हरेक सिर्जनात्मक कुरा आजभन्दा भोली राम्रो हुन्छ - सन्तोष श्रेष्ठ
करिब २ दशकअघि जनजिब्रोमा झुण्डिएका यी गीतहरू- 'तिम्ले पराई ठानेपछि...', 'तिम्रो दिलमा चोट लाग्दा...', 'आउँछु भनी निष्ठुरीले...'देखि केही समयअघिको 'खोजिरहेछ देशले...' तथा 'परे म मर्छु भोकले, म दास बाँच्न सक्दिनँ''हुँदै पहिलो नेपाली मुक्तक एल्बम 'मुक्तक'सम्म आइपुग्दा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको साङ्गीतिक यात्राले अनेक आरोह-अवरोह खेपेको छ।
मूलत: सङ्गीतकारको परिचय बनाएका श्रेष्ठ आफैँमा कथाकार, गजलकार, गीतकार, उपन्यासकार पनि हुन्! बहुआयामिक व्यक्तित्व भएका श्रेष्ठले गायनमा पनि उत्तिकै सक्रियता देखाएका छन्।
लोकसङ्गीतबाट आफ्नो सङ्गीतयात्रा सुरु गरेका सन्तोषले विश्वका ५० भाषाका गीतमा सङ्गीत भरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाइसकेका छन्।श्रेष्ठ 'नेपालीगजल गायन स्वर्ण दशक, वि. सं. २०८०-२०९०' अभियानमा सक्रिय छन्!
गजल गायन अभियानलाई व्यापक बनाउन लागेका श्रेष्ठले ३ वटै प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा 'राष्ट्रियभावका गजलहरूको प्रत्यक्ष गायन' पनि गरिसकेका छन्!
शास्त्रीय गजलमा सङ्गीत भर्ने, विभिन्न गजलकारहरुका शास्त्रीय गजलहरुको एकल गायन गर्ने, मुक्तकमा सङ्गीत भरेर सङ्गीतमय मुक्तकलाई बजारमा ल्याउने जस्ता महत्त्वपूर्ण र ऐतिहासिक कार्य गर्दै आएका सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठसँग हामीले 'नेपाली गजल गायन स्वर्ण दशक, वि. सं. २०८०-२०९०'मा केन्द्रित रहेर कुराकानी गरेका छौँ।-
१) तपाईंहरू अहिले 'नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०' अभियानमा हुनुहुन्छ! अभियान कहाँ पुग्यो ?
- हामी अहिले 'नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०' अभियानमा छौँ । अभियान निरन्तर अगाडि बढिरहने प्रकृया हो । एक दशकको अभियान जुन गतिमा जानु पर्थ्यो वा जान्छ भन्ने हाम्रो कल्पना थियो त्योभन्दा राम्रो गतिमा अगाडि बढिरहेको छ । केही फाट्टफुट्ट देखिने, सुनिने र रेकर्डेट अवस्थामा सुनिने बाहेक प्रत्यक्ष गजल गायन छायामा परिरहेको अवस्थामा थियो । यसलाई गति प्रदान गर्दै परिष्कृत र निरन्तर स्वरूपमा अगाडि बढाउनु सामान्य कुरा होइन । अहिले अभियान घोषणा भएको आरम्भ कालमा जुन उत्साहकासाथ अगाडि बढिरहेकोछ, यो उत्साहजनक छ । अझैँ वेगले अगाडि बढ्नेछ ।
२) नेपाली गजल गायन आज कहाँ छ ?
- नेपाली गजल गायन आजको समयमा गतिशील अवस्थामा छ । गजल लयमा बाँच्छ । गजल गायनमा बाँच्छ । यसको मीठास र सुन्दरता प्रत्यक्ष गायनमै अझ बढी हुन्छ । रेकर्डेड भर्जनमा गजल खुल्न पाउँदैन । सर्वकालीन बनाउनका लागि र आजको डिजिटल गुणस्तरका लागि रेकर्डिङ माध्यमबाट पनि जोगाउनु पर्ने हुन्छ । गजल शब्दमा मात्रै अमूर्त अवस्थामा हुन्छ । सङ्गीत र स्वरमा मूर्त भएर आउँछ । गजल यसैमा रमाउँछ । गजल यसैमा खुसी हुन्छ । नेपाली गजल, श्रोता एकाकार हुने अवस्थामा पुग्दैछ ।
३) उर्दू, हिन्दी गजल गायन परम्परामा सुनेर हुर्किएका नेपालीले अहिलेको नेपाली गजल गायनलाई कसरी लिएका पाउनुहुन्छ ?
- उर्दू, हिन्दी वा अरु कुनै पनि भाषामा गजल विस्तार हुनसक्छ । कुनै पनि भाषाको आफ्नै वर्णविन्यास हुन्छ । त्यही अनुसारको उच्चारण हुन्छ । ध्वनिविज्ञानको पनि अनुसरण गर्नुपर्ने हुन्छ । आफ्नो देश अनुसारको आफ्नै मौलिक सङ्गीत परम्परा पनि विकास भएको हुन्छ । मौलिकताको धेरै ठूलो महत्त्व हुन्छ । सानो मेहनतले मौलिकता निर्माण हुँदैन । भाषिक बुनोटमा साँचो गजलको हुनसक्छ तर नेपालीमा लेखिने गजल नेपाली शैलीबाट लेखिनु पर्छ । नेपाली गजल सङ्गीत पनि नेपाली शैलीबाटै सङ्गीतबद्ध र स्वरबद्ध हुनुपर्छ । आफ्नो देशको आफ्नै परम्परा हुन्छ । आफ्नो भाषाको आफ्नै परम्परा हुन्छ । हामी, हामी जस्तै भएर प्रस्तुत हुनुपर्छ । पछिल्लो समयमा नेपाली श्रोताहरूले नेपाली गजललाई नेपाली शैलीबाटै सुन्न खोजेको भन्ने बुझेको छु ।
४) तपाईं र घनेन्द्र ओझाले यो अभियान घोषणा त गर्नुभयो तर यसमा सबै सङ्गीतकर्मी, सर्जक र संघसंस्था समेटिन सकेका छैनन् नि ! कसरी समेट्नुहुन्छ ? कि २ जनाले अभियान १० वर्ष चल्नसक्छ ?
- नेपाली गजलका लागि गतिशील सङ्गीतकर्मी, सर्जक, सङ्घसंस्थाहरूले 'नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०' अभियानमा असहयोग गरेको, विरोध गरेको वा यसबाट टाढै बस्न खोजेको हामीले सुनेका छैनौँ । अभियान घोषणा भएपछिको पहिलो प्रत्यक्ष गजल गायन कार्यक्रममा झाण्डै दुई दर्जन सङ्घसंस्थाले ऐक्यबद्धता जनाएर अगाडि बढाएका हौँ । आजसम्मको यात्रामा हरेक कार्यक्रममा कुनै न कुनै गजलसँग आबद्ध संस्था जोडिएरै अगाडि बढिरहेको छ । नेपाली गजलको लागि काम गरिरहेको संस्था अनाममण्डलीको आयोजनामा सामूहिक रूपमा गायन सम्पन्न भएको छ । विभिन्न प्रदेशमा प्रत्यक्षा गजल गायन भएका छन् । तीन वटै प्रज्ञाप्रतिष्ठानको सहकार्यमा राष्ट्रिय भावका गजलको प्रत्यक्ष गायन सम्पन्न भएको छ । यसै वर्ष नेपाल प्रज्ञाप्रतिष्ठानले मोतीजयन्तीलाई राष्ट्रिय गजल दिवस घोषणा गरेर गजल गायनलाई पनि जोडेर अगाडि बढिरहेको छ । अब अभियानमा सन्तोष श्रेष्ठ र घनेन्द्र ओझा मात्रै छैनौँ । हामी सबै छौँ । यो दश वर्ष मात्रै पनि होइन नेपाली गजल गायन स्थापित हुने विश्वास गरेका छौँ । केही फाट्टफुट्ट फरक आवाज सामान्य कुरा हो । यो ब्रह्माण्डमा आजसम्म सर्वस्वीकृत कुनै कुरा सुनेको, देखेको छैन ।
५) अब नेपाली गजलको संगीत र गायनको भविष्य कस्तो हुनेछ ?
- म जहिल्यै आशावादी मानिस हुँ । हरेक सिर्जनात्मक कुरा आजभन्दा भोली राम्रो हुन्छ । नेपाली गजल भविष्यमा परिष्कृत परिमार्जित विकसित विस्तारित हुनेछ । अमूर्त शब्दलाई मूर्त रूपमा अगाडि बढाउने सङ्गीत र स्वरसहितको प्रत्यक्ष नेपाली गजल गायनको यात्रा पक्कै पनि निरन्तर गतिशील हुनेछ । गन्तव्यमा पुग्नका लागि यात्रा निरन्तर छ । सबैकुरा प्राकृत स्वरूपमा अगाडि बढ्छ । हामी आत्तिएर मात्रै हुँदैन । विस्तारै पग्लिन थालेको हिउँ पानीमा रूपान्तरण हुन्छ । पानीको मात्रा बढ्दै जाँदा नदीको स्वरूप निर्माण हुन्छ । नदीको उर्जा र वेग निर्माण हुन्छ । वेगले हुत्त्याएर अगाडि बढ्दै जाँदा थुप्रै अवरोधहरू छिचोल्दै नदी महासागरमा पुग्छ वा गन्तव्यमा पुग्छ । नेपाली गजल सङ्गीत र गायनको भविष्य पनि यसैगरी थोपाबाट महासागरमा पुग्छ । आगामी दिनमा वा अबको पुस्ताले नेपाली श्रोतालाई नेपाली गजल गायनले सबैलाई तृप्त बनाउँछ भन्नेमा हामी विश्वस्त छौँ ।
६) नेपाली साहित्य डटकमका लागि दिनुभएको महत्त्वपूर्ण समय र बिचारका लागि धन्यवाद ।
- कुराकानी गर्नका लागि मसम्म आउनु भयो, खुसी लागेको छ । भाषा, साहित्य, कला संस्कृतिको उन्नयनका लागि लागिपरेको नेपाली साहित्य डटकमको निरन्तर उन्नतिको कामना छ ।