महेशराज पन्तको ‘राणा : काल, कर्ता र किताब’ सार्वजनिक

दिलिप घिमिरे · मंसिर ५, २०८३ ९:२७ PM
Cover Image for News

झापा, ४ मङ्सिर। इतिहासकार डा. महेशराज पन्तको नयाँ अनुसन्धानात्मक कृति ‘राणा : काल, कर्ता र किताब’ सार्वजनिक भएको छ।

पुस्तकमा राणाकालीन विभिन्न पात्र, ऐतिहासिक घटना तथा तत्कालीन पुस्तक र दस्तावेजका कम चर्चित र अस्पष्ट पक्षलाई तथ्य र प्रमाणका आधारमा विश्लेषण गरिएको छ।
इतिहास अध्ययन तथा त्रुटि सच्याउने संस्था संशोधन मण्डलका सदस्य एवं त्रैमासिक पत्रिका ‘पूर्णिमा’ का सम्पादक पन्तको २८१ पृष्ठको यस कृतिलाई नेपालको आधुनिक इतिहास अध्ययनका लागि महत्त्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा हेरिएको छ।

कालिकास्थानस्थित पब्लिकेशन नेपालयको आरशालामा शुक्रबार आयोजित कार्यक्रममा इतिहासकार तथा संशोधन मण्डलका सदस्य दिनेशराज पन्तले कृतिमाथि टिप्पणी गर्दै यसको प्रामाणिकताको प्रशंसा गरे। उनले भने, ‘राणा शासनका बारेमा लेखिएको यो किताब प्रामाणिक छ। खोज, अनुसन्धानका लागि लेखकले मिहिनेत र पैसा पनि धेरै खर्च गर्नुभएको छ।’

लेखक डा. पन्तले पुस्तक लेखन तथा अनुसन्धानका क्रममा भोगेका कठिनाइ सुनाउँदै आफ्ना पिता स्वर्गीय नयराज पन्तको ऐतिहासिक योगदान स्मरण गरे। वि.सं. १९९७ मा नयराज पन्तले सुरु गरेको पाठशाला र संशोधन मण्डलको अनुसन्धान परम्परालाई निरन्तरता दिँदै आएका उनले इतिहास अनुसन्धानका लागि अपेक्षित संस्थागत तथा आर्थिक सहयोग नपाएको गुनासोसमेत गरे।

पुस्तक विमोचनको शैली पनि फरक थियो। प्रकाशक संस्थाका सम्पादक विमल आचार्यले लेखकको इच्छाअनुसार औपचारिक विमोचनअघि पुस्तकका दुई प्रति उपहार दिन लगाएका थिए। लेखक पन्तले समाज अध्येता तथा अनुसन्धानकर्ता प्रत्युष वन्त र इतिहासकार दिनेशराज पन्तलाई पुस्तक उपहार दिएपछि कृति सार्वजनिक गरिएको थियो।
पब्लिकेशन नेपालयद्वारा प्रकाशित पुस्तकको मूल्य ६७५ रुपैयाँ रहेको छ।

ट्यागहरू:
इतिहास #भाषा#साहित्य# कला र लोक संस्कृति#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।