‘शिशिरको जून’ मुक्तक सङ्ग्रह पढिसकेपछि - चित्रा पौड्याल
चर्चित विधा मुक्तक समकालीन नेपाली साहित्याकाशमा महत्त्वपूर्ण स्थान राख्न सफल छ । मुक्तक भनेको प्रत्येक काव्यिक एकाइ स्वतन्त्र वा अरूबाट मुक्त रहेको अर्थ हो । समकालीन नेपाली साहित्यको मानकअनुसार मुक्तक चार हरफमा लेखिन्छ । प्रायःजसो मुक्तकहरू विविध लम्बाइमा, सवाई, दोहा वा गीतिलयमा रचना गरिएका पाइन्छन् । तथापि एक मुक्तकमा भएका हरफहरूका बिचमा लम्बाइ, अक्षर सङ्ख्या र लयात्मकतामा तादात्म्य हुनु जरुरी छ । संक्षेपमा भन्दा मुक्तकको पहिलो हरफ विषयवस्तुको स्थापना हो, दोस्रो हरफ त्यसको उठान हो, तेस्रो हरफ विशेष वजन दिने झट्का हो र चौथो चाहिँ अन्तिम समापन हो ।
एउटा मुक्तक आफैँमा पूर्ण हुने भएकाले बराबरी अक्षर वा एकै लय भएका जम्मा चार पङ्क्तिमा एउटा विषयवस्तुलाई कवितात्मक प्रस्तुति दिन सक्नेले मात्र मुक्तक लेख्न सक्छन् ।
मुक्तककार लता खरेलले ‘शिशिरको जून’ सङ्ग्रहमा समेटेका मुक्तकहरूमा माया, प्रेम वा शृङ्गारिक भाव, नारी अस्मिताका आवाजहरू, राजनैतिक शालीन विद्रोह र राजनैतिक व्यङ्ग्य जस्ता विषयहरू समेटिएका भए तापनि सबैभन्दा बढी प्रेम वा शृङ्गारिक भाव नै छन् ।
एउटा पेजमा दुईवटा मुक्तक गरी जम्मा १८२ वटा मुक्तकहरू यस सङ्ग्रहमा छन् । अक्षर सङ्ख्याको दृष्टिले १२ अक्षरदेखि बढीमा ३० अक्षरसम्मका मुक्तकहरू छन् । फुल र रङ्गको गाढा सम्बन्धबाट सुरु भएको विषय अन्तिममा जिन्दगीका अनेक रङहरूमा पुगेर बाल्यकालको झल्कोमा मुखरित जीवनको खोजी गर्ने मुक्तककारका सिर्जनाहरू ‘शिशिरको जून’ भित्र समाहित छन् ।
(क) विषयवस्तुको दृष्टिले ‘शिशिरको जून’ मा माया-प्रेमका अनेक भावहरू पाइन्छन् :-१. सौम्य प्रेमको बयान / प्रेममा ढुक्क हुनु २. शालीन प्रेमको आग्रह ३. प्रेम र विछोडका पीडाहरू ४. शङ्का (प्रेमको छद्म रूप), धोका ५. संवेदनामाथि कुठाराघात ६. प्रेमको समर्पण भाव ७. प्रेमका मिठा पर्खाइहरू / अघाउँजी प्रेम गर्ने रहरहरू ८. प्रेममा सावधानी र सतर्कता ९. प्रेमको एकतर्फी आग्रह १०. सम्बन्ध बचाउने प्रयासहरू ११. प्रेमीको सम्झना / स्वप्निल यादहरू उदाहरण :
मायाको संसारमा, न त हार हुन्छ न त जित
गाओस् कोइलीले शिशिरमा पनि प्रेमकै गीत
प्रिय ! तिमी कालजयी, वसन्त भएर आउनू
ईर्ष्यामा जून रोओस्, आरिसबाट झरोस् शीत ।
हिउँ होइन मेरो प्रेम, तिमी टाढिँदैमा पग्लिएर जाने
विश्वासको घरहरू हो, श्वासप्रश्वाससँगै अग्लिएर जाने
कहाँ टुक्रिन सक्छु म अनेक चोइटा भएर, शिशा भएर
म त अखण्ड अनन्त आकाश हुँ, हरसमय सजिएर जाने ।
(ख) राष्ट्रप्रेमसम्बन्धी कमै मुक्तक छन् तर त्यसमा स्वाभिमान, नैतिकता र राष्ट्रियताको उच्च भावनाहरू छन् ।
(ग) सामाजिक विकृतिका केही विषयहरू स्पर्श गरेकी छन् तर जति स्थान पाउनुपर्ने हो त्यति पाएका छैनन् ।
(घ) राजनैतिक विसङ्गति र विद्रोहका लागि सकारात्मक आग्रह गरिएको छ । नेताहरूको चरित्र र व्यवहार पदीय मर्यादाविपरीत भएकोमा तीव्र गुनासो छ । देशमा समृद्धि ल्याउनेतर्फ ध्यान दिए हुन्थ्यो भन्ने आशय छ ।
(ङ) नारी सशक्तीकरणका आवाजहरू अन्तर्गत नारीका विभिन्न रूपहरूका समाजमा धेरै समस्याहरू छन् तर यस कृतिमा विविधता पाउन सकिएको छैन । थोरै भए पनि बुलन्द आवाज बोकेको मुक्तक छ । इतिहास बदल्न सक्ने क्षमता नारीले राख्छन्, आँसु बगाएर मात्र होइन विद्रोह गर्नुपर्छ भन्ने जागरणका आवाजहरू छन् ।
(च) बा र आमासम्बन्धी दुई-दुईवटा मुक्तकले अग्रजहरूको सम्मान र हेरचाह गर्नुपर्छ भन्ने गहन सन्देशले मुक्तककारको संवेदना परिपक्व भएको देखिन्छ ।
निष्कर्षमा, शब्दहरूको अथाह सागरमा सुख-दुःखका सबै भावहरू समेटिएको, चिसो ठिहीमात्र होइन सन्तृष्टिको न्यानोपन बोकेको ‘शिशिरको जून’ पहिलो मुक्तक सङ्ग्रह भए तापनि धेरै दोषहरू छैनन् । सरल शब्दहरू, सुहाउँदो प्रतीक र बिम्बले पढ्न आकर्षण बढाउँछन् । केही अनुप्रास र विषयवस्तु दोहोरिएका छन् । मुक्तकका पङ्क्तिहरूको असमान शब्द सङ्ख्याका कारण झट्ट हेर्दा मुक्तकको आकार एकनास देखिएको छैन् । सबैभन्दा बढी प्रेमिल मुक्तकहरूको बनोटमा धेरै शिल्प माझिएका छन् । प्रकृतिमय बिम्बहरू छन् तर पर्यावरणीय विषय समेट्न नसक्दा समसामयिक महत्त्वपूर्ण विषयहरू ओझेल पर्छन ।
याे पहिलो मुक्तक संग्रह धेेरै राम्राे छ।बिं सं २०७७ सालमा मेराे पहिलाे मुक्तक संग्रह प्रकाशनपछि महिला मुक्तककारकाे सृजना पढ्न पाएकाे दाेस्राे मुक्तक संग्रह हाे।झापा निकै उर्वर छ साहित्यमा पनि अझ मुक्तक त समय अनुसार माहाेल कब्जा गर्ने क्षमता राख्दछ। यस सङ्ग्रहमा सुधार गर्नुपर्ने विषयलाई ध्यान दिँदै आगामी कृतिहरूमा पर्यावरण र मानवीय संवेदनाका विविध पक्षहरू समेटिँदै जाऊन् । हार्दिक बधाई तथा शुभकामना मुक्तककार लता खरेलज्यू!!