सामाजिक विकृतिविरुद्ध मुकदर्शकका छन्दबद्ध कविता
झापा, १३ मङ्सिर / सामाजिक बेथिति,विभेद राजनीतिक विकृति र अन्यायविरुद्धका स्वरलाई छन्दमा अभिव्यक्त गर्दै आएका कवि बिन्दु दाहाल ‘मुकदर्शक’का एक दर्जन कविता काठमाडौंमा शनिबार प्रस्तुत गरिएका छन्।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को ११२औँ शृङ्खलामा वाचित उनका कवितामा सामाजिक रूपान्तरण, देशभक्ति र मानवीय चेतना अभिव्यक्त भएको छ।
झापाको दमकमा रहेर साहित्य सिर्जनामा सक्रिय मुकदर्शकले चारवटा कविता वाचन गरेका थिए भने अन्य आठवटा कविता सहयोगी स्रष्टाहरूले सुनाएका थिए। विभिन्न शास्त्रीय छन्दमा रचिएका ती कविताले समसामयिक सामाजिक तथा राजनीतिक अवस्थामाथि प्रश्न उठाएका थिए।
कवितामाथि टिप्पणी गर्दै प्रा. डा. लेखप्रसाद निरौलाले मुकदर्शकका रचनामा छन्दगत कौशल, वैचारिक स्पष्टता र भावगाम्भीर्य रहेको बताए। विविध छन्दको प्रयोग, अनुप्रास र यमक अलङ्कारको संयोजन तथा सामाजिक यथार्थको अभिव्यक्तिलाई उनले कविताका सबल पक्षका रूपमा औँल्याए।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी अध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कविराज घिमिरेले मुकदर्शकको व्यक्तित्व तथा कृतित्वबारे परिचय दिएका थिए। २०७० चैत १४ देखि सुरु भएको ‘अविरल जनसाहित्य यात्रा’ हरेक महिनाको दोस्रो शनिबार आयोजना हुँदै आएको छ। यात्राको ११३औँ शृङ्खलामा कवि गङ्गा कर्माचार्यलाई प्रस्तुत गरिने सङ्घले जनाएको छ।