‘नारायण गोपाल स्मृति साँझ’मा राज सिग्देलको प्रस्तुति
झापा, १२ मङ्सिर / नेपाली आधुनिक सङ्गीतका स्वरसम्राट नारायण गोपालको स्मृतिमा आगामी मङ्सिर १९ गते बिर्तामोडमा ‘नारायण गोपाल स्मृति साँझ’ आयोजना हुने भएको छ। कार्यक्रममा राष्ट्रियस्तरका गायक राज सिग्देलको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
नारायण गोपालको ३६औँ स्मृति दिवसका अवसरमा बिर्तामोडस्थित लिटल फ्लावर स्कुलको सभाहलमा आयोजना हुने कार्यक्रममा झापाका स्थानीय कलाकारहरूले पनि प्रस्तुति दिने नारायण गोपाल स्मृति प्रतिष्ठान झापाका अध्यक्ष राजकुमार पोखरेलले जानकारी दिए।
नारायण गोपालले नेपाली आधुनिक सङ्गीतमा पुर्याएको योगदान र उनका कालजयी गीतको महत्त्व नयाँ पुस्तासम्म पुर्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रतिष्ठानकी सचिव भीमा शिवाकोटीले बताइन्। उनका अनुसार नारायण गोपालका सिर्जनाको स्मरण गर्दै नेपाली आधुनिक सङ्गीतको मौलिक पहिचान र सांगीतिक विरासतलाई जीवन्त राख्न स्मृति साँझ आयोजना गर्न लागिएको हो।
प्रतिष्ठानले नारायण गोपालको सांगीतिक योगदानको सम्मान र स्मरणका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ। आयोजकले सङ्गीतप्रेमीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।