मोही पारेको ज्याला नौनी घिउ

खगिन्द्रा खुसी · कार्तिक १३, २०८१ १०:४३ AM
Cover Image for News

हामीकहाँ ठुलाठुला दारका ठेका, ठेकी ,दुधेरा थिए । तिनताका गाउँमा सबैकहाँ दारका ठेका,ठेकी र दधेरा नै हुन्थे । दार भन्ने एकप्रकारको काठ हो । त्यसका ठेका,ठेकी र दुँधेरामा दही, मोही, दुध मिठो हुन्छ  गनाउदैन । लेकतिर चलाउने टोलङ् भने अरु नै काठका बनाउथे र तिनमा मोही पार्थे  । हाम्रातिर टोलङ्को चलन थिएन । ठेका र गबुवा नै चलाउथे । बडाबडा ठेका पनि  हुन्थे । जसले जति दुध,दही बनाउछन् त्यही अनुसारका ठेका पाइन्थे । मोही पार्ने तरिका आज इतिहास हुदैछ । ठेकाभित्र मदानी पोरातिर हालिन्छ ।काठका बुट्टा काटेर बनाएका घुर्रामा मदानी छिराएर उभ्याइन्छ । मजाले बाटिएका नेतीका दुइछेउमा चिल्ला दुईतिर गाँठा र बिचमा समाउन जजिलो पारेर बनाइएका कोइला लगाइएको हुन्छ । ती घुर्रो,नेती,कोइला,मदानी,मदानीका पोरा,शर राम्रा चिल्ला पारेर साह्रै मेहनत गरेर बनाइएका हुन्थे । अहिले पनि तिनको चलन कायमै भएका ठाउँमा त्यस्तै होलान् । धेरै ठाउँमा ता तिनको प्रयोग हराएर गयो । तेलठेकी , चौँठो कति उपयोगी र राम्रा लोभलाग्दा हुन्थे । अहिले ती बिलाएर गए । 
मदानीका शरमा बेरेको नेतीका छेउमा बाँधेका  कोइलामा समाएर मज्जाले तानेर घार्र,घुर्र आवाज निकालेर मोही पार्नुको मज्जा नै अर्कै हुन्छ । मनै चाच्छ । शव्दमा जस्ताको तस्तै भन्नै सकिदैन । त्यसको सङ्गीतले भित्र दिल नै रमाउछ । अलिक साना ठेकामा एक्लै मोही पार्न सकिन्छ तर ठुला ठेकामा दुईजनाले पार्नुपर्छ । एक्लै तानेर दही फिट्नै सकिदैन । धुलिउन्जेल मजाले थर्काएर पार्नुपर्छ । धुलिँदा ठेकामा घिउ मोहीका माथि छरिएर आउछ । अब त्यसलाई घिउ मस्किउन्जेल पारिरहनु पर्छ । घिउ मस्किएपछि मोहीका माथि डल्लो पर्छ । अनि एउटा भाँडामा पानी राखेर त्यसमा घिउ झिकिन्छ । पहिले मदानीका पोरा पुछिसकेर त्यपछि घिउ झिकिन्छ । पानीमा मज्जाले पथारेपछि नौनी घिउ परिपक्व हुन्छ,मज्जाले डल्लोपर्छ । तिनताका  त्यस नौनीलाई हर्पेमा राखिन्थ्यो । धार्नी,बिसौली जाने हर्पे हुन्थे । 
अलिक धेरै भएपछि घिउ खारिन्थ्यो । टिनमा घिउ भरिन्थ्यो र बाहरु मधुमल्ला पु¥याएर बेच्नुहुन्थ्यो । पूर्वतिरकाहरु सन्सरे बजार लगेर बेच्थे । अलिक पश्चिमकाहरु धरान लगेर बेच्थे । बाहरुले केही घिउमा नुन साटेर ढाकरमा बोकेर खकन तोक्मा लाउदै लाउदै घर ल्याउनुहुन्थ्यो । घिउसँग दरभाउ हेरी बिस,पच्चिस हुदै चलिस पचास खुटसम्म नुन साट्न पाइन्थ्यो । लैना बस्तुको आम्दानी घिउ मात्र थियो । घिउ भने खाएर सकिदैनथ्यो । धेरै खुट पाइने मौका पारेर घिउले नुन साट्न जाने चलन थियो ।
हामीकहाँ ठुला भनेका छपाथे,आठपाथे,दशपाथे र बाह्रपाथे ठेका थिए । बाह्रपाथे खासै चल्दैनथ्यो । छपाथे र आठपाथे भने मजाले चल्थे । दुहुना बस्तु ठिटा हुदै गएपछि छपाथे चल्थ्यो । लैना हुन्जेल आठपाथे ठेको चल्थ्यो । एकदिनको दही छिप्याएर दुई वा तीन दिनको मोही पारिन्थ्यो । त्यसो गर्दा घिउ मजाले लाग्थ्यो र मोही पनि मिठो हुन्थ्यो । अलिक अमिलिएको मोही मिठो मानिन्थ्यो । खरुकी , बन्सो,अम्लिसो अनि डाले घाँस खाएको दही मज्जाले चक्काना परेर जम्थ्यो । रत्नाउलो,गग्लातो आदि घाँस खाएका बेला भने लहरे दही हुन्थ्यो । अहिले त मेरो पहाडले पनि ठेकामा दही जमाउदैन होला । कुँडे कराहीमा दुध के पो तताउला र । सबै डेरीमा जम्मा गरिहाल्छ होला । हाम्रा गाउँमै मोही सधैँ नै बेलुका परिन्थ्यो । बिहान ता भ्याउने कुरै थिएन । पारेका दिनभन्दा पछि ठेकी हल्लाउदा सनननन आवाज आउने अमिलो मोही हुन्थ्यो । हामी तिर्खालाग्दा पानी पिउदैनथ्यौँ । मोही नै ओखाइपखाइ हुन्थ्यो । लैना बस्तुलाई खोलेमा मोही दिइन्थ्यो । त्यसले गर्दा दुध अझ पग्रिन्थ्यो । ठेकीबाट सारेको अमिलो मोही खाँदा भोक तिर्खा दुवै मेटिन्थे । त्यो आनन्दको आज अनुभूति मात्र बाँकी छ । त्यो आज ता आफ्नैलागि पनि एकादेशको रमाइलो कथा भयो भने अहिलेका जवयुवाहरु ता पत्याउदा पनि पत्याउदैनन् ।
हाम्रा घरको अगेना छेउको मूल थाममा घुर्रो झुन्डाएको थियो । त्यो कसले बनाएको थियो पिताजीलाई कहिल्यै सोधिनछु । मज्जाले फूलबुटा कुँदेको लेकाली चाँपका काठको थियो । पहाडमा र तराई बसाइँ आउदा ल्याएर समेत गरी करिब तिसवर्ष ता मैले थाहा पाइकन चलाइयो । अहिले  झिकेर राखिएको छ । पहिले कति चलाए मलाई थाहा भएन । अहिले पो त्यो घुर्रो हेरेर के के घोरिन्छु । आफ्नै जिउँदो इतिहास भेट्छु त्यसको आकृतिमा । त्यो घुर्रो झुन्डाइएको थाम माथि निदालमा निर्कै लामो र ठुलो नेठमा टेकाइएको हुनाले निदालले मजैले किचेको थियो । भुइँमा पनि गज्जपकै चप्लेटी ढुङ्गामा उभ्याइएको थियो । त्यही थाममा स्थाई रुपमा झुन्डाइएको घुर्राको टुप्पामा भएको प्वालमा मदानीको शर छिराएर मोही पारिन्थ्यो । मदानीको शर साह्रै चिल्लो बनाइएको हुन्छ । कहिलेकाहीँ  काकाहरु आउनु भयो भने मोही पार्न सघाउनुहुन्थ्यो नत्र भने ठुला ठेकामा पिजाजी र म पाथ्र्यौँ ।
 नेतीको माथिल्लो घुर्रो पिजाजी समाउनुहुन्थ्यो । तल्लो घुर्रो म समउथेँ । पिताजी काठका पिरामा बस्नुहुन्थ्यो म भने उभिएर एउटा खुट्टो अगाडि अर्को खुट्टो पछाडि टेकेर डोरी तानी खेलेझैँ तोडले नेती तान्थेँ । यसरी हामी बाबुछोराले कैयौँ पटक मोही पारेका छौँ । म गलेर खुत्रुक्क भएपछि एकछिन् पिताजी एक्लै पार्नुहुन्थ्यो । तर त्यो धेरैबेर सक्ने कुरा भएन । बिसाउदा सेलाउथ्यो र बिग्रिन्थ्यो । केही बेर बिसाइयो भने अलिकति तातो पानी हालेर पार्दा मात्र ठेगानमा आउँथ्यो ।
पहिले पहिले त मोही पार्दा गलेर म कतिपटक सुँक्क सुँक्क रोएको छु । पिताजी माया गरेर भन्दा मलाई नाथे भन्नुहुन्थ्यो । “ए नाथे रुन पो थालिस् ,नरो न मोही पारिसकेर नौनी घिउको मजाको डल्लो खालास् न ”भन्नुहुन्थ्यो । त्यतिबेला हामी आलो नौनी घिउ मज्जाले खान्थ्यौँ । खारेकोभन्दा नौनीकै जिब्रामा मितेरी साइनो लागेको थियो । मोही पारिसकेर घिउ पथारेपछि हातभरिको नौनीको डल्लो दिदै “लु मजाले खा अब बलियो भएर नरोइकन मोही पार्नुपर्छ नि नाथे” भन्नुहुन्थ्यो । अनि अघि ठस्ठस् कन्दै मोही पारेको सबै बिर्सेर नौनी घिउ भोकै मर्नेगरी खाइन्थ्यो त्यतिबेला पच्थ्यो पनि । अहिले ता त्यसरी घिउ खायो भने सुलुलुलु गइ पो हाल्छ । जिब्राका टुप्पैमा बसेको त्यो नौनी घिउको स्वाद कहिल्यै बिर्सिन सकिदोरहेन छ । 
अहिले म क्यानडाको टोरन्टोमा छु । मैले रुदै मोही पारेर मजाले नौनी घिउ खाएका ठाउँबाट करिब बाह्रहज्जार किलोमिटर पश्चिम उत्तरको धर्तीको किनाराको यो भूभागमा मलाई तिनताकाका कुरा ताजा भएर आयो । हामी ता पश्चिमा भनेका मासु र पिठो खाने भनेर चिन्थ्यौँ । कहाँ हो रहेछ र ! यिनीहरुले दही ,दुधमा ता हामीलाई पो लसक लाउदा रहेछन् । यहाँ छोरो विपिनसँग हामी कोस्टको नामको दोकान गएर दुध र नौनी घिउ ल्याउछौँ । दही आफैँ जमाएर खान्छौँ । थरीथरीको दुध पाइन्छ । आफूलाई मनपर्ने रोजेर ल्याउछौँ । गज्जप मिठो हुन्छ । खिर पकाएर पनि खान्छौँ, गन्जपै हुन्छ । घिउ ता कति हो कति मिठो । लुङ्सुङ्दाङ्बाट बसाइँ हिडेपछि पनि मज्जैले गाई, भैँसी पालेर दुध, दही खाइयो तर लुङ्सुङ्दाङ्को जस्तो स्वादिलो जिब्राले कहिल्यै भेटेन जस्तो लागिरहन्छ । हामी वालमार्ट  नामको पसल पनि जान्छौँ तर त्यहाँबाट कहिल्यै दुध,घिउ किनेनौँ । कोस्टको नै हाम्रो नियमित खरिद गर्ने पसल रहेछ । यी दुइटै असाध्यै ठुला पसल रहेछन् । अमेरिका र क्यानडा देशैभरि यिनीहरुकै दबदबा रहेछ । कोस्टकोको दुध,घिउको स्वादले भने लुङ्सुङ्दाङको स्वादलाई बिर्साइदियो । यिनीहरु ता साँच्चै मजाको दुध,दही,घिउ पो खादारहेछन् । दही मजाले जम्छ । तराईमा सिल्बरे भाँडामा जमाए जस्तो होइन । पहाडका दारका ठेकामा जमाए जस्तै मिठो हुन्छ । नौनी उस्तै मिठो । खारेको ता झन् भन्नै नपर्ने । म नेपालबाट हिड्दा आफू ता शाकाहारी परियो । मासु खानेहरु धेरै भएका देशतिर जाइदैछ । त्यसमा पनि गाई र सुँगुको मासुबाजहरुकहाँ के खाएर बस्नुहोला भनेर मन कुँडिएको थियो । यिनीहरुकहाँ ता शाकाहारी परिकार कति हो कति प्रकारका पो पाइदा रहेछन् । दही दुध झन् भने जस्तै ।  यो दूरदराजमा पनि यसले मलाई तिनताकाको दही,मोही र घिउको स्वाद ताजा र जस्ताकोतस्तै बनाएर ल्यायो । जे होस् मैले गलेर रुदै मोही पारेर खाएको मिठो नौनी घिउ जस्तो यिनीहरुले खुवाए । यिनीहरुले बटर भन्ने नौनी कति मजाले बनाउदारहेछन् ! निकै दिनसम्म गनाउदैन । पुरानो सम्झना गर्दै मज्जैले नौनी पनि खाइयो । त्यसैले त्यो नौनी घिउका डल्ला भोकैमरुन्जेल मज्जैले खाएको र यो घिउको स्वाद मिलेर यस बेला पनि लुङ्सङ्दाङ्मै पो छु कि जस्तो लागिरहेछ ।
२७ सेप्टेम्बर २०२२
१६५ पिलकिङ्टन ड्राइभ,स्कार्बोरोह् ,टोरन्टो




ट्यागहरू:
सहित्य कविता samachar sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
शुभस्मृति-सुखस्मृति !
शुभस्मृति-सुखस्मृति !
खोलाघरे साहिँलो पोष्ट खगिन्द्रा खुसी - सोमबार १४ अक्टोबर २०२४
रेडियो बजाउने लाइसिन
रेडियो बजाउने लाइसिन
प्रा.डा.गङ्गाप्रसाद अधिकारी पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
बिफरको तोबातोबा र थारमुङ्ग्राको कमाल
बिफरको तोबातोबा र थारमुङ्ग्राको कमाल
हेम अधिकारी पोष्ट - खगिन्द्रा खुसी - शनिबार ७ सेप्टेम्बर २०२४
तिते फापरको रोटी
तिते फापरको रोटी
हेम अधिकारी पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार ३ सेप्टेम्बर २०२४