यात्रा
नियात्रा / संस्मरण
यात्रा
✍️ लीला उदासी
कुरा हुन् पनि हैनन् पनि । जे होस, म उभिएर हेर्दै छ । म वरपरका कुरा हेर्दै छु। नजिकका कुरा पनि हेर्दै छु । अतीतका कुरा सम्झदैछु ।भविष्यका कुरा अनुमान गर्दै छु । म उभिएकोछु ।
धेरैलाई भद्दा लाग्न सक्छ । टक्क उभिएको दृश्य मन नपर्न सक्छ । अरूको दृश्य हेरेर आनन्द लिनलाई यो दृश्य सकस लाग्न सक्छ । मलाई उभिन मन परेको छ । म उभिएको छु । रमाइलै पनि छ। म उभिन पाएको छु । म उभिन सकेको छु । संसारमा मान्छेलाई आफ राम्रो लाग्छ । आफ्नै कर्म राम्रो लाग्छ । सत्कर्म त राम्रो लाग्ने नै भयो । मान्छेलाई आफ्नो कुकर्म पनि राम्रै लाग्छ । अनि त संसारमा कुकर्म पनि फस्टाएको छ त !
त्यसो त उभिने मात्रै कार्यसँग म पनि सन्तुष्ट छैन । उभिए पछिको कार्य हिँड्नु हो । दौडनु हो । दौडनु र हिँड्नु अगाडिको कार्य उभिनु भएर नै उभिनुको महत्त्व रहेको होला । तर म हिँड्न सकेको छैन । दौडन पनि सकेको छैन । दौडन, हिँड्न रहर नै नभएको त कहाँ हो र ? तर दौडने र हिँड्ने क्रियाले पुऱ्याउने स्थानको अनिश्चयले उभिन उचित लागेको छ । हिँडिरहेका र दौडिइरहेकालाई मेरो क्रिया दिगमिग्या लाग्दो हो । मलाई भने यसैमा आनन्द छ ।
रहर त सबैको हुन्छ । रहर टिप्न टाकुरामा पुग्नु पर्छ । हिँड्नै पर्छ । दौडनै पर्छ । अनिमात्र टाकुरामा पुग्न सकिन्छ । टाकुरो झन् पहेलीयुक्त हुन्छ । टाकुरामा पुगेपछि फेदीमा खस्न पनि सकिन्छ । जसलाई फेदीसँग डर छ उनले टाकुरासम्म नदौडे हुन्छ । नहिँडे हुन्छ । अनि सधैं दौडन रहर गर्नेहरू एक दिन टाकुरामा पुग्दा हुन् । त्यहाँ पनि उनलाई दौडन रहर लाग्दो हो । टाकुराबाट ती कता दौडदा हुन् ? मेरा मनभरि कौतूहल जागेको छ ।
हिँड्नु यात्रा हो । यात्रा रमाइलो हुन्छ । यात्राले नयाँ अनुभव र अनुभूति दिन्छ। त्यसैले त यात्रा रोचक हुन्छ । दृश्यमा रोचक, भोग्नमा रोचक, खानपान लगायत हरेक क्षेत्रमा रोचक हुन्छ । मानिसहरू त्यो रोचकतामा रङ्ग पनि लाउँछन् । रङ्ग भरिएको रोचकता झनै उत्साहको हुन्छ। अनि त मान्छेहरू कलाकार बन्छन् । कुची लिएर चित्र सजाउँछन् । आफूलाई भन्दा चित्रलाई माया गर्छन् । सिर्जनशीलहरूको चरित्र र प्रवृत्ति नै यस्तै हुन्छ र नै सिर्जना मौलाउँछ । सर्जकहरू सिर्जनासँग कुरा गर्छन् । उनलाई लाग्छ, उनले सिर्जनाको कुरा बुझ्छन् । सिर्जनाले उनको कुरा बुझ्छ। वास्तवमा बुझाबुझ नै त कुरा हो । यसरी सर्जक र सिर्जनाका बीचमा माया र प्रेम मौलाएको हुन्छ ।
यात्रा रमाइलो यसै छँदैछ । यात्रामा दृश्यहरू प्राकृतिक पनि र कृत्रिम पनि हुन्छन् । प्राकृतिक सबल र सजीव हुन्छन् नै । कृत्रिम भने हेर्न र देख्न सक्नु पर्छ । दुवै रमाइला हुन्छन् । दुवैको आ-आफ्नै पन र प्रकृति हुन्छ । दुवैले आफ्नै प्रकारको आकर्षण र स्वाद सिर्जना गरेका हुन्छन् । यात्राका अनगिन्ती स्वाद, सन्तुष्टि र आनन्द नभए किन यात्रा गरिन्थ्यो ? किन मानिसहरू घुमी रहन्थे ? यस युगमा यात्रा सहज बन्दै गएको छ र यात्रा जीवनको अभिन्न अङ्ग बनेको छ । विश्वको कुनै पनि कुना अब मानिसलाई नयाँ र पहुँच बाहिरको रहेन । अनि त यात्रा सहज र जीवनको अभिन्न अङ्ग बन्यो ।
प्रश्न त टक्क अडिएर गर्ने यात्राको पनि हो । त्यो पनि एक प्रकारको रमाइलो हुन्छ । अझ त्यहाँ स्वैरकल्पनाको प्रयोगले यस्तो यात्रालाई हराभरा बनाउन सकिन्छ । अनुभव र अनुभूति जुटाउन सके यस्तो यात्रा अझै रोमाञ्चक बन्छ । यस्तो यात्रामा राहदानी र प्रवेशाज्ञाको औपचारिकता जरुरी पर्दैन । कुनै प्रकारको बन्धन रहँदैन र त यस्तो यात्रा औधी रमाइलो बन्छ ।
यस्तो यात्रामा बन्द महलको भित्री भाग हेर्न सकिन्छ । मान्छेका कर्म हेर्न सकिन्छ । सत्कर्म, दुष्कर्म सबै हेर्न सकिन्छ । रहरलाग्दा र घिन लाग्दा कर्महरू हेर्न र बुझ्न सकिन्छ । मान्छेको मन हेर्न, रहर हेर्न सकिन्छ ।एउटै मान्छेलाई अनेक कोणबाट गन्न सकिन्छ । मान्छेलाई क्लिष्ट र शिष्ट पनि बनाउन सकिन्छ । मान्छेलाई सरल र जटिल जताबाट नाप्न सकिन्छ । त्यसैले यस्ता यात्रा अनुभूत गर्न सके रमाइला हुन्छन् तर फगत अनुभूत गर्न सकिन्छ । अनुभव गर्न भने सकिँदैन ।
त्यसो त यात्राका अनेक उद्देश्य हुन्छन् । दिशा र गन्तव्य अनेक हुन्छन् । आफ्नो उद्देश्य र गन्तव्यका आधारमा प्राप्तिले सन्तुष्टि निर्धारण गर्दछ। सन्तुष्टि पनि भोग र अनुभूतिमा भर पर्दछ । त्यसैले यात्रा जसरी पनि हुन्छ र सन्तुष्टि जसरी पनि प्राप्त हुन्छ, फगत उपभोगको तरिकामा मात्र भर पर्दछ ।
मैले हेरेको छु । दौडनेहरू हेरेको छु । दौडिरहेका पनि हेरेको छु । टाकुरामा चढेका हेरेको छु । टाकुराबाट खसेका पनि देखेको छु । नोक्सानको जोखिम छलेको टक्क उभिनुलाई मैले ठिक पाएको छु । हो म टक्क उभिएको छु । हेर्दै छु ।
यात्रामा मैले घोडाहरूको दौड हेरेको छु । धुलो उडेको देखेको छु । टापको टक-टक आवाज सुनेको छु । धुलो बेहोर्न अभ्यस्त भएको छ । टापलाई त सङ्गीत नै ठानिदिएको छु । हो, घोडाहरू दौडिइरहेछन् ।म हेर्दैछु । टापहरू बजिरहेछन् म सुन्दै छु । यात्रामा घोडाहरू बग्रेल्ती देख्दा टापहरूको सङ्गीत बेजोडको सुनिँदोरहेछ । म हेर्दै छु र सुन्दै छु। यो यात्रा हो । म टक्क उभिएको छु ।