चार दशकको गीतयात्रामा सागर उदासलाई गीतकार पुरस्कार
झापा, १२ मङ्सिर / चार दशकदेखि नेपाली गीत लेखनमा सक्रिय गीतकार सागर उदास यस वर्षको गीतकार पुरस्कार–२०८३ बाट सम्मानित हुने भएका छन्।
तनहुँको दमौलीमा रहेर सिर्जनाकर्ममा निरन्तर रहेका उदासलाई गीतकार प्रतिष्ठान, नेपालले उक्त पुरस्कार प्रदान गर्न लागेको हो।
वि.सं. २०५१ मा रेडियो नेपालमा ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ गीत रेकर्ड भएपछि उनी सार्वजनिक रूपमा चिनिन थालेका थिए। उनका ‘सागरभित्रका कर्णहरू’, ‘सागर सुसेली’ र ‘फैलिन्छ कि माया’ गरी तीन गीतसङ्ग्रह तथा ‘आभार’ र ‘रवि’ गरी दुई गीतिएल्बम प्रकाशित छन्। ‘जिउँदाको जन्ती...’, ‘फुल्यो गुराँस तारे भिरैमा...’, ‘घाम पनि माग्छु...’ र ‘छैन है रहर...’ उनका चर्चित गीत हुन्।
गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उदासले साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानबापत दुई दर्जनभन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन्।
गीतकार प्रतिष्ठान, नेपालको छैटौँ वार्षिक साधारणसभाका अवसरमा मङ्सिर १९ गते पोखरामा उनलाई पुरस्कार प्रदान गरिने अध्यक्ष अनुराग अधिकारीले बताए। पुरस्कारमा ११ हजार १११ रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र रहेको छ। यस वर्ष पुरस्कार राशि पाँच हजार ५५५ रुपैयाँबाट बढाइएको हो।
प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसका आधारमा उदासलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो। प्रतिष्ठानले यसअघि प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’लाई उक्त पुरस्कार प्रदान गरिसकेको छ।