लोकवार्तामार्फत लोकसभ्यता पहिचान र संरक्षणको प्रयास-बाजुराका तीन र हुम्लाको एक स्थानमा चारदिने सङ्गोष्ठी, ६३ वटा कार्यपत्र प्रस्तुत

कपिल लामिछाने · मंसिर १०, २०८३ ६:५९ PM
Cover Image for News

९ मंसिर, झापा । पौराणिक परम्परा, भाषा, कला, संस्कृति, रहनसहन तथा पुर्खाले आर्जन गरेको ज्ञानको अध्ययन, अनुसन्धान र संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिम र कर्णाली प्रदेशमा चारदिने लोकवार्ता सङ्गोष्ठी सम्पन्न भएको छ ।

मंसिर ४ गते बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाबाट सुरु भएको सङ्गोष्ठी ५ गते हुम्लाको ताजाकोट, ६ गते बाजुराको हिमाली गाउँपालिकास्थित धुलाचौर र ७ गते बुढीनन्दा नगरपालिकाको कोल्टीमा सम्पन्न भएको हो ।

फोटो
चार दिनसम्म सञ्चालन भएको सङ्गोष्ठीमा राष्ट्रिय तथा स्थानीय अनुसन्धानकर्ता, प्राध्यापक, संस्कृतिविद् र अध्येताहरूले ६३ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । लोकवार्ता परिषद् नेपालका महासचिव ध्रुव भट्टराईका अनुसार केन्द्रीय तहबाट २८ र बाजुरा तथा हुम्लाबाट ३५ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

पोखराबाट सुरु भएको लोकवार्ता सङ्गोष्ठी सुदूरपश्चिममा दोस्रोपटक आयोजना गरिएको हो । यसअघि २०७० सालमा कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुरा, डोटी, अछाम र बैतडीमा १४ दिनसम्म सङ्गोष्ठी आयोजना गरी सुदूरपश्चिमको पौराणिक अवस्था, इतिहास र लोकसंस्कृतिबारे छलफल गरिएको थियो ।

फोटो
त्यसको १३ वर्षपछि पुनः आयोजना गरिएको सङ्गोष्ठीमा सुदूरपश्चिम र कर्णालीको लोकसंस्कृति, परम्परागत चालचलन, सीप, कृषि प्रणाली, नाच, खेल तथा मौलिक परम्पराबारे अध्ययन र विमर्श गरिएको हो ।

सङ्गोष्ठीमा सुदूरपश्चिम प्रदेशका  पूर्वमुख्यमन्त्री, इतिहासविद् तथा महाकाली साहित्य प्रतिष्ठानका अध्यक्ष राजेन्द्रसिंह रावलले भाषा, संस्कृति, पहिचान र सभ्यता संरक्षणमा लोकवार्ता सङ्गोष्ठीले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

‘हामीले आफ्नो भाषा बिर्सिंदै गएका छौँ । आफ्नो इतिहास, पहिचान र संस्कृति पनि भुल्दै गइरहेका छौँ,’ मातृभाषामा कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘हाम्रो सुनौलो विगतको स्मरण गर्न र त्यसलाई संरक्षण गर्न यो कार्यक्रम फलदायी बन्ने विश्वास लिएको छु ।’

फोटो
प्रमुख अतिथिको आसनबाट बोल्दै उनले कला, संस्कृति संरक्षण नै आजको आवश्यक्ता रहेको बताएका थिए । पूर्व मुख्यमन्त्री रावलले परम्परागत जल संचय प्रणालीको सांस्कृतिक महत्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

बुढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहराले बुढीनन्दा माताको गाथा र यस क्षेत्रको धार्मिक आस्थाबारे चर्चा गरेका थिए । धार्मिक, सांस्कृतिक तथा पौराणिक महत्त्व बोकेको बुढीनन्दा क्षेत्रमा रहेका पादुका, पाण्डुसैन र बुढीनन्दालगायतका स्थान तथा सम्पदाबारे अझै पर्याप्त खोज तथा अनुसन्धान हुन नसकेको उनले बताए ।

सङ्गोष्ठीमा लोकराज रेग्मीले लोकसंस्कृति र लोकगीतबारे चर्चा गरेका थिए भने प्राध्यापक छमाकान्त पाण्डेयले प्रकृतिसँग सम्बन्धित लोककथा प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको गुराँस र उतिसको प्रेमकथाले सहभागीको ध्यान आकर्षित गरेको थियो ।

त्यस्तै, डबल बिसीले आफ्नो कार्यपत्रमा तलिकोटी कैलाशको महत्त्व र त्यससँग जोडिएका धार्मिक आस्थाबारे उल्लेख गरेका थिए । निर्मला गिरीले स्थानीय भाषा र गाउँखाने कथाबारे चर्चा गर्दा सर्पलाल गिरीले भाषा संरक्षणका बहुआयामिक पक्षबारे धारणा राखेका थिए ।

यज्ञराज निरौलाले लोककविता प्रस्तुत गरेका थिए भने नर्मदेश्वरी सत्यालले जातीय विभेदका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा लोकसंस्कृति, सम्पदा, प्रकृति, धार्मिक आस्था, मौलिक ज्ञान र सामाजिक परम्पराका विविध पक्षमा छलफल भएको थियो ।

खस साम्राज्यको इतिहासदेखि पुर्खाले आर्जन गरेको ज्ञान, सीप र सभ्यताको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले सङ्गोष्ठी आयोजना गरिएको लोकवार्ता परिषद् नेपालका अध्यक्ष प्राध्यापक डा. भुवनेश्वर पंगेनीले बताए ।

‘हाम्रो १५औँ सङ्गोष्ठी सफल भएको छ । अब १६औँ सङ्गोष्ठी अझै भव्य रूपमा आयोजना गर्नेछौँ,’ उनले भने ।

उनका अनुसार १६औँ लोकवार्ता सङ्गोष्ठी कञ्चनपुरको महेन्द्रनगरबाट सुरु गरिनेछ । त्यसको संयोजनको जिम्मेवारी सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललाई दिइएको छ ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये अहिलेसम्म बझाङ र दार्चुलामा मात्रै लोकवार्ता सङ्गोष्ठी आयोजना हुन सकेको छैन । आगामी कार्यक्रममार्फत ती दुई जिल्लालाई समेत समेट्ने परिषद्को तयारी छ ।

लोकवार्ता सङ्गोष्ठीले लोप हुँदै गएका भाषा, लोककथा, लोकगीत, परम्परागत सीप, जीवनशैली र मौलिक ज्ञानको अभिलेखीकरण तथा संरक्षणमा योगदान पुग्ने बिश्वास गरिएको समाचार प्रा.डा.कपिल लामिछानेबाट प्राप्त ।

ट्यागहरू:
literature samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू