सुधिर थापाको पञ्चचामर छन्दको कविता : रचेर दिव्य सिर्जना
सकूँ म लेख्न काव्य यो गरेर नित्य साधना
म डुब्न सिक्छु भावमा रचेर दिव्य सिर्जना
अझै छ जान्नु यो कला कुँदेर ज्ञान शिल्पमा
गरेर काव्य सिर्जना अथाह यत्न साथमा
टिपेर शब्द कोपिला उनेर ज्ञान भित्र यो
झिकेर सार तत्व नै डुबेर सिन्धु भित्रको
भरेर ज्योति ज्ञानको उषा समान झल्किदै
पवित्र बन्छ देह यो निशा हटेर अल्पिदै
विशाल बन्छ फाँट नै छराैँ न काव्य सिर्जना
पुगिन्न लाग्छ लक्ष्यमा गरेर मात्र कल्पना
यहीँ छ भित्र खोतले अथाह ज्ञान चक्षुले
हुनेछ के हुँदैन झन् पवित्र शुद्ध वस्तुले
छ भित्र भित्र वासना फुलेन मिल्छ फूलमा
नसोच्नु बुद्ध भेटियो कुनै अशुद्ध कूलमा
जलेर जान्छ जिन्दगी बलेर निभ्नु पर्दछ
गरे न दिव्य सिर्जना अनन्त ज्योति छर्दछ
म लेख्छु काव्य पातमा म लेख्छु काव्य रातमा
असंख्य शब्द पोखिए टिपेर शीत हातमा
विचित्र चित्र बन्छ यो सजीव हुन्छ सिर्जना
अनेक विम्ब भित्र यो रचेर दिव्य सिर्जना ।
काठमाडौं