तिहार र द्यौसी-भैलोको सामाजिक महत्व - संस्मरात्मक लेख

Admin · कार्तिक २३, २०८३ ९:३८ AM
Cover Image for News

तिहार रमाइलो गर्ने पर्वमात्रै होइन यसका शास्त्रीय र वैज्ञानिक महत्व रहेका छन् । यमपञ्चकका पाँच दिनका फरक-फरक महत्व र अर्रथ हेका छन् । कागतिहार, कुकुर तिहार, गाईतिहार/लक्ष्मी पूजा, गोवर्द्धन पूजा र भाइटीका सबैका महत्वपूर्ण अर्थ रहेका छन् । यस्तो अर्थपूर्ण चाड तिहारका बाँकी पक्षलाई छोडेर मेरो जीवनमा अर्थपूर्ण लागेको देउसी-भैलोसँगको आफ्नो अनुभूति खोतल्ने प्रयासमा छु ।

       एउटा सिँङ्गो समाजलाई एउटा परिवारको जस्तो आत्मियता दिएर बाँच्न सिकाउने, परिवारको जस्तो जिम्मेबारी र कर्तव्य समाजको पनि लिनुपर्छ भन्ने कुरा सिकाउने पर्व हो तिहार । मैले जानेदेखि आजसम्मका तिहारका देउसी भैलोका विषयमा थोरै चर्चा गर्छु । मैले मनाएका तिहार र खेलेका देउसीभैलो जस्तै तिहार र देउसी-भैलो तपाइँको पनि हुन सक्छ ।

टुकी/पुल्ठो बालेर खेलिने भैली

म साह्रै सानी थिएँ । थोरै थोरै मात्रै सम्झना छ मलाई । मेरा घरका र गाउँका दिदीहरु सुन्ठीको राँको र पुल्ठो बालेर भैली खेल्न जानुहुन्थ्यो । त्यसबेला केटीहरुले/दिदीहरुले देउसी खेल्नुहुन्थ्यो । सायद देउसी छोरामान्छेले मात्र खेल्ने कुरा हो भन्ने थियो । मलाई दिदीहरुले देउसी खेलेको थाहा छैन । गाउँमा आलिको बाटोबाट पुल्ठो, राँको बालेर मान्छेका आँगन-आँगनमा पुगेपछि पुल्ठो निभाएर बत्ती/टुकी बाल्नु हुन्थ्यो । यसो गर्नुको कारण चै पुल्ठो/राँकोको जोहो गर्नु थियो । पुल्ठोको लागि धेरै मट्टितेल चाहिन्थ्यो । एक पुल्ठो मट्टितेल भरेर हिँडेपछि फर्किएर घर आइपुगुन्जेल त्यसैले पुर्याउनु पर्थ्यो । टुकी लिएर बाटोमा हिँड्दा हावाले निभाउने र सबैलाई उज्यालो पनि पुग्दैनथ्यो । सुन्ठीको राँको त बालिरह्यो भने एकैछिनमा बलेर सकिन्थ्यो त्यसैले निभाउनु अनिवार्य हुन्थ्यो । त्यसैले उज्यालोको ठुलो स्रोत राँको र पुल्ठो निभाएर टुकी बाल्ने गर्नुहुन्थ्यो दिदीहरुले । कहीँ-कहीँ त्यस घरकै टुकी पनि दिन्थे । त्यही टुकीको उज्यालोमा आँगनको एउटा कुनामा झुरुप्प बसेर भैलिनी गाउनुहुन्थ्यो । 

भैलीनी आयौँ आगन बढारी कुँडारी राखन 

हे औँसीबारो गाइतिहारो भैलो

हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको

हे औँसिबारो गाइतिहारो भैलो 

       भैलिनी आजपनि त्यही छ । भैली र देउसी खेलेर दिइने आशिष पनि उस्तै छ । 

यसै घरका परेवा पंक्षी उँड्दाखेरि सुर्य छलुन्, बस्ताखेरि पृथ्वी ढाकुन, राम जस्ता छोरा हुन्, सीता जस्ती छोरी हुन् । सन्तानहरु दुवो जस्तो मौलाइरहुन्, घरमा मातापिता वरपिपल जस्तो तपिरहून् । यसरी दिइने आशिष भन्दा राम्रा नयाँ बनाइएका आशिष हुन सक्तैनन् भन्ने लाग्छ । परिवारका सम्पूर्ण सुख र सम्बृद्धिलाई समेटिएका छन् ति आशिषमा । नयाँ देउसी भैलो पुराना भन्दा राम्रा होलान् तर नयाँ आशिष पुराना भन्दा राम्रा हुन सक्तैनन् । 

       यसरी आजपनि भैलिनीका लय र शब्द फेरिएनन् तर खेल्ने शैली फेरिए । लक्ष्मीपूजा गरेको रात भैली मात्रै खेल्ने परम्परा चिर्दै अहिले लंष्मी पूजा गरिसक्न नपाउँदै देउसी र नाच सुरु हुन्छ । 

       भैलिनी गाएर सिदा पाएपछि आशिष दिएर विदा हुने गर्नुहुन्थ्यो । भैलिनी एउटै हुन्थ्यो । आशिष पनि एउटै । सबैघरमा उही प्रक्रियाले भैलिनी भन्नुहुन्थ्यो । सबैघरमा उस्तै भैलिनी गाएपनि सबैघरबाट पाउने खुसी भने फरक फरक हुन्थ्यो । कुनैघरबाट पैसा, चामल अलि धेरै दिन्थे र खुसी पनि धेरै हुन्थ्यो कहीँ-कहीँ उठ्दै उठ्दैनथे घरका मान्छे, अलि ठुलोस्वरमा कराएर भैलीनी गाउनुहुन्थ्यो त्यति गर्दापनि उठ्तैनथे र रिसाउँदै घर फर्किनुहुन्थ्यो । रिसाएको कुरा झन् कहिले नविर्सिने हुँदो रहेछ । विशेष हुनेरहेछ । त्यसबेला नउठेर रिस उठाउने घर परिवार आज पनि टडकारो गरी मनमा बसेका छन् । त्यसबेला रिस उठेपनि त्यो परिवारका दुःख पिर र खुसीहरुमा हाम्रो मन पनि एकाकार हुने गरेको छ । बेलुकाको लक्ष्मीपूजा सकेर भैलिनी खेल्न हिँडेका, खेल्दै मध्यरातमा पुगेका ठाउँमा, निद्रामा मस्त भएका ठाउँमा नउठ्नु स्वभाविक थियो भन्ने कुरा अहिले थाहा हुन्छ । यसरी घर-घर पुगेर देउसी भैली खेलेका गाउँका हरेक घरसँग गाढा र गहिरो आत्मियता हुनेरहेछ । त्यसरी भैली खेलेर उठेको पैसा र चामल बेचेर आएको पैसा बाँडफाड हुन्थ्यो । यही पैसाले दाजुभाइलाई तिहारमा दिने रुमाल स्यान्डो किनिन्थ्यो । सायद मेरो जीवनको आफैँ सहभागी भएको पहिलो भैलीको अनुभव थियो त्यो । 

आफ्नै दामले साथिहरुसँगको देउसी/भैलो

दिदीहरुसँग भैली बेलुका खेलिन्थ्यो । उहाँहरु भोलि दिउँसोको देउसी खेल्नुहुन्नथ्यो । म आफैँ सहभागी भएर भैली खेलेको दोस्रो-तेस्रो वर्षतिरका तिहारमा हामी हाम्रै उमेरका दामले केटी साथिहरु मिलेर भैली खेल्न थाल्यौँ । पवित्रा दिदीले नयाँ पाराको भैली लेखिदिनु भएको थियो । 

भैलीखेल्न आएका हामी

हजुरहरुको यो सुन्दर दलानमा

भन्ने अलि चुट्के तालको, नाच्न मिल्ने खालको भैलिनी लिएर गाउँमा जाँदा नयाँ भैलिनी सुनेर खुसी हुन्थे । हामी पनि अरुको भन्दा फरक खालको भैलिनी भन्न पाएर खुसी थियौँ । यसरी लक्ष्मीपूजाको दिन बेलुका भैलिनी अनि भोलिपल्ट देखि देउसी खेलेर तिहारमा अलिकति पैसा जम्मा गर्थ्यौँ र कहिले आफ्नै तिहार खर्चमा सक्थ्यौँ कहिले मंसिरसम्म राखेर मंसिरमा वनभोज खान जान्थ्यौँ । यो समयको देउसी भैलोमा हामी एउटै उमेरका साथिहरु मात्रै हुन्थ्यौँ । 

समाजसँगको देउसी भैलो

यो खालको देउसीमा देउसी-भैलो मात्रै हुँदैनथ्यो । यो नाचगान सहितको देउसीभैलो हुन्थ्यो । यो देउसी भैलो सामाजिक विकासको उद्देश्य सहित खेलिन्थ्यो । यसबाट उठेको पैसाले समाजका लागि भाँडाकुँडा जोड्ने, साउन्ड सिस्टम जोड्ने, कुर्सीहरु, त्रिपाल आदि सामान जोड्ने भनेर खेलिन्थ्यो र जोडिन्थ्यो पनि । त्यो समयमा गाउँमा विभिन्न समुहले नाचेर जोडेका सामाजिक भाँडाहरु सायद अझै छन् होला समाजमा । विवाह व्रतवन्धहरुका सामाजिक कामहरुमा चाहिने अलि ठुलाखालका भाँडाको अभाव हुने त्यो समयमा यस्ता कार्यले धेरै ठूलो राहत पुगेको महसुस गर्छु म । तर यसका लागि अलि धेरै/लामो समय लाग्थ्यो तयारी हुन । अझैपनि गाउँमा बत्ती आइपुगेको थिएन । घरदेखि राँको/पुल्ठो र टर्चलाइट बालेर दशैँ सकिनेबित्तिकैदेखि रियल्सोमा जानुपर्ने । राति हिँड्ने काम घरका अभिभावकलाई सुरक्षित नलागेर सधैँ अवरोध हुन्थ्यो । त्यसबेला नाच्न जान नदिँदा रिस उठ्थ्यो तर त्यो अभिभावकको लागि कति ठुलो चिन्ताको विषय रहेछ भन्नेकुरा आजभोलि थाहा हुन्छ । तर हामी परिवारबाटै नाच्न जाने धेरै हुन्थ्यौँ । हामीले हिँडाएको नाच थियो भन्न सकिन्छ । तल्लाघर माथ्ला घर पनि घर जत्तिकै विश्वसनीय हुन्थ्यो । हामी गाउँका सबै मिलेर दशैँ सकिए लगत्तै रियल्सो गर्थ्यौँ र तिहारमा नाच हिँडाउँदैनथ्यौँ । हामीलाई सिकाउने कुनै कोच थिएनन् । हामी मध्यैकै अलि नाच्न जान्नेले स्टेपहरु सिकाउँथ्यौँ । टिभिमा देखेका गीतका स्टेपहरु याद गरेर त्यस्तै गर्थ्यौँ । कुनै एकल नृत्य, कुनै दुइजना केटा र केटीको र कुनै सामुहिक नृत्य हुन्थ्यो । म त्यसबेलाकी नाच्नेहरुमा उत्कृष्टमा पर्थेँ । मेरा एकल, डुएट र सामुहिक पनि नाच हुन्थे । सबै गीतमा नाच्नु पर्ने भएकाले तिहार भरि नाचेकी नाच्यै हुन्थेँ म । प्राय नाच्न जान्नेहरुले धानेको हुन्थ्यो यस्ता देउसी सहितको नाच । लक्ष्मीपूजा गरिसकेपछि सुरु भएको नाच तिहारभरि चलिरहन्थ्यो । लाइन थिएन । पेट्रोलम्याक्स बालेर हिँड्नु पर्ने । पुल्ठो बालेर काम चलाएका अनुभव हुने हाम्रो लागि पेट्रोलम्याक्सले पनि बिजुलीले जत्तिकै उज्यालो दिए झैँ लाग्थ्यो । यसरी दशैँदेखि तिहारसम्म नजिक भएर सँगसँगै हिँड्दा बनेको आत्मियता त झन् गाढा र गहिरो हुनेरहेछ । त्यो देउसीमा पचास, साठी र त्यो भन्दा माथिका परिवार सहभागी हुन्थे । ती सबैका घरको भित्री कुरा समेत थाहा हुन्थ्यो त्यसबेला । दुःखहरु, खुसीहरु समस्या, अफ्ठ्यारा र सहजताहरु सबै थाहा हुन्थ्यो । उनिहरुका दुःखहरुमा खुसी खोजिदिने जिम्मेबारी र कर्तव्यको बोध र खुसीहरुमा पनि साथमा रमाउने अधिकार आफैँ पलाउँदो रहेछ यति आत्मियता बढेपछ । यसरी सामाजिक बन्न र एकअर्काको सुखदुखमा साथ दिनुपर्छ भन्ने भाव यस्ता सामुहिक देउसी भैलोले सिकाउनेरहेछन् । 

       नाच हिँडीसकेपछि त्यहाँबाट उठेको पैसा र चामल बेचेर आएको पैसाले उद्देश्य अनुरुपका सामान किन्ने काम हुन्थ्यो । त्यसैबाट हामी नाच्नेहरुलाई प्रोत्साहन गर्नका लागि उपहार दिइन्थ्यो । उपहारमा स्टिलका थाल, प्लेट, बटुकाहरु हुन्थे । त्यसबेला पाएका स्टिलका उपहार अझै होलान घरमा । 

       देउसीकै पैसाबाट मंसिरमा पिकनिक पनि गइन्थ्यो । तिहारभरि नाचगान गरेर रमाइलो गरेर छुट्टिएकाहरुलाई फेरि एकैठाउँमा ल्याएर गरिने पिकनिक कार्यक्रमले कम्ता खुसी दिँदैनथ्यो । यो खालको नाचगान सहितको देउसी भैलो कार्यक्रमले समाजलाई बुझ्न, सामाजिक बन्न धेरै महत्वपूर्ण काम गर्दोरहेछ । 

              मैले देखेको अर्को नाच शिविरको नाच हो । शरणार्थी शिविरमा बस्न थालेका केही वर्षपछिदेखि शरणार्थी शिविरका विभिन्न समुहहरुले तिहारमा नाच हिँडाउँथे । उनिहरुका नाच हाम्रा भन्दा स्तरिय हुन्थे । नृत्य सिकेर, नृत्यका राम्रो ज्ञान भएकाहरु हुन्थे । शिविर भित्र र वाहिर हाम्रा गाउँघरतिर पनि लिएर आउँथे नाच । हामी गाउँका हाम्रा उमेरकाहरुलाई खूब मनपर्थ्यो उनिहरुका नाच । 

यि माथिका देउसि भैलोका प्रकार भन्दा फरक खालका देउसीको पनि अनुभव छ । कुनै कुनै तिहारमा सानाको जस्तो केटीहरु भेला भएर देउसी पनि खेलिँदैनथ्यो, कुनै समाजबाट नाचमा पनि हिँडिँदैनथ्यो । यसरी खालि भएको समयमा गाउँका दाजुभाइ दिदी वहिनी भाउजुहरुसँग यसै योजना बिनै देउसी खेल्न थालेर पनि रातभर हिँडिन्थ्यो । कुनै योजना र तयारी बिनाको देउसी भैलो खेलिन्थ्यो । यस्तो देउसीको मजा छुट्टै हुन्थ्यो । 

       विवाहपछि भने विवाह अघिको जस्तो देउसी खेलिएन । तिहारमा चन्द्रगढीको बसाइ र व्यवसायमा लक्ष्मीपूजा गरेर राति सात आठ बजे घर पुग्यो । घरमा पनि लक्ष्मी पूजा गर्दा, काम धन्दा गर्दा समय पनि मिलेन । तैपनि कहिलेकाहीँ घर र गाउँका हामी सासूबुहारी, नन्द भाउजूहरु मिलेर दुइचार घर देउसी खेलेर पनि रमाइलो गरियो । यसले मलाई गाउँमा आफूलाई चिनाउन र अरुलाई चिन्नका लागि एउटा अवसर बन्यो । 

       त्यसका अलावा साहित्य चौतारीका सडक देउसीमा, पुस्तकालयको लेखनाथ चोकमा चाड मनाउने उद्देश्यले आयोजना गरिएको देउसी भैलोमा, डाइनामिक ग्रुपको कोषबृद्धिका लागि खेलिएका देउसी भैलोमा र प्रान्जल साधना केन्द्रको सामाजिक सन्जालमूखि देउसीभैलो कार्यक्रममा समेत सहभागी भएर र आफैले सन्चालन गरेर विभिन्न समयमा विभिन्न खालका देउसी भैलो कार्यक्रम सम्पन्न गर्दै आइएको छ । 

       यसरी सामाजिक भावनाको विकास गराउन, समाजिक उत्तरदायित्व बोध गर्न र समाजसँग रमाएर बाँच्नका लागि तिहारका देउसी भैलो कार्यक्रमले धेरै महत्पूर्ण काम गरेको अनुभव छ मसँग । 

ट्यागहरू:
literature sahitya svikarokti
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
इन्द्रेनी राष्ट्रिय कविता समारोह र म
इन्द्रेनी राष्ट्रिय कविता समारोह र म
लेखक-जीविका अश्रु पोष्ट-दिलिप घिमिरे - सोमबार २२ डिसेम्बर २०२५
मोही पारेको ज्याला नौनी घिउ
मोही पारेको ज्याला नौनी घिउ
खगिन्द्रा खुसी - मङ्गलबार २९ अक्टोबर २०२४
शुभस्मृति-सुखस्मृति !
शुभस्मृति-सुखस्मृति !
खोलाघरे साहिँलो पोष्ट खगिन्द्रा खुसी - सोमबार १४ अक्टोबर २०२४