देवकोटाका निबन्धमा विनोदीसहितको व्यङ्ग्योक्ति स्वर

नूरज भट्टराई 'नदी' · कार्तिक २३, २०८३ ७:४५ AM
Cover Image for News

विषयको उठान :-

नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराका केन्द्रीय प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटा ( वि सं.१९६६ - २०१६) मूलतःकवितामा वाङ्मय हुन् भने निबन्धमा साहित्य हुन् । कविताकै बृहतरूप भएर महाकवि बन्न सफल भए भने निबन्धमा सहयात्री शिखर प्रतिभा हुन् । नाटक , कथा , निबन्ध तथा फुटकर कविता ( अङ्ग्रेजी अनुदितसमेत ) र झिल्का मात्र भए पनि "चम्पा " उपन्याससम्म फैलिएका छन् । आजको सन्दर्भ भने निबन्धकार लक्ष्मीप्रसाद देवकोटाको हास्यव्यङ्ग्य निबन्धसँग सम्बन्धित रहेको छ । नेपाली साहित्यमा उनका हराएका , छोडिएका , लिपिबद्ध हुन नसकेका साथै हालसम्म प्रमाणसहित प्रकाशन हुन बाँकी रहेका र मेरो अध्ययन क्षेत्र कम भएको आधारमा जम्मा तीनवटा निबन्धसङ्ग्रह - जसमा लक्ष्मी निबन्धसङ्ग्रह २००२ ( ३७ वटा ) , दाडिमको रुखनेर २०३९ ( प्रा. राजेन्द्र सुवेदीको सम्पादनमा -१८ वटा ) र डा.गङ्गाधर अधिकारीका अनुसार वि.सं.२०६६ सालमा शिव रेग्मीको सम्पादनमा महाकवि देवकोटाका निबन्धहरू सङ्ग्रहको रूपमा ( अङ्ग्रेजी अनुदितसहित ) १५ वटा गरी जम्मा ७० रहेका छन् । यसरी हेर्दा देवकोटाका जम्मा ५० वर्षको आयुमा करिब २३ वर्षको समय ( १९९३-२०१६ ) निबन्ध विधामा नै खर्चिएको देखिन्छ । नेपाली साहित्यमा वि.सं. १८३१ को पृथ्वीनारायण शाहको "दिव्योपदेश" नेपाली निबन्धको प्रारूप मानिन्छ भने देवकोटाको वि .सं . १९९३ साल कार्तिक महिनाको शारदा पत्रिकामा छापिएको " असारको पन्ध्र" लाई नै आधुनिक निबन्धको सूत्रपात मानिन्छ । देवकोटाको लक्ष्मी निबन्धसङ्ग्रहभित्र संग्रहित केही लहडबाजी निबन्धहरू जस्तै - भलादमी , हाई हाई अङ्ग्रेजी र गधा बुद्धिमान कि गुरु ? , निबन्धमा छेडछाड गरिएका व्यङ्ग्योक्ति स्वरलाई छोटकरी चर्चा गर्ने जमर्को गरेको छु । यी निबन्धहरूमा हास्यभन्दा पनि व्यङ्ग्य ज्यादा छन् । देवकोटाले समाजमा हुने गरेका विकृतिविसङ्तिअन्तर्गत , मानवीय मनोग्रन्थी, भाषाप्रतिको गलत मोह , मानवीय चरित्रको अभावमा हराएको भलादमीपन , बौद्धिक आडम्बरको पर्दाफास आदि विषयवस्तुमाथि आफ्ना विचार ठट्यौली पारामा प्रस्तुत गरेका छन् । यीनै ती निबन्धहरू भलादमी, गधा बुद्धिमान कि गुरू ? र हाई हाई अङ्ग्र्जी माथि सामान्य चर्चा गर्नेछु । नेपाली साहित्यमा लहडबाजी व्यङ्ग्य प्रस्तुत गर्ने परम्परा नौलो होइन धेरै गम्भिर नभईकन सानै विषयवस्तु, थोरै चिन्तन र थोरै समयमा सत्य स्थापनाको निम्ति झटारो हान्न पल्केका देवकोटालाई विनोदी व्यङ्ग्य प्रस्तुत गर्न कतै ट्युशनजीवी बन्नै परेन । हास्य त केवल व्यङ्ग्य स्वीकार्न गरिएको तयारी अवस्था मात्र हो । हास्य र व्यङ्ग्य प्रवृति निर्माणका सृष्टिकर्ता हुन् समग्र रचनामा तर व्यङ्ग्य मात्र एक्लैले पनि देवकोटाका निबन्धमा सृष्टि सम्हालेको पाइन्छ त्यसै पनि उनी पोथी गद्यका सर्जक हुन् । 

हास्य र विनोदी व्यङ्ग स्वरको आधारशिला -

समाजमा विद्यमान संरचनाभित्र रहेका सामाजिक , आर्थिक , साँस्कृतिक , राजनीतिक र थार्मिक आदि विषयवस्तुमाथि सत्यको खोजीको निम्ति साहित्यका विभिन्न विधामार्फत स्वस्थ्य र हास्यव्यङ्गात्मक शैलीको बक्रोक्तिपूर्ण आलोचना प्रस्तुत गर्नु व्यङ्गोक्ति स्वर हो । हास्य भन्नाले एउटा रस हो । जुन पूर्वीय साहित्यशास्त्रमा विभाजन गरिएको स्थायी भावबाट परिपाकमा पुग्ने नौवटा रसमध्ये एक हो । अर्थात् हास्य भन्नाले मानवीय हृदयको चित्तचौतारोमा उभिएको उज्यालोको ज्योतिपुञ्ज हो । त्यसैगरी व्यङ्ग्य भन्नाले कुनै पनि विधामा प्रयोग भएर बक्रोक्तिपूर्ण अर्थ प्रधान गर्ने कला व्यङ्ग्योक्ति हो । अर्थात् अविधा अर्थमा नभई लक्षणा र व्यञ्जनाको सहयोगले व्यक्त गरिएको अभिव्यक्तिलाई व्यङ्ग्योक्ति स्वर भनिन्छ । त्यसो त हास्यव्यङ्ग्य रचनालाई साहित्यको विधा मान्ने नमान्ने शर्तमाथि विभिन्न विद्वान्हरूबिच अनेक मत-मतान्तर पाइन्छन् तर यो साहित्यको कुनै विधा नभएर विभिन्न प्रमाणित विधामा समावेस भएको प्रस्तुतीकरणको शिल्प वा प्रवृत्ति मात्र हो भनिएको छ । "हास्यव्यङ्ग्य एउटा प्रवृत्ति मात्र हो , विधा होइन ।" - डा. राजेन्द्रप्रसाद पौड्याल । " हास्यव्यङ्ग्य एउटा प्रस्तुतीकरणको शिल्प मात्र हो ।" प्रा. राजेन्द्र सुवेदी । "हास्यव्यङ्ग्य भाव प्रस्तुतीकरणको मिठो तरिका हो ।"- नरनाथ लुईटेल । फ्रान्सेली निबन्धकार मोल्टेनको विचारलाई पछ्याएका देवकोटा निजात्मक निबन्धका धरोहर हुन् । उनका निबन्धका स्रोत पनि प्रकृति हो । प्रकृतिलाई सत्य मान्छन् भने सबै विज्ञानका भौतिक आधारहरू पूर्वीय चिन्तन र सभ्यता हुन् भन्ने चिन्तनमा विस्वास राख्दछन् । निबन्धको परिभाषा धेरै र फरक किसिमका भए पनि उनका निबन्धहरू नेपाली निबन्ध फाँटका असली परिचय हुन् । रूसोको Back to nature "प्रकृतितिर फर्क " को सिद्धान्तमा आधारित भएर लेखेका कृतिहरू प्रसस्तै पढ्न पाइन्छन् । 

देवकोटा आफैभित्र एउटा गणित हुन् र सरलीरण पनि । न उनीसँग समय छ न त समयसँग गुनासो नै छ । सबै विषय र चिन्तनलाई सुँगाझै रट्नुपर्छ र गतिलो बनिन्छ भन्ने सामाजिक मान्यतालाई बहिस्कार गरेर अगाडि बढेका स्रष्टा र द्रष्टा हुन् । कुन बेला के कुराले छुन्छ र के भन्न वा लेख्न सकिन्छ लेखिहान्ने उनको असाधारण प्रवृति थियो । उनको लेखाइले कसको दिमागको आयतनमा कति स्केलको भूमिकम्प जान्छ त्यो स्वयम् भोग्नेले पनि थाहा पाउन्न । समाज के कुराले समाज बन्छ वा बनेको थियो र हाल कसरी चलरहेको छ वा त्यो समाजमा कस्ता पात्र वा चरित्रको हावी भएको छ भन्ने बुझ्न देवककोटालाई कुनै बेर नै लागेन । व्यक्ति असल भए समाज असल हुन्छ नै तर असलको फसलमा किराको राज्य अनुमोदन भएपछि देवकोटाले त्यस्ता व्यक्तिहरूलाई भलादमीको फुली थपिदिए । दिल खोलेर हृदयको तरङ्ग स्वासप्रस्वासको आरोहअवरोहलाई ज्वारभाटामा परिणत गर्दैमा मात्रै हास्य रस हन्छ भनेर बुझ्नु तर फिस्स ब्रक्री मुस्कुराउदा जिन्दगीभरिलाई व्यङ्ग्य पुग्छ भनेर नबुझ्नु नै देवकोटाको व्यङ्ग्योक्ति हो । आधुनिकताको नाममा भलादमीपनले शिखर चढेपपछि साँस्कृतिक चेतनाको मूल खाँबो ढल्छ मूल ढलेपछि व्यक्ति व्यक्ति रहन्न । समाज खोक्रो बन्छ तर अस्तित्व त गुदीसहितको मात्र संभव छ । त्यसैले वनावटी लवज र वनावटी तामझाम बोक्रामा मात्र हरने भएकाले हामीसँग भएको भलादमीपन कति शुद्ध छन् या छैनन् उनको भलादमी निबन्धमा पढ्न पाइन्छ । कसैले भलादमीपन सत्यमा भेट्न छाडे सत्य भेट्न हृदयको मखमली चिन्तन सुकिलो हुन जरुरी छ । अभाव , अशिक्षा , रोग ,भोक र शोकको चपरीलाई वनावटी रेशमी पर्धाले ढाकेर ताकेको महत्वकांक्षा नै भलामीको खास परिचय बनेको छ आजकल । भलादमी भन्नु असल र चरित्रवान् बन्नु हो । जति छन् भलादमी ती त विगतमा पो थिए वर्तमानमा भने बाहिरी आवरणको रङमा मात्र भेटिन्छन् भलादमीहरू । भलादमीपन न पुरानो हुन्छ न खिइएर जान्छ न यसलाई रङरोगनको आवश्यकता नै पर्छ तर देवकोटाले भलादमी भनाउदाहरूलाई यसरी बढारिदिए " 

चरित्रका भलादमी अतीतका अँध्यारा कोठेरीमा छन् , रङ र रेशमी भलादमी काठमाण्डाैको गल्लीमा खुस्बु उडाइरहेका छन् । जमाना रङ बदलन्छ । " 

"तिमी भलादमी बन्न चनाहन्छौ भने सिधासाधा मानिसको कोरापनलाई दर्जीकहाँ गएर काँटछाँट गरिमााग ।"

कोही बोलेर भलादमी बनेका छन् भने कोही शरीर रङ्ग्याएर त कोही नयाँ हाँसो हाँसेर । कोही अत्तरको खुस्बु उडाएर कोही स्त्री/ पुरुषको कटाक्ष तेर्स्याएर भलादमी बनेका छन् । कसैको हाँसो नै कलकताबाट खरिद गरिएको र कुनै समयमा बक्बकोपाध्यायको प्रमाणपत्रसमेत प्राप्त हुने जानकारी देवकोटाले सुझाएका छन् । साहित्य क्षेत्रमासमेत भलादमीहरूको अभाव छैन भन्छन् -"तिमी हृदयमा आशन जमाउदैनौ , आँखा मात्र तिर्मिर्याउछौ , भित्र हेर्न छाडेर बाहिरको विचार गर्ना साथ तिमी साहित्य देशमा गल्लीको बोक्रे भलादमी बनिहाल्छौ ।" भलादमी पृष्ठ ७३

समाजमा यस्ता नक्कली आवरणलाई चीरहरण एउटै सुइरोरोले पार्न सक्ने क्षमता बोकेर पनि न कुनै दम्भ पाल्छन् न आत्मश्लाघा ! त्यसैलाई समाज सुधारको साध्य सम्झेर चूप लागेर पनि बसेनन् देवकोटा । दाजु लेखनाथको अङ्ग्रेजीबाज देखेर आफ्नी आमाको वचन पूरा गर्न कुनै समय उनी १८ घण्टासम्म ट्युशनजीवी बनेकै हुन् । तर ती कर्म धेरै रोजीरोटी थियो , केही रहर थियो , केही शैक्षिक प्रमाणपत्रको लगानी र सम्मान थियो तर त्यो सबै मातृभाषासहितको स्वाभिमान थियो । आवश्यकतामा अङ्ग्रेजी हाई हाई नै थियो सर्वस्व थिएन । उनीसँग प्रभाव र रवाफ दुवै थियो तर प्रयोगको सीमा र अभिव्यक्तिमा संयमता प्रसस्तै थियो । हाई हाई अङ्ग्रेजीमा देवकोटाले पूर्णरूपमा अनुभवको आधारशिला खडा गरेर भाषाको प्रयोग र प्रयोजनको सीमा निर्धारण गरेर मात्र आफ्नोपन बचाउन सकिने नत्र अङ्ग्रेजी भाषाकै माध्यमबाट हामी हामी नरहने र नेपाल र नेपालीको गर्वबोधसमेत नरहने कुरालाई ध्यानमा राखेर व्यङ्ग्योक्ति प्रहार गरेका छन् अझ भनौँ जव उनलाई अङ्रेजी भूतले पछ्याउन थाल्यो त्यो बेला सम्पूर्ण दैनिकी नै विर्सिएको अनुभवसमेत बाँडेका छन् । अङ्ग्रेजी बोल्न र लेख्न सक्ने व्यक्ति मात्र व्यक्ति वा मान्छे बन्ने त्यो समयको परिपाटीलाई देवकोटा हेयको चस्माले हेरी प्राचीन सहअस्तित्वलाई स्थापित गर्न चाहन्छन् यो नै यसको मुख्य उद्देश्य पनि हो । तर अङ्ग्रेजीको प्रभावमा यसरी चिप्ल्याएका छन् "ग्राजुएटका निमित्त कृष्णजी पुराना कथाका राजा हुन्छन् । भागवतमा सच्चा हुँदैनन् , व्यास ठग बन्दछन् । पशुपतिनाथ ढुङ्गा हुन्छन् । पुराणहरू चलाकी तर्सावट बन्दछन् , स्वर्ग शुन्य हुन्छन् । वेदको सत्यता हराउछन् , पूर्खाहरू मूर्ख बन्छन् ।" 

" अङ्ग्रेजी पढ्नलाई कुलीनका छोरी छन् । .....व्यापारका केन्द्रमा पैसा , परराष्ट्रमा इज्जत , भाषानुवादमा वोलावट । रोटीमा नौनी , विदेशमा रवाफ स्वदेशमा धाक , साथीभाइहरूमा नाक । घण्टामा पचास , संसारमा सुवास हाईहाई अङ्ग्रेजी । .... पण्डितजीहरू चाउरिएर बस्दछन् ।"

हाईहाई अङ्रेजी पृष्ठ ५९/६० 

समयको मागअनुसार देवकोटा आफै कयौं पटक गुरु बनेँ समय र मान्छेका स्वीकारोक्तिका निमित्त तर प्रकृतिको निमित्त उनी जहिल्यै पनि सात्त्विक चेला बनेँ र यसैलाई सर्वोपरि ठानेँ अनि उनी एक शिक्षकले शिक्षार्थीलाई गरेको सम्बोथनप्रति घोरिन न बाध्य हुन्छन् । मान्छे उच्च प्राणी भनिनु तर एउटा अबोध अनि कर्तव्यपरायण प्राणीको नाम पैँचो मागेर शिक्षार्थीलाई दिईने शिक्षा कति सही होलान् ? एउटा निश्छल प्राणी गधा बलको प्रतीक मानिन्छ र कर्तव्यपरायणतामा निष्ठासहित बाँचेको छ तर उच्चता र बुद्धिमान्को आडमा शिक्षार्थीप्रतिको त्यो "गधा" सम्बोधनले हृदयमा पार्ने थिलथिलोपन कत्तिको अनुयायीमूलक लाग्ला ?" मलाई यस्तो लाग्यो कि संसार नबुझ्नु नै ज्यादा हो र विद्वत्ता पाण्डित्य भनेको त्यस मूर्खताको नाम हो जसले शब्द आडम्बरको तुरही दुनियामा बजाउछ । हामीले बेत खायौँ गधाको उपाधी पायोँ तर हामीलाई हाम्रा गुरुजीहरूले कति गधा जस्तो बनाइरहनुभएको थियो । त्यो जान्ने कि त हृदयभित्रको आत्मा कि त स्वर्गको परमेश्वर !" घाँस खानेले प्रकृतिको पथ छाडेन तर अन्न खाने पाप र धर्मको रौ केलाई गर्दागर्दै नरकमा हाम फाल्दो छ ।" 

" हामी असन्तुष्ट विद्यार्थीहरू गुरुजीसँग नम्र प्रश्न गर्दछौं हाम्रो मानव नाटीकुटी र अनन्त वेदनाको तीनपुछ्रे शास्त्र गधाभन्दा कति उपर होलान् ?" 

गधा बुद्धिमान कि गुरु ? पृष्ठ १०६/१०७

वास्तवमा निबन्धकार लक्ष्मीप्रसाद देवकोटाका यस्ता विनोदप्रिय निबन्धहरू रमरम हास्य र तीखो व्यङ्ग्य भएर पनि हालस्म उस्तै कालजयी बनेका छन् । जीवनको पूर्वार्द्धमा रुमानी शैलीलाई अपनाए पनि जीवनको उत्तरार्द्धमा भने बोद्धिक चिन्तनशील र प्रगतिशील पनि देखा परेका छन् । त्यसो त व्यङ्वाणको बाक्लो उपस्थित भने जीवनका अन्तिम क्षणका कविताहरूमा बढी छन् जस्तो - पागल , प्रभूजी भेँडो बनाऊ ! , साँढे , आदि अनगिन्ती छन् । राज्यसत्ताबाट पाएको पीडा देवकोटाले जस्तो अरूले भोगेनन् । अति स्वाभिमानी हुनु प्रमुख कारण हो । नेपाली साहित्यमा देवकोटा र उनका शब्दभण्डार पचेका कोइला हुन् अर्थात् मन्थन गरेर प्रयोगको भुक्तभोगी हुन् देवकोटा । 

भावपूर्ण श्रद्धाञ्जली कविजीप्रति ।

२२ कार्तिक २०८३ फिक्कल ,इलाम

सन्दर्भ सामग्री -

● लक्ष्मी निबन्धसङ्ग्रह-२००२ 

साझा प्रकाशन २०३२

● नेपाली साहित्यको इतिहास २०२७ ( डा.ताना शर्मा ) 

● दाडिमको रुखनेर- २०३९ ( प्रा.राजेन्द्र सुवेदीको सम्पादनमा)

● महाकवि देवकोटाका निबन्धहरू-२०६६( डा.गङ्गाधर अधिकारीका अनुसार शिव रेग्मीको सम्पादनमा)

● प्रा डा देवी नेपाल लेखन शिल्प २०७८ 

● देवकोटाको निबन्धकारिता एक सर्वेक्षण २०६६

डा.गङ्गाधर अधिकारी

● चूडामणि बन्धू २०६७ - देवकोटा , साझा प्रकाशन 

● शब्दकोष- नेपाल प्रज्ञाप्रतिष्ठान 

See less

 

ट्यागहरू:
literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू