उसको आकाश अझै बाँकी छ

✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे · कार्तिक १९, २०८३ ११:४३ AM
Cover Image for News

कविता
 उसको आकाश अझै बाँकी छ
 - हिम्मत नेम्बाङ 

म ढुङ्गा कुँदिरहेको हुन्छु,
 छिनो र हतौडाको आवाजमा
 एउटा आकृति जन्मिरहेको हुन्छ ।
 त्यही बेला,
 दुइवटा ढुकुर आउँथे
 मेरा खुट्टानजिकै,
 चारो टिप्थे,
 सँगै पानी पिउँथे,
 अनि सँगै आकाशमा उडेर जान्थे ।

 आजकल,
 एउटा मात्रै आउँछ ।
 न उसको जोडी छ,
 न पहिलेको चञ्चलता ।
 ऊ एक्लै चारो टिप्छ,
 एक्लै पानी पिउँछ,
 अनि मौनता भित्र
 आफ्नै आवाज सुनिरहन्छ ।

 कहाँ हरायो उसको साथी ?
 कुन निर्दयी समयले
 छुटायो उनीहरूलाई ?
 मलाई थाह छैन,
 तर उसको एक्लोपनले
 मेरो मन छोइरहन्छ ।
 म छिनो रोक्छु,
 हतौडा थाम्छु
 ग्राइन्डरको आवाज बन्द गर्छु,
 र उसको आवाज सुनिरहन्छु । 

ऊ बोलिरहन्छ,
 म मौन बसिरहन्छु ।
 सायद ऊ आफ्नो बिछोड सुनाउँछ,
 सायद म भित्र
 एउटा साथी खोजिरहन्छ ।
 म उसलाई चारो दिन्छु,
 ऊ नजिक आउँछ,
 अलि पर जान्छ,
 फेरी फर्केर हेर्छ ।
 त्यो क्षण लाग्छ -
 दुःख बुझ्न भाषा चाहिदैन,
 माया बुझ्न शब्द चाहिँदैन,
 एउटा सम्वेदनशील मन भए पुग्छ ।

 म ढुङ्गामा आकृति कुँद्छु ,
 तर उसको विरह कुँद्न सक्दिन ।
 म निर्जीव ढुङ्गाभित्र
 जीवन खोज्छु,
 ऊ जीवित भएर पनि
 हराएको आफ्नो संसार खोजिरहन्छ ।
 सायद,
 ऊ र म उस्तै छौँ -
 ऊ आफ्नो जोडीको सम्झनामा,
 म सिर्जनाको संवेदनामा ।

 तर म चाहन्छु,
 उसको मौनतामा फेरी गीत भरियोस्,
 उसको एकान्तमा आत्मीयता पलाओस्,
 उसको आकाशमा
 प्रेमको पखेटा फेरि फैलियोस् ।
 मेरो मूर्तिशालामा
 उसको लागि चारो रहनेछ,
 पानी रहनेछ,
 र एउटा आत्मीय ठाउँ रहनेछ ।
 किनकी
 बिछोडले जीवन रोकिंदैन,
 अँध्यारोले आकाश छेकिंदैन,
 एउटा सम्बन्ध टुट्दैमा
 प्रेमको सम्भावना मर्दैन ।
 आज त्यो ढुकुर एक्लै छ,
 तर उसको आकाश अझै बाँकी छ ।

 म ढुङ्गा कुँदिरहनेछु,
 ऊ आकाशतिर हेरिरहोस्।
 सायद कुनै दिन
 उसको मौनता फेरि गीत बन्नेछ,
 उसको एकान्त फेरी आत्मीयताले भरिनेछ ।
 किनकि जीवन भनेकै
 बिछोडमा सधैं रोइरहनु होइन,
 बाँकी रहेको मायालाई जोगाएर
 फेरी उज्यालोतिर उन्मुख हुनु हो।
 सुरुङ्गा , झापा 
 समाप्त !

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
चित्रा पाैड्याल
२ घण्टा अगाडि

पन्छीकाे विरह सुन्ने प्रयास।कारुणिक छ।पत्थरमा जीवन खाेज्ने कलाकार जीवनमा संवेदनाका गहिराई हुन्छन्।वाह!

सम्बन्धित पोस्टहरू
गन्तव्य मोडिए पनि - सुभद्रा भट्टराई अर्याल
गन्तव्य मोडिए पनि - सुभद्रा भट्टराई अर्याल
खगिन्द्रा खुसी - बुधबार ४ नोभेम्बर २०२६
चङ्गा
चङ्गा
✍️ निलिमा आचार्य ,पोष्ट-दिलिप घिमिरे - आइतबार १ नोभेम्बर २०२६
 ´त्यो रात थियो`
´त्यो रात थियो`
✍️ गौरी नेम्बाङ, पोष्ट-दिलिप घिमिरे - बुधबार २८ अक्टोबर २०२६
याे दशैंमा
याे दशैंमा
✍️ मनुहाङ किराँती"साेलु", पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २० अक्टोबर २०२६