गन्तव्य मोडिए पनि - सुभद्रा भट्टराई अर्याल

खगिन्द्रा खुसी · कार्तिक १९, २०८३ ६:४९ AM
Cover Image for News

ऐनाले कहाँ बयान गर्न सक्छ र रूपको कथा,
समय मिले
एकपटक मेरा आँखामा हेर्नू,
त्यहाँ तिम्रो नाम अझै
कुनै पुरानो उज्यालोजस्तै बाँकी छ।

तिमीलाई मात्र प्रेम गरेकी कहाँ हुँ र म—
नजर जुध्दा तिमी पनि त मुस्कुराएका थियौ,
मौनताका ती क्षणहरूमा
शब्दभन्दा गहिरो केही बोलेका थियौ
तर जिन्दगीले कोल्टे फेर्‍यो,
लक्ष्यहरू बदलिए,
बाटाहरू छुट्टिए
तर ती आँखाका भाका
कहाँ बदलिए र?

तिमी आफ्नो संसारमा बाँधियौ,
म आफ्नै एकान्तको किनारमा उभिएँ
अब तिम्रो जीवनमा मेरो अधिकार खोज्दिनँ,
केवल परेलीको भाकामा आएको
त्यो पुरानो प्रेम
टाढैबाट स्वीकार्छु।

सुख कहाँ छ भनेर सोध्छौ भने
आँखा चिम्लेर तिमीले तस्बिर सम्झनु,
फेरि बिस्तारै नयन खोल्नु,
सायद त्यही क्षण
अतीतले वर्तमानलाई चुपचाप छोइदिन्छ।
अँध्यारोमा
म चन्द्रमा र तिमी तारा भएको भए,
दूरीलाई आकाशले नै नापिदिन्थ्यो होला
समुद्रले पनि
मान्छेझैँ प्रेम गर्न जानेको भए,
सायद मेरा सबै अधुरा भाव
उसैको गहिराइमा डुबाइदिन्थेँ।
याद छ?
सियोले घोचिएर रगत बगेका ती औँला,
इलामे रसले पुछेकी थिएँ मैले
फाटेको तिम्रो झोला
त्यही सियोले सिएकी थिएँ
कपडा मात्र कहाँ सिएको थियो र?
त्यो सियोले त
हाम्रो सानो संसार नै जोडिरहेको थियो।
मलाई के थाहा—
त्यो बाटो यति चाँडै छुट्टिनेछ,
तिम्रो गन्तव्य अन्तै मोडिनेछ,
र मैले समातेको हात
समयको भीडमा अपरिचित हुनेछ..!
आज फेरि
मनको कुनै पुरानो कुनाबाट
अतीत फर्केर आएको छ
धुलोले ढाकिएका ती दिनहरू,
ओझेल परेका ती नजरहरू,
र मुस्कानभित्र लुकेको
त्यो अनकहा प्रेम..!
अब केही माग्नु छैन तिमीसँग,
न कुनै प्रश्न, न कुनै गुनासो
केवल यति चाहन्छु,
कहिलेकाहीँ एकान्तमा
तिमीलाई पनि याद आओस्
हामी छुट्टिएका थियौँ,
तर त्यो प्रेम कहिल्यै छुट्टिएन;
गन्तव्य मोडिएको थियो,
सम्झनाको बाटो कहिल्यै मोडिएन ।

ट्यागहरू:
literature sahitya puraskar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
चङ्गा
चङ्गा
✍️ निलिमा आचार्य ,पोष्ट-दिलिप घिमिरे - आइतबार १ नोभेम्बर २०२६
 ´त्यो रात थियो`
´त्यो रात थियो`
✍️ गौरी नेम्बाङ, पोष्ट-दिलिप घिमिरे - बुधबार २८ अक्टोबर २०२६
याे दशैंमा
याे दशैंमा
✍️ मनुहाङ किराँती"साेलु", पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २० अक्टोबर २०२६
चित्रभित्र हराएको घर
चित्रभित्र हराएको घर
✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे - शुक्रबार १६ अक्टोबर २०२६