हिराजस्ता हिराका कविता
कृति समीक्षा
हिराजस्ता हिराका कविता
✍️ डा. देवी क्षेत्री दुलाल
हिरा खड्का अधिकारी नेपाली साहित्यको कविता, मुक्तक,हाइकु र गजल विधामा २०६० को दशकबाट कलम चलाउँदै अघि बढेको नाम हो। मोरङमा जन्मिएर मोरङलाई नै स्थायी कार्यक्षेत्र बनाएर नेपाली साहित्य साधनामा क्रियाशील हिराका यसभन्दा पहिले हाइकु र गजल सहलेखनमा प्रकाशित छन् । पैंतालिसवटा कविता सङ्ग्रहीत 'बन्द खाम' कविको पहिलो प्रकाशित कविताकृति हो ।
कवि हिरा खड्काका कविताहरू चिटिक्क परेका, सरल शब्द चयन र मझौला गद्य संरचनामा बुनिएका छन् । उनका सिर्जनामा अन्य कविको शिल्प र शैलीको प्रभाव रहे तापनि पृथक् ध्येय र
मौलिक निजत्व पाइन्छ। कविका कवितामा वर्तमान नेपाली समाजका विकृति, संस्कृति, राजनीति, विज्ञानका साथै मानवीय संवेदना र युगीन परिवेशको यथार्थ चित्रण गरिएको छ । नेपाली
समाजमा विद्यमान अन्याय, अत्याचार, व्यभिचार, शोषण दमन उत्पीडनलाई समूल नष्ट गर्ने र समतामूलक नेपाली समाजको निमाण गर्ने नै उहाँको लेखकीय मूल ध्येय रहेको देखिन्छ। लोकतान्त्रिक गणतन्त्रमा व्याप्त विविध क्षेत्रका असमानता हटाउनुपर्ने आवश्यकता कविले औँल्याएकी छन् । यस सङ्ग्रहका पैंतालिसवटै उद्देश्यपरक कवितामा सुख-खुसी, मानवीय प्रेमका आरोह-अवरोह र घात-प्रतिघातलाई उचित विम्ब, प्रतीक र बोधगम्य भाषामा स्वादिलो गरी प्रस्तुत गरिएको पाइन्छ ।
यस सङ्ग्रहको शीर्ष कविता 'बन्द खाम' प्रेमवियोगमा तड्पिएकी प्रेमिकाको अनुभूति झल्काउने एक मार्मिक र सुन्दर वियोग गीत हो । कवितामा व्यक्त भावनाको गहिराइले पाठकको मस्तिष्क झङ्कृत पार्ने क्षमता बोकेको देखिन्छ । शब्दको बहुआयामिक अर्थसामर्थ्य बोकेको यो कविता प्रेमवियोगको यथार्थ चित्रण गर्न पूर्ण रूपमा सफल भएको छ । यस सङ्ग्रहका 'यसरी नै बाँचिदिन्छु, 'बौलाही' लगायतका कविताहरू प्रेम, विछोड, मिलन र मानवीय संवेदनाका बहुआयामिक पक्षमा आधारित छन्। यी सिर्जनामा मानवको प्रेमिल मनोदशाको मनोवैज्ञानिक विश्लेषण गरिएको छ ।
कविताभित्रै समस्या, कारण र प्रश्नसँगै तिनको समाधान समेत प्रस्तुत गर्नु कवि हिरा खड्काको विशिष्ट सौन्दर्यकला र पृथक काव्यिक बान्की हो। यस सङ्ग्रहका 'बौलाही' र 'नील शिरीष' कवितामा क्रमशःप्रेमवियोग तथा शाश्वत् प्रेमको सुन्दर चित्रण गरिएको छ । समाजले नारीमाथि गर्ने शोषण र पुरुषार्थले भिराइदिने 'बौलाही' को विरुद्धमा कवितामा समाधान, आँट र मानवतावादी चेत प्रस्तुत भएको देखिन्छ । यी कविताले विक्षिप्त नारी मनोदशाको उजागर गर्दै प्रेमलाई हिमालजस्तै मौन र सागरजस्तै अगाध रूपमा प्रस्तुत गरेको पाइन्छ ।
नदी र नारी,आमा, नारी,आमा र ताराहरू,सहिदकी पत्नी र मातृवात्सल्य शीर्षकका कवितामा स्रष्टाले स्त्री लिङ्गीय महत्त्व, यसका विभेद र समाजको हेर्ने दृष्टिप्रति सूक्ष्म विश्लेषण गरेकी छन्। एउटी छोरीले नारी भएर मात्र नपुग्ने, कसैको श्रीमती हुनुपर्ने, आमा बनेर सृष्टिलाई निरन्तरता दिनुपर्ने गहन र महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पार्दै कविले नारी संवेदनासँग सम्बन्धित जीवन्त अनुभूतिलाई उजागर गरेकी छन्। नारीमा विकसित भएको प्रतिरोधी स्वरलाई कविले आमा र ताराहरू शीर्षक कवितामा यसरी प्रस्तुत गरेकी छन् :
कुनै दिन
चुलाचौकामै सीमित मेरी आमा
आज निर्णायक बनेकी छिन्
विभेद र हिंसालाई प्रतिकार गर्दै
मुस्कुराएकी छिन् ।
कविले यहाँ सरल शब्दमा सदियौंदेखि चुलाचौकाको चौघेराबाट निस्किएर समानताका समरमा आजका आमाहरू निस्किएको सन्दर्भबाट पितृसत्तात्मक समाजका उत्पीडनका विरुद्ध विद्रोह
गर्नुपर्ने विचार व्यक्त गरेकी छन् । यसरी नै नदी र नारी शीर्षकको कवितामा पनि नारीको चेतना र गतिका विषयमा सृजित अनुभूतिका माध्यमबाट विद्रोही स्वरलाई प्रकट गरिएको पाइन्छ ।
सहिदको पत्नी शीर्षकको कवितामा सहादत भएका मान्छेलाई सम्झिएर विधवा नारी वा सहिदको पत्नीको मनोदशालाई चित्रण गरिएको छ। सहिदको सपना साकार पार्न सकेजति आफू प्रतिबद्ध भए पनि देशले काँचुली त्यति राम्रोसँग फेर्न सकेको छैन भन्ने सन्देश यहाँ व्यक्त भएको पाइन्छ ।बाँचेकी सहिदपत्नीले जिउँदो सहिद हुनुको पीडालाई कवितामा यसरी प्रस्तुत गरिएको छः
वर्षौं भयो सन्तानको
मुहारमा
त्यो माया पढेर बाँचेकी छु
तिमी मरेर सहिद भयौ
म जिउँदो सहिद भएकी छु
तिमीले रोपेका विरुवा
ठुला रुख भएका छन्
तिनैका हाँगा छास्न लगाएर
लौरो टेकेकी छु ।
कतिपय कविता कविले भावनाको चरमोत्कर्षमा पुगेर लेखेकी छन्। ती कविता पढ्दा जो कसैका आँखा नरसाइरहन सक्दैनन्। सुसाइड नोट, मृत्युः एक निसङ्कोच लुटेरा र बुबाको अन्तिम क्षण कविता यस कोटिका छन्। बुबाको अन्तिम क्षण यथार्थपरक स्रष्टाको भोगाइजन्य अनुभूति हो भने सुसाइड नोट र मृत्युः एक निसङ्कोच लुटेरा कल्पनापरक कविता हुन् । दाइजो प्रथाको सिकार बनेकी तथा जँड्याहा लोग्नेको प्रताडनामा परेकी पीडित नारीको उत्पीडनलाई 'सुसाइड नोट' कवितामा कविले यसरी प्रस्तुत गरेकी छन् -
भौतिकताले हार्दिकता किन्न सकिन्न बाबा
त्यसैले बिन्ती छ
मेरी सानी बैनीलाई
दाइजो होइन शिक्षा देऊ है
कहिल्यै नसकिने धन देऊ है
धेरै पढाएर यो समाजसँग लड्ने बनाऊ ।
यस अतिरिक्त केही कवितामा स्रष्टाले वतर्मान सूचनाप्रविधिको विकास र यसले समाजमा पारेका सकारात्मक, नकारात्मक प्रभाव र प्रवृत्तिमाथि चिन्ता र चिन्तन गरेकी छन्। यसको प्रयोगबारे पुराना र नयाँ पुस्ताबिच हुने अन्तरमाथि समीक्षा गरेकी छन्। स्रष्टा स्वयम् शिक्षक भएकीले शिक्षकको काम, महत्त्व र परिभाषा दिँदै कर्तव्यबारे विचार अघि सारेकी छन्। यस्ता वैचारिक कवितामा पनि सभ्य र शिष्ट भाषाको प्रयोग गर्न कवि निपूर्ण देखिन्छिन् । नाराजन्य शब्दहरूको प्रयोग नगरी कलात्मक प्रस्तुति गर्ने वैशिष्ट्य कविमा देखिन्छ । यस कोटिका कविताको सृजनाले कवि हिरा खड्का अधिकारीलाई कविता सृजनाको उच्चस्तरमा उभ्याउँदै लगेको प्रमाणित हुन्छ ।
मेरो देश, सहिद, झुपडी, युवा तिमी ब्युँझनुपर्छ, किताब शीर्षकका कवितामा कविको राष्ट्रवादी स्वर मुखरित भएको छ।यी कवितामा कवि देशको मायाले ओतप्रोत भएकी छन्। कविले यी कवितामा सहिदको सम्मान र ममतालाई व्यक्त गरेकी छन्।
झुपडीका नागरिकमा झल्काइएको वर्गीय प्रेम आफैँमा विशिष्ट किसिमको रहेको छ।यी यावत् अन्याय र असमानताको अन्त्यका लागि आजका नौजवान युवाहरूलाई एक ढिक्का भएर जरुक्कै
उठ्न, अघि बढ्न र देशको नेतृत्व लिन समेत कविले अपिल गरेकी छन् । उनमा अन्तरनिहित राष्ट्रवादी चेतनाको सहज अभिव्यक्तिको नमुनाका रूपमा देश शीर्षकको कविताबाट निम्न कवितांशलाई उद्धृत गर्न सकिन्छः
मैले दशैँ, तिहार र छठमा रमाउँन
माघी, ल्होसार र गौरा मनाउन
अर्को मन सापटी माग्नु पर्दैन
कतै हृदय दुख्ला कि भन्ने कुनै डर छैन
मैले मन पोख्ने
अनि शिर राख्ने
आमाको न्यानो काख छ
मसँग स्वर्गजस्तै मेरो देश छ ।
यस कवितांशमा देश, आमा, माटो र संस्कृतिको सुन्दर तथा सरल परिभाषा छ। यस किसिमको शाब्दिक आडम्बर र क्लिष्टतारहित, हृदयबाट स्वतःस्फूर्त बगेको निश्चल शैलीले गर्दा नै उनका कविता शक्तिशाली र जीवन्त देखिन्छन् ।
निचोडमा 'बन्द खाम' कविताकृतिका आधारमा कवि हिरा खड्का अधिकारी प्रगतिशील चेतना र लेखकीय वयस्कताले भरिएकी सशक्त कविका रूपमा उदाएकी छन् । भुइँमान्छेका पक्षमा आवाज उठाउँदै समतामूलक समाज निर्माणको ध्येय बोकेका उनका कवितामा प्रगतिवाद, विसङ्गत यथार्थवाद, मर्यादित प्रेम र सघन मानवतावादी स्वर पाइन्छ । केही परिष्कारका पक्षहरू रहे तापनि प्रौढ र पठनीय काव्यिक शिल्पका कारण यो सङ्ग्रह नेपाली काव्यजगत्कै एक सुन्दर साझा सम्पत्ति बन्न सफल देखिन्छ।
अन्तमा कवि हिरा खड्का अधिकारीलाई काव्यिक उन्नयन र थप प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
©