गुटकवि - हास्यव्यङ्ग्य कविता - हिरा भट्ट " बदमास नम्बर दुई"

हिरा भट्ट "बदमास नम्बर दुई" · मंसिर ६, २०८३ २:४५ PM
Cover Image for News

नाङ्गै छिन् कविता न मिल्छ कहिल्यै टालो अलङ्कारको
घोडा चढ्न सुहाउँदैन कविजी चाबी लियौ कारको
बेच्दैछौ किन हो विनागुड-चिनी बेस्वादिला बिस्कुट
बोरा अक्षरका भरेर कविजी डुल्छौ अनेकौं गुट
                           |१|
जा जा जा रुपियाँ कुबेर उपियाँ बाङ्गा बतासे वन
संस्था दिन्छ सदस्यता सँगसँगै सम्मान आजीवन
मर्दैछन् थपडी बढी कुम चढी साक्षी सुरा-कक्षजी
ऐना देख्छ अदक्षजी र गुटले तोक्दैछ अध्यक्षजी
                            |२|
पढ्ने पाठक शून्य छन् सुन बनी आफैँ गर्‍यौ गुन्गुन
विद्यावारिधि टाँसिए जलपझैँ बन्छन् सुगन्धी सुन
गुड्दैछन् प्रतियोगिता-रथहरू पाङ्ग्रा चुँडालेर झन्
आफ्नै मानिस छन् पुरस्कृत हुने आफ्नै पुरस्कार छन्
                             |३|
एक्लै मौन छ शब्दकोश बिचरो बोल्ने गुमाई हक
सारा शब्द डसी कसी हतकडी छन् जेलझैँ पुस्तक
सस्ता छन् सतिसाल साल महँगा बेच्छिन् टुनी टेबल
हात्तीसार पसे विशाल धमिरा हात्ती पसे देवल
                             |४|
लोहोरो-तनमा दुबोसित गुबो थोरै हलेदो घसी
फर्केस् छन्द मसी धरातल पसी बोका बनाई खसी
लम्कोस् मार्ग खुला गरेर गजले कुल्चेर सस्ता पणि
चाख्दै चाख्दिनँ चाह छैन छ भने होस् छन्दमै टिप्पणी
                            |५|
छन्द:शार्दूलविक्रीडित
रचनाकार:

ट्यागहरू:
literature sahitya nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।