साहित्यका मठाधीहरूको पसलमा पुरस्कारको कारोबार- होम सुवेदी

होम सुवेदी · मंसिर १३, २०८३ ८:४७ PM
Cover Image for News

उहिलेका कुरा खुइलिए । अहिलेकाे कुरा गरौँ । त्यसमा पनि साहित्यकाे । अहिले साहित्य लेखेर मात्र साहित्यकार भइँदैन। एउटा बलियो गुट विना साहित्यकार हुनु असम्भव छ । गुट चाहिन्छ, दुईचार जना प्रशंसक चाहिन्छन् र पुरस्कार दिलाउन सक्ने केही निर्णायक पनि हातमा चाहिन्छन्।

साहित्यमा प्रतिभाकाे कुरा नगरौँ । त्याे भन्दा पहुँच ठुलो भएको छ। सिर्जनाभन्दा नातागाेता, आफन्त र सम्बन्धको मूल्य बढेको छ। एउटा गुटले अर्कोलाई सम्मान गर्छ, अर्को गुटले पहिलोलाई अभिनन्दन गर्छ। यसरी सम्मानको लेनदेन चलिरहन्छ, अहिले ।

आज घाेषणाकाे युग पनि हाे । अनि आज तपाईंले मलाई महाकवि घोषणा गरिदिनुस्, भोलि म र मेरातर्फका सँस्थाबाट  तपाईंलाई युगपुरुष बनाइदिउँला। तपाईंले मेरो कृतिलाई कालजयी भनिदिनुस्, म तपाईंको सामान्य कवितालाई युगान्तकारी भनिदिउँला। तपाईं मेराे किताबकाे विमाेचन गरिदिनुहाेस् त्यसबापत म पैँचो तिरिदिउँला ।

पुरस्कार पाउनेहरू पुरस्कारको गरिमा बढेको ठान्छन्, दिनेहरू आफ्नो निष्पक्षताको विज्ञापन गर्छन्। एक त पाठक नै छैनन् भएका पाठक पनि कुन कृति पढेर पुरस्कार दिइयो भनेर खोज्दै पुस्तक पसलतिर भौँतारिरहेकाे हुन्छ ।

कहिलेकाहीँ त लाग्छ, साहित्यमा पनि सहकारी खुलेको छ— रविजीको सहकारी । आज मेरो सम्मान, भोलि तपाईंको सम्मान! लगानी नगदमा पनि र प्रशंसा र चाकरीमा पनि गरिन्छ।

हाम्रा गुटबहादुरहरूले एउटा कुरा बिर्सनु हुँदैन—तिम्रा गुटले पुरस्कार बाँड्न सक्लान्, इतिहासको फैसला बाँड्न सक्दैनन्। सम्मानपत्र लिनेले पनि उसकाे सम्मानपत्र भित्तामा झुन्ड्याउला, तर साहित्यको वास्तविक मूल्य भने त्यसैसँग आत्महत्या गर्न झुन्डिरहेकाे हुन्छ ।

अब कसैले बुझ्दैन, साहित्य सिर्जनाको साधना हो भन्ने कुरा । सम्मान भनेकाे साटासाट गर्ने बजारकाे सटही काउन्टर  होइन भन्ने कुरा कसैले बुझ्दैन ।

झाेला बाेकेर साहित्यकार भई साहित्यकाे व्यासासनमा बसेका साहित्यकम्पनीका मालिकले काउलीबारीबाट जवाफ देलान् कि भन्ने आशा गरेको छु !!

ट्यागहरू:
literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।