इन्द्रेनी राष्ट्रिय कविता समारोह र म
इन्द्रेनी राष्ट्रिय कविता समारोह र म
- जीविका अश्रु गान्तोक, सिक्किम
असम भन्ने बित्तिकै झट्ट सम्झनामा आउने भनेको बसाइँ उपन्यास, ब्रह्मपुत्र र स्व. लीलबहादुर क्षेत्री। धेरै पटक असम पुग्दा पनि भेट्न नसकेको व्यक्ति पनि हुन् स्व. लीलबहादुर क्षेत्री। अहिले पनि थक्थकी लागिरहन्छ। ब्रह्मपुत्र केही महिना अघि पुगेँ। तर अब साहित्यकार लीलबहादुर भने कहिले भेट्न नसकिने यात्रामा लागिसकेका छन्। मेरो त्यो एउटा सपना अधुरै रह्यो।
हुन त म शोणितपुर, सरुपथार, लङ्का र मिर्जामा पटकपटक साहित्यिक कार्यक्रममा आएकी छु, तर उदालगुड़ी भने पहिलोपटक आएकी हुँ। 2025 को नोभेम्बर 15 र 16 का दिन इन्द्रेनी प्रकाशन असमको निम्तोमा ‘इन्द्रेनी राष्ट्रिय कविता सम्मेलन’मा भाग लिने अवसर मिल्यो। जसलाई सम्मानसाथ स्विकार्दै म असमको उदालगुड़ी पुगेँ। निमन्त्रणाका लागि विषेश गरी गजलकार एवम् समालोचक रामप्रसाद दाहाललाई सम्झनामा राख्दै म यस समयको यात्रा विवरण यहाँ राख्दैछु।
केही महिना अघि नै खबर पाएँ र चुपचाप बसिरहेँ। यता गान्तोकतिर बिहान-बेलुका चिसोले गाँजिसकेको थियो। त्यसैले केही तातो लुगाहरू र केही गर्मीमा लगाउन मिल्ने लुगाफाटो लिएर लागेँ। एक्लै एक्लै नै हिँड्न मन पराउने म त्यसैले पनि एक्लै निस्केँ।
हुन त सिक्किमबाट जानुहुने साहित्यकारहरू हुनुहुन्थ्यो। सँगै जाँदा पनि हुन्थ्यो। तर के के नमिलेजस्तो हिँड्ने समय मिलेन। म 13 तारिक नै सिलगढ़ी झर्ने भएँ। गजलकार भाइ भोला विद्रोही 14 तारिक बेलुका मात्र। त्यसै गरेर आदरणीय रुद्र पौड्याल सर पनि आफ्नो सहज समय हेरेर। अर्को एउटा समूह एम के सर, टीका ढुङ्गेल र माधव सरको थियो। उता गीताश्री दिदी र पुण्य शर्मा दाजु पनि हुनुहुन्थ्यो, जो जसरी गएपनि हामी जाने कार्यक्रम एउटै थियो। ‘सिक्किबाट जानेहरू किन अलग अलग?’ तपाईँ यस्तै सोच्दै हुनुहुन्छ होला यस बखत। सिक्किमका अलग अलग ठाउँबाट थियौँ हामी। त्यसैले आफ्नो सजिलो हेरेर निस्कियौँ।
14 तारिक बिहानको साँढ़े एघार बजी राजधानी नामक रेलबाट उदालगुडी हिँड़े। एक्लै कहाँ भइन्छ र यात्रामा निस्किसकेपछि! आफू नजिकै बसेका यात्रीहरू साथी भइजान्छन्। बातचित गर्दै गए बाटो सजिलै काटिन्छ। यस्तै भयो यस पटक पनि। एकजना पाण्डे थरका असमिया दाजै रै´छन्। थर सुन्दा नेपाली (गोर्खा) जस्तै लाग्ने तर असमिया भाषी। उता लक्ष्मीपुर (लखिमपुर) घर बताउने ती दाजै नेपालमा रहेको मेचीआँखा अस्पतालमा स्थानीय आमा-बुबाहरूलाई लिएर जाने आउने गर्दा रहेछन्। उनले नजानिदो गरी बताए अनुसार अस्पताल पुर्याएर डाक्टर देखाउञ्जेल साथ सहयोग गर्दा रहेछन् र सहयोग गरेवापत शुल्क पनि लिदा रहेछन्। सोझासिधा गाउँलेलाई राहत मिल्ने उता पाण्डेजीलाई पनि राहत। ऊनी एक मात्र हैन रहेछन् यसरी सेवा दिने। अन्य थुप्रै गाउँबाट थुप्रै व्यक्ति हुँदारहेछन्। पाण्डेजी त एक प्रतिनिधि पात्र मात्र।
साँझ साँढ़ेछः बजीतिर म उदालगुड़ी रेल स्टेसनमा उत्रिएँ। अगाडि सरासर हिँड्दै थिएँ। सुभद्रा बम्जन अमित तामाङलाई देखेेँ। दिदीले अश्रु बहिनी भन्दै बोलाउनु भयो। हर्षको सीमा रहेन। अब एकाअर्कालाई ढुक्क भयो। अलिक अघि जाँदैगर्दा सुमित्रा, सोनु र साथीहरू दार्जीलिङबाट आउनुभएका सर्जकहरू भेटिएपछि हामी बाहिर निरस्कियौँ। आयोजकद्वय आदरणीय रुद्र बराल र भाइ ज्योति हुँमागाईं आइपुग्नु भयो स्टेशनमा।
कार्यक्रमका आयोजक पक्षले पाहुनाका लागि कवि साहित्यकारका घरमा बस्ने व्यवस्था मिलाउनु भएको रहेछ। सोही अनुसार हामी कवि पद्मावती देवीको घरमा बस्न पुग्यौँ। पुग्यौँ पनि के भन्नु, पुर्याइयौँ। रात परिसकेको थियो। सोनु, सुमित्रा, बसन्ती, सुभद्रा दिदी र म। जम्मा पाँच जनालाई दुई दिनका लागि बन्दोबस्त मिल्यो। कवि पद्मावती देवी हाम्रो सेवामा लाग्नुभयो। म पनि पुरानै चिनजानझैँ भान्साघरतिर लागेँ। काम नसघाए पनि गफ गर्ने साथी बनिदिएँ। घरमुली डिल्लीराम ढुङ्गाना सर आइपुग्दा अलिक अबेर भइसक्दोरहेछ,कवि यता एक्लै।
बिहान चिया पिउनेबेला भयो। हामी दार्जीलिङ, सिक्किमतिर अलिक बढ़ी चिया पिउनेहरू। पद्माजीले ससाना कपमा आधा आधा चिया दिएको देखेर म त खिस्रिक्क भएँ। दुई तीन कप चिया पिएँ तर पनि डोज पूरा नभएजस्तो नि! हजुर, बिहान चियासँग सेलरोटी खायौँ। खानु अथवा खान कम हुनु ठूलो कुरा हैन। भन्न खोजेको त्यतातिरको चलनको कुरा।
असममा नेपालीहरू (गोर्खा) अल्पसङ्ख्यक छन्। उनीहरू जाति, भाषा र संस्कार, संस्कृति सकेसम्म बचाएर राख्न चाहन्छन् र हरेक नेपाली एकढिक्का भएर रहन चाहँदा रहेछन्। किनारिकृत भएर बाच्नुको पीड़ा स्वयम् पीड़ितलाई थाहा हुन्छ। हामीले यसरी दुई चार कुरा गरेजस्तो हुन्न। अनुभवले धेरै कुरा सिकाउँछ।
म इन्द्रेनी प्रकाशनद्वारा आयोजित इन्द्रेनी राष्ट्रिय कविता सम्मेलनको कुरा गर्दै थिएँ। हजुर यसरी गाउँघरमा पाहुना बाँड़ेर राखियो। गाउँले दाजुभाइ, दिदीहरूले धेरै स्रष्टा, सर्जकहरूलाई राख्नुभयो। कोलकाताबाट निमा, सञ्जीव गुरुङ दाइ हुनुहुन्थ्यो। कालेबुङ, दार्जीलिङ, असमका पनि निकै टाढ़ा टाढ़ाबाट आउनुभएका सर्जकहरूलाई राख्न सहज थिएन। सयौँको सङ्ख्यामा उपस्तिथ पाहुनाको राम्रोसँग हेरचाह गर्नुभएकोमा पद्मावती, डिल्लिराम लगायत उदालगुड़ीवासी सबै सबै गोर्खालीहरूप्रति आभारी छु। तारापती उपाध्यायको स्मृतिमा आयोजना गरिएको राष्ट्रिय कविता सम्मेलन विश्वशान्ति मन्दिर परिसरको सभाकक्षमा सम्पन्न भएको थियो। यस कार्यक्रममा चरणबद्ध रूपमा सयौँ कविता वाचन साथै लगभग पचास जना गजलगोले आफ्ना गजल प्रस्तुत गर्नुभएको थियो भने केही इन्द्रेनी प्रकाशनबाट प्रकाशित पुस्तक एवम् साहित्यिक पत्रिकाहरू लोकार्पित भएका थिए। यो दुईदिनमा विमोचन भएका पुस्तकहरू यसप्रकार छन्-
1) इन्द्रेनी पत्रिका
राष्ट्रिय कविता विशेषाङ्क
2) स्मरणीय व्यक्तित्व
सम्पादक- ढाकाराम काफ्ले
3) बकुल फुलसरी (उपन्यास)
(अनुवाद- पूजा आचार्य)
4) आरिसमानेको उखरमाउलो
(रुद्र बराल)
5) चिठी भित्रको पीड़ा (कविता सङ्ग्रह)
(कुञ्ज देवी उपाध्याय)
6) इन्द्रेनीमा गजल (गजल सङ्ग्रह)
(रामप्रसाद दाहाल, अमित अधिकारी)
7) गजल विमर्श (गजल समालोचना, रामप्रसाद दाहाल)
फागुन तिमी फर्की आउ
(अनुवादक- वीरबहादुर थापा)
9 गोरेटाको पथिक- (यात्रा संस्मरण, बसन्तीदेवी पौड्याल)
10) प्रदिपिका समसामयिक पत्रिका - टीका ढुङ्गेल
11)टिपनटापन - टीका ढुङ्गेल
12)समीक्षा शिखर समीक्षा सङ्ग्रह- माधव खनाल।
अरूभन्दा पनि यस कार्यक्रममा वाचन गरिएका कविताहरू र गजलहरू यसै कार्यक्रममा पुस्तकाकारमा लोकार्पित भैसकेका थिए। दुई दिवसीय सम्मेलन एकआध त्रुटीबाहेक सफलतापूर्वक सम्पन्न गर्नु सामान्य कुरा थिएन। आगामी दिनमा यस संस्थाले यो भन्दा अझ उत्कृष्ट कार्यहरू गर्दै जाओस् शुभकामना चढ़ाउँदछु।
यस विश्व शान्ति मन्दिर परिसरमा गोर्खा भवन, तारापति स्मृति भवन, दुर्गा मन्दिर र ठूलो, सुन्दर सभागृह पनि रहेछन्। ‘जहाँ इच्छा त्यहाँ उपाय’ उखान उसै कहाँ बनिएको हो र! अल्पसङ्ख्यक नेपाली भाषीले यत्तिको ठूलो छेत्रफलमा मन्दिर, सभागृह, गोर्खा भवन, तारापति स्मृति भवन आदि निर्माण गर्नु कति सङ्घर्ष गर्नुपर्यो होला!?
हामीले 16 नोभेम्बरको रेलको टिकट गरिसकेका थियौँ। सुभद्रा दिदी, अमित भाइ र म उदालगुड़ीबाट चार बजेको रेलबाट रङ्गिया जानु थियो। त्यसैले अलिक अगाड़ि नै स्टेशन जाने कुरा भयो। डिल्लीराम सरले हामीलाई आफ्नो घरबाट झोला झाम्टा लिएर स्टेशन पुर्याउने जिम्मा लिनु भएको थियो। सोही बमोजिम हामीलाई पुर्याइदिनु भयो। जब हामी स्टेशन पुग्यौँ तब पो थाहा भयो हाम्रो कार्यक्रस्थल अर्थात विश्व शान्ति मन्दिर परिसर त पैदल पाँच मिनेटको दुरीमा रहेछ।
हामी स्टेशनमा रेल कुर्दै गर्दा,जाने र पुर्याउनेहरूको लर्को थियो। यसै लर्कोमा कविहरू मनिषा, पूजा, जमुना, रामप्रसाद दाजु, सुवास श्रेष्ठ आदिको बाक्लो उपस्थिति थियो। रेल चढ्दा को को, कता कता गए हामी पाँचजना थियौँ। जमुना र मनिषाले रङ्गियासम्म साथ दिए। त्यसपछि रातको नौ बजे हामी सिलगढ़ीतिर लाग्यौँ। रेलको डब्बा एउटै भएपनि हामी छुट्टियौँ। म बाह्र नम्बरको सिटमा दिदीहरू उनञ्चास र पचास नम्बरमा।
‘आखिर सुत्नु त हो, जता जता भएपनि’ भनेर आफ्नो सिटतिर जानै लाग्दा एक नेपाली अनुहारसँग जम्काभेट भयो। परिचय भयो। परिचयपछि उहाँ अफन्त नै हुनुहुँदोरहेछ। परशुराम उपाध्याय न्यौपानेसँगको भेट अविस्मरणीय रह्यो। तीर्थ यात्रामा निस्किनुभएका न्यौपाने जोड़ी पनि खुशी हुनुभयो। यो भेटघाटले म पनि खुशी भएँ।
बिहानको तीनबजे हामी चढ़ेको रेल एनजेपी अर्थात न्यू जलपाइगढ़ी जङ्कशनमा आएर रोकियो। हामी हतार हतार गरेर ओर्लियौँ। जङ्कशनबाट बाहिर ‘गान्तोक, गान्तोक, गान्तोक..’ भन्दै कराइरहेका रहेछन् ड्राइभरहरू। मलाई चाहिएको पनि गान्तोककै गाडी। सुभद्रा दिदी र अमित भाइसँग विदा मागेर लागेँ आफ्नो गन्तव्यतिर।
लागे पनि के भन्नू र! सवारी खोज्दा, मान्छे मिलाउँदा चार बजिसकेको थियो। चार पन्द्रतिर बल्ल गाड़ीले आफ्नो रफ्तार लियो। र अघि बढ्यो निरन्तर...।