वरिष्ठ र युवा छन्दसाधकलाई एउटै मञ्चमा जोड्दै ‘छन्द–तरङ्ग’

दिलिप घिमिरे · मंसिर १३, २०८३ ७:५१ PM
Cover Image for News

झापा, १२ मङ्सिर / नेपाली छन्दकविताको साधना र पुस्तान्तरणलाई सँगसँगै अघि बढाउने उद्देश्यले सञ्चालित ‘छन्द–तरङ्ग’ले २०८३ सालका लागि वरिष्ठ कवि निर्मोही व्यास र युवा कवि सिर्जना अर्याललाई पुरस्कृत गरेको छ।

छन्दसाधना पुरस्कारअन्तर्गत व्यासलाई विशिष्ट छन्दसाधना पुरस्कार र अर्याललाई छन्दसाधना युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो। काठमाडौंमा आयोजित समारोहमा प्रमुख अतिथि प्राध्यापक तथा समालोचक प्रा. डा. महादेव अवस्थीले दुवै स्रष्टालाई पुरस्कार प्रदान गरे।

प्राडा रामप्रसाद ज्ञवाली र प्राडा देवी नेपालको संयोजनमा २०७५ सालदेखि सञ्चालित छन्द–तरङ्गले २०७६ सालदेखि विशिष्ट छन्दसाधना पुरस्कार र २०७९ सालदेखि युवा प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ। वरिष्ठ छन्दसाधकलाई सम्मान गर्ने अभियानमा युवा प्रतिभालाई समेत जोडेर यसले दुई पुस्ताबीच सिर्जनात्मक सम्बन्ध विस्तार गर्दै आएको छ।

अभियानका संस्थापक तथा संयोजक देवी नेपालका अनुसार रामप्रसाद ज्ञवाली र उनीबीचको दुई दशक लामो सिर्जनात्मक सहयात्रालाई छन्द–तरङ्गमार्फत संस्थागत गरिएको हो। सुरुमा प्रवेश शुल्कसहित छन्दकविता वाचन र श्रवण कार्यक्रम सञ्चालन गरिएको थियो। १९ शृङ्खलासम्म निरन्तर चलेको उक्त कार्यक्रम कोभिड–१९ का कारण रोकिए पनि पुरस्कार वितरणलाई भने निरन्तरता दिइएको छ।

नेपाल तथा अमेरिका, इजरायल र नर्वेमा रहेका छन्दप्रेमी र साहित्यिक व्यक्तित्वको सहयोगमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको नेपालले बताए। उक्त कोषको ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट छन्दसाधकलाई ४० हजार रुपैयाँ र एक जना युवा छन्दसाधकलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिँदै आएको छ।

पुरस्कार वितरणलाई मौलिक सांस्कृतिक परम्परासँग जोड्नु छन्द–तरङ्गको अर्को विशेषता हो। पुरस्कृत स्रष्टालाई दोसल्ला र ढाकाटोपी पहिर्‍याएर नेपाली थैलीमा नगद अर्पण गरिन्छ भने सम्मानपत्र कवितात्मक शैलीमा तयार पारेर वाचन गर्ने परम्परा छ।

कार्यक्रमका सभाध्यक्ष प्राडा रामप्रसाद ज्ञवालीले छन्द–तरङ्ग छन्दकविताको स्तरीकरण र मानकीकरणसँगै साहित्यिक सिर्जनामा अनुशासन, समर्पण, साधना र युगीन दायित्वबोध विकास गर्ने अभियान भएको बताए।

कार्यक्रममा कवि दिनेश पाण्डेले छन्द–तरङ्ग गायन प्रस्तुत गरेका थिए भने युवा स्रष्टा सरोज घिमिरेले सञ्चालन गरेका थिए। समारोहमा दुई सयभन्दा बढी साहित्यकार सहभागी थिए।

२०७६ सालदेखि प्रदान गरिँदै आएको विशिष्ट छन्दसाधना पुरस्कार यसअघि रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, घनश्याम कँडेल, रामचन्द्र भट्टराई, भुवनहरि सिग्देल, गोविन्दराज विनोदी र नवराज लम्सालले प्राप्त गरिसकेका छन्। त्यस्तै, २०७९ सालदेखि प्रदान गर्न थालिएको युवा प्रतिभा पुरस्कारबाट सुदेश सत्याल, कविराज पौडेल र रूपक अलङ्कार सम्मानित भइसकेका छन्।

ट्यागहरू:
साहित्य# छन्द #कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।