कविता उन्मुक्त हाँसो - प्रकाशचन्द्र खतिवडा
अब लेख्ने छु म
उदासिएका मनका कविता
जिन्दगीबाट हरेश खाएका
मान्छेहरुका सपना बोकी
उन्मुक्त हाँस्न सक्दैन मान्छे
खुसीहरु खोसिन्छन
हाँसोहरु लुटिन्छन्
एकाएक मृत्युले लखेटे पछि ।
आमाको च्यातिएको गुन्यु
बाका फाटेका पैताला
आशा उम्रन्छन, अनि मर्छन्
जिन्दगीको दुःखद यात्रा सम्झेर
आशाराम र धनीमाया
लामो सुस्केरा हाल्छन्
परदेशिएको छोराको प्रतीक्षामा
चौतारीको फलैचा कुर्छन्
हरेक साँझ मधुरो टुकीको प्रकाशमा
जिन्दगीको हिसाब खोज्छन्
शून्य अनि शून्यमा हिसाब टुङ्गि जान्छ
चार बीसको लामो आयुलाई साक्षी राख्दा पनि
जीवनको उज्यालो भेट्न नसके पछि
अँध्यारोमै रुमल्लिएर
आशाराम र धनीमाया
हराएको सपना खोज्छन् ।
पोखरीमा पानी जमेको छ
पौडदैनन माछाहरु
कराउँदैनन भ्यागुताहरु
जुनकिरीहरु बल्दैनन
ढुङ्गाले हान्न पाए हुन्थ्यो
पोखरीमा छाल उठ्ने गरी
अनि खोज्न हुन्थ्यो जीवन
पोखरीको गहिराइमा पसी ।
के लेख्नु देश जलेको कथा ?
जीवन बुझ्नै नपाइ बुढ्यौलीले छोपेको कथा
तन्नेरी छु भन्दा भन्दै केश पाकेको कथा
बाँच्छु भन्दा भन्दै खोसिएको जिजीबिषाको कथा
मान्छको आयु खोसिएको छ
कसरी लेख्नु जीवनको कथा ?
सुनाउन मिल्ने कथा छैन
गाउँन मिल्ने गीत छैन
गाँस्न मिल्ने प्रीत छैन
साट्न मिल्ने जीवन छैन
म लेखि रहेछु उदास मनका कविता
जो सँग जीवनको परिभाषा छैन ।
कति लेख्ने जीवन पराजयको कथा ?
आँधी बेहरी आउँछ जीवनमा
लेख्नु पर्छ साहसको कथा
खोज्नु पर्छ दृढ गन्तव्य
जित्नु पर्छ जीवनको दौड
आउ
उन्मुक्त हाँसौ
मृत्युलाई लघारेपछि ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५