वृद्धाश्रमका वृद्धवृद्धाहरू - उषा शेरचन

उषा शेरचन · मंसिर १४, २०८३ ८:२९ AM
Cover Image for News

समयको धारसँगसँगै
वाग्मती बगेझैँ
तिमीहरू पनि बग्यौ
हामीलाई बिर्सिँदै

तिमीहरूको पालनपोषणमा
दिनरात छुट्याइएन
हिउँदवर्षा गनिएन
भनौँ अझै
जीवन नै खर्च गरियो

उमेर रहुञ्जेल
हातपाखुरा बिके
रगतपसिना बिके
सुनझैँ थियौँ हामी
र सुनकै भाउमा बिक्यौँ

आज भने
सबै कुरा बिक्न छाडेपछि
खोटो सिक्काजस्तै भयौँ
अनि यसरी
वृद्धाश्रममा मिल्कियौँ

अचेल त
आफ्नै हड्डीले समेत आफैँलाई घोच्छ
आफ्नै बिस्ताराले पनि आफैँलाई पोल्छ

हेर्दा आँखाहरू धमिला धमिला हुन्छन्
सम्झँदा मन अमिलो अमिलो हुन्छ

तिमीहरू जन्मिँदा
खुसीले आकाश छोयौँ
बुढेसकालको सहारा भनेर
गर्व गर्‍यौँ

आज भने
आफ्नै खुट्टाको भरोसा छैन
हिँड्दा ढलपल ढलपल गर्छौँ
र सहाराका लागि
तिमीहरूलाई खोज्छौँ

तर अफसोस
सहाराका लागि
न काँध भेटिन्छ
न दुखाइ छाम्ने हात देखिन्छ

तिमीहरू हरायौ
आआफ्नै सुन्दर संसारमा
हामी अर्घेलो ठहरियौँ
तिमीहरूको परिवारमा

कुनै बेला
तिमीहरू हाँस्दा
हामी हाँस्थ्यौँ
तिमीहरू रुँदा
हामी रुन्थ्यौँ

आज
हाम्रो अगाडि हाँस्ने कोही छैन
हाम्रो पछाडि पनि रुने कोही छैन

वृद्धाश्रमको
एउटा कुनामा बसेर
कालको बाटो हेर्दै
काललाई नै पर्खिरहेका छौँ

तैपनि
हामीलाई लिन किन आउँदैन हँ?
त्यो निठुरी काल पनि !
त्यो निर्मोही काल पनि!!

ट्यागहरू:
कविता literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सेक्स- कविता - कृसु क्षेत्री
सेक्स- कविता - कृसु क्षेत्री
कृसु क्षेत्री - आइतबार २२ नोभेम्बर २०२६
कविता उन्मुक्त हाँसो - प्रकाशचन्द्र खतिवडा
कविता उन्मुक्त हाँसो - प्रकाशचन्द्र खतिवडा
प्रकाशचन्द्र खतिवडा - बुधबार ४ नोभेम्बर २०२६
उसको आकाश अझै बाँकी छ
उसको आकाश अझै बाँकी छ
✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे - बुधबार ४ नोभेम्बर २०२६
गन्तव्य मोडिए पनि - सुभद्रा भट्टराई अर्याल
गन्तव्य मोडिए पनि - सुभद्रा भट्टराई अर्याल
खगिन्द्रा खुसी - बुधबार ४ नोभेम्बर २०२६