटाको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य गुरुप्रसाद बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विराटनगर निवासी लक्ष्मी उप्रेतीलाई दोसल्ला र सम्मानपत्रसहित विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा लेटाङ साहित्य कला सङ्गमका सल्लाहकार कमल अधिकारीले सम्मानित व्यक्तित्व प्राज्ञ लक्ष्मी उप्रेतीको व्यक्तित्व तथा साहित्यिक योगदानबारे चर्चा गर्नुभयो ।
यसैगरी, लेटाङका पूर्वजनप्रतिनिधि तथा समाजसेवी चन्द्र गौतम, साहित्यकार विश्व पागल, मूर्तिकार श्रीप्रसाद किराँती, साहित्यकार डिल्लीराम ओझा, मूर्तिकार ओमप्रकाश विश्वकर्मा, काष्ठ कलाकार मणिहर्क राई, सङ्गीतकार प्रह्लाद बोगटी र साहित्यकार विष्णु न्यौपानेलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गुरुप्रसाद बराल, विशिष्ट अतिथि लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला तथा विद्यालयकी संस्थापक सिर्जना देवकोटा लगायतले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला तथा खादा ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो ।
प्रमुख अतिथि गुरुप्रसाद बरालले सम्मानित व्यक्तित्व प्राज्ञ लक्ष्मी उप्रेतीको योगदानको चर्चा गर्दै साहित्य, कला, संस्कृति तथा सिर्जनाका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई सम्मान गरिएकोमा खुशी व्यक्त गर्नुभयो ।
लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले लेटाङ साहित्य कला संगम र लिटिल फ्लावर्स बोर्डिङ स्कुलले विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै नगरको साहित्यिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको भन्दै प्रशंसा गर्नुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय लक्ष्मी उप्रेती र चन्द्र गौतमले स्रष्टा तथा कलाकारहरूको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरेकोमा आयोजक संस्थाहरूप्रति आभार व्यक्त गर्नुभयो ।
लेटाङ साहित्य कला संगमका सचिव पर्शुराम निरौलाले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल टीका न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गर्नुका साथै सामूहिक गायनमार्फत सांगीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधि, साहित्यकार, सञ्चारकर्मी, विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व साहित्यकार विष्णु न्यौपानेले ‘कर्मजीवि बनौँ’ शीर्षकको कविता वाचन गरेर उपस्थित सहभागीहरूलाई मन्त्रमुग्ध बताउनुभयो ।