नेपाली साहित्य र डायस्पोरा - ज्योति किरण

ज्योतिकिरण · असोज २४, २०८३ १२:१९ PM
Cover Image for News

परदेशको फरक भूगोल, नितान्त नौलो संस्कृति र यान्त्रिक जीवन पद्धतिमा बाँचिरहँदा सायद हरेक लेखकले पहिलो प्रश्न आफैँलाई सोध्छ, म को हुँ र मेरो लेखनको जरा कहाँ छ ? यो अस्तित्ववादी प्रश्नले नै डायस्पोरामा नेपालीपनलाई जन्म दिएको सहजै आकलन गर्न सकिन्छ तर वर्तमान वैश्विक परिप्रेक्ष्यमा नेपालीपन केवल भौगोलिक सिमाना वा एउटा राष्ट्रियताको पहिचानमा मात्र सीमित छैन । यो त चेतनाको त्यो आयाम हो, जसले प्रवासी भूमिमा उभिएर पुर्खाको विरासत, हुर्केको माटो र भोगेको संवेदनालाई नयाँ परिवेशमा पुनरुत्पादित गरिरहेको छ । हामी सुनिरहेका हुन्छौँ, प्रायः नेपाली डायस्पोराको साहित्यमा एउटा गम्भीर आरोप लाग्छ । यो केवल स्मृति र रोदनमा मात्र सीमित छ । वास्तवमा सुरुवाती चरणका डायस्पोरिक लेखनमा यो सत्य जस्तो देखिए पनि अहिले यसको आयाम बदलिएको छ । सुरुमा घर छोड्नुको पीडा, गाउँको सम्झना र आमाका अश्रुधारा साहित्यमा पोखिए । त्यो स्वाभाविक पनि थियो । अहिले यो त एउटा पुल बनेको छ, जसले काठमाडौँका गल्ली र न्युयोर्कका सबवे, पोखराका ताल र लन्डनको थेम्स नदीलाई एकाकार गराउँदै आएको छ ।

नेपाली लेखक प्रवासमा बसेर नयाँ भूगोललाई नेपाली आँखाले हेरिरहेका छन् । उनीहरूले विदेशी भूमिमा भोगेको जातीय विभेद, पहिचानको सङ्कट र उत्तरआधुनिक जीवनका जटिलतालाई नेपाली भाषामा उतार्दै छन् । त्यसैले अब डायस्पोरा रोदनबाट माथि उठेर बौद्धिक विमर्श र वैश्विक दृष्टिकोणतर्फ रूपान्तरित भइरहेको छ । यो नेपालीपनको सङ्कुचन होइन, बरु यसको वैश्विक विस्तार हो । हामीले गर्व गरिरहँदा एउटा यथार्थ हाम्रो सामुन्ने छ, जसबारे नेपाली साहित्य र नेपाली जातिबिच खास चर्चा भइरहेको छैन । ती हाम्रा दोस्रो र तेस्रो पुस्ता हुन्, जो डायस्पोराका नवपुस्ता क्रमशः नेपाली रैथाने भाषा, लिपि र रैथाने संस्कृतिबाट टाढिँदै छन् । उनीहरू अङ्ग्रेजी वा आफू हुर्केको देशको भाषामा बढी सहज छन् । उनीहरूका लागि नेपाल एउटा घुम्ने ठाउँ मात्र बन्ने खतरा छ । यस्तो अवस्थामा उनीहरूलाई नेपाली साहित्य, कला र संस्कृतिसँग जोड्न परम्परागत तरिका पूर्णतः असफल साबित भइसकेका छन् । हामीले उनीहरूमाथि जबरजस्ती नेपाली भाषा लाद्न सक्दैनौँ । त्यसैले स्पष्ट र आधुनिक मार्गचित्र निर्माण गर्न आवश्यक छ । डायस्पोराका नवपुस्तालाई नेपाली संवेदना बुझाउन सुरुमा उनीहरूकै भाषाको प्रयोग गर्नु अनिवार्य जस्तै बनेको छ । नेपाली लोककथा, इतिहास र दर्शनलाई अङ्ग्रेजीमा अनुवाद गरी बालसाहित्य र तन्नेरी साहित्यका रूपमा प्रस्तुत गर्नु अनिवार्य छ । नवयुवा पुस्ता स्क्रिनमा बाँचिरहेको छ । नेपाली इतिहास, संस्कृति र साहित्यका मियोलाई एनिमेसन, कमिक्स, पोडकास्ट र वृत्तचित्रमार्फत प्रस्तुत गरिनु पर्छ । मुनामदन, किराँत मुन्धुम वा बुद्धको दर्शनलाई आधुनिक ग्राफिक नोबेलमा ढाल्न सके उनीहरू आकर्षित हुन सक्छन् ।

गैरआवासीय नेपाली संस्थाले विभिन्न कार्यक्रममार्फत युवापुस्तालाई नेपालका ग्रामीण भेग, कलाशाला र ऐतिहासिक स्थलको अध्ययन भ्रमण गराउने संस्थागत संयन्त्र प्रभावकारी हुन्छ । संस्कृति अपरिवर्तनीय वस्तु होइन, यो प्रवाह हो । नवपुस्ताले नेपालीपनलाई आफ्नै तरिकाले, आफ्नै भाषामा व्यक्त गरे पनि त्यसको भित्री मर्म नेपाली नै रहन सक्छ भन्ने उदारता देखाउनै पर्छ । एउटा प्रवासी लेखकको अन्तरमन पक्कै पनि सधैँ एउटा अनौठो द्वन्द्वमा बाँचिरहेको हुन्छ । एकातिर उसको अचेतन मनमा रैथाने नेपाली माटोको सुगन्ध, गाउँको चौतारी, रोधीघर, देउडा, असारे गीत र पुर्बेली भाकाको गहिरो प्रभाव हुन्छ । अर्कातिर उसले दैनिक रूपमा भोगिरहेको देशको उत्तरआधुनिक परिवेश जहाँ यान्त्रिकता छ, उपभोक्तावाद छ, नितान्त व्यक्तिवाद छ । अस्तित्वको अनवरत दौड छ । 

पश्चिमा देशको व्यस्त कफी सपमा बसेर ल्यापटपमा कथा टाइप गरिरहँदा, त्यो कथाको पात्रले मुस्ताङको भोटेल्चोमा याक चराइरहेको हुन सक्छ वा खाडीको मरुभूमिमा बसेर रोइरहेको हुन सक्छ । यो विपरीत ध्रुवको मिलनविन्दु नै वास्तवमा डायस्पोरिक साहित्यको सबैभन्दा बलियो र सुन्दर पक्ष हो । यसले नेपाली साहित्यलाई परम्परागत ढाँचाबाट मुक्त गरेर आधुनिक र बहुआयामिक बनाउन मद्दत गरेको छ ।

पछिल्लो समय गैरआवासीय नेपालीबाट गुणात्मकभन्दा सङ्ख्यात्मक रूपमा धेरै कृति प्रकाशन भइरहेका छन् भन्ने आरोप लागिरहेको छ । प्रवासमा बस्ने धेरैमा आफ्नो नामको पुस्तक होस् र समाजमा पहिचान बनोस् भन्ने एउटा तीव्र इच्छा हुन्छ । यही आत्मसन्तुष्टिको चाहनाले गर्दा पुस्तक प्रकाशन बढेका छन् । योभन्दा गम्भीर विषय संस्थागत रूपमा कृति विमोचन र पुरस्कार वितरणको बाढी छ । यसको प्रत्यक्ष असर साँचो अर्थको साहित्यिक समालोचनामा परेको छ । समालोचना ओझेलमा मात्र परेको छैन, यो प्रशंसापत्रमा सीमित छ । पुस्तक राम्रो छ कि छैन भन्ने कुराको मूल्याङ्कन उसको शब्द, शिल्प र विचारबाट होइन, बरु लेखकको सामाजिक हैसियत र उसको सम्पर्क सञ्जालबाट हुन थालेको छ । यस विकृतिलाई अन्त्यका लागि आत्ममूल्याङ्कन गर्नै पर्छ । डायस्पोराका सङ्घ संस्थाले पुरस्कार र सम्मानको सस्तो वितरणलाई रोकेर विशेषज्ञ समिति बनाउनु पर्छ । जबसम्म कृतिको निर्मम शल्यक्रिया गर्न सक्दैनौँ, तबसम्म डायस्पोरिक साहित्यले मूलधारको नेपाली साहित्यमा वा वैश्विकस्तरमा विशिष्ट स्थान बनाउन सक्दैन ।

डिजिटल युग र वैश्वीकरणले नेपाली साहित्यलाई अभूतपूर्व अवसर दिएको छ । फेसबुक, युट्युब, अनलाइन पोर्टल र ईबुकका कारण संसारको जुनसुकै कुनामा बसेको लेखकले लेखेको रचना सेकेन्डभरमा काठमाडौँ वा सिड्नीमा पढ्न सकिन्छ । भौगोलिक दुरी अब साहित्यिक दुरी रहेन तर के यसले प्रवासमा रहेका नेपाली लेखकलाई साँचो अर्थमा मूलधारको नेपाली साहित्यसँग जोड्न सकेको छ त ? यसको उत्तर जटिल छ । डिजिटल माध्यमले भर्चुअल साझा मञ्च त दिएको छ तर अर्कोतर्फ यसले एउटा गहिरो अलगाव पैदा गरेको छ । प्रवासका लेखक धेरै जसो आफ्नै ससाना डिजिटल ग्रुप वा डायस्पोरिक संस्थाको घेराभित्र सीमित छन् । मूलधारको नेपाली साहित्य (जुन नेपालभित्रै सिर्जना भइरहेको छ । र यहाँको सामाजिक राजनीतिक आन्दोलनसँग जोडिएको छ) सँग डायस्पोराको संवाद अझै पनि सतही छ । प्रवासका लेखक डिजिटल माध्यममा सक्रिय छन् । उनीहरू नेपालमा भइरहेका समकालीन विमर्श, नयाँ वैचारिक आन्दोलन र भाषिक प्रयोगबाट कता न कता कटेका देखिन्छ । तसर्थ डिजिटल माध्यमको प्रयोग केवल आफ्नो रचना पोस्ट गर्नका लागि मात्र होइन, बरु मूलधारका लेखक, पाठक र चिन्तकसँग जीवन्त संवाद र वैचारिक बहसका लागि गरिनु पर्छ । 

नेपाली साहित्य संसारकै उत्कृष्ट साहित्यको सूचीमा पर्न सक्ने क्षमता राख्छ । देवकोटाका महाकाव्य, बिपी कोइरालाका मनोवैज्ञानिक कथा, पारिजातको ‘शिरीषको फूल’ उपन्यास वा समकालीन लेखकका उत्कृष्ट कृति विश्व साहित्यका वर्गीकृत कृति सरह छन् तर हामी वैश्विक पाठकमाझ पुग्न सकेका छैनौँ । यसको मुख्य कारण हो, गुणस्तरीय अनुवादको अभाव । गैरआवासीय नेपाली सङ्घ र अन्तर्राष्ट्रिय क्षेत्रमा च्याउसरी उम्रेका नेपाली साहित्यिक संस्थाले यसबारे के गरिरहेका छन् त ? स्पष्ट भन्नुपर्दा उनीहरूको पहल निकै फितलो र तदर्थवादी छ । एकाध पुस्तक अनुवाद हुनु वा एकाध गोष्ठी गरिनु पर्याप्त होइन । नेपाली साहित्यलाई वैश्विक बजारमा लगेमा एनआरएनए र अन्य धनाढ्य डायस्पोरिक संस्थाले अनुवादकै लागि ठुलो अक्षयकोष स्थापना गर्नु पर्छ र यसलाई नेपाल सरकारले पनि मद्दत गर्नु पर्छ, जसको काम केवल उत्कृष्ट नेपाली कृतिलाई अङ्ग्रेजी, स्पेनिस, चिनियाँ वा फ्रेन्च भाषामा अनुवाद गराउनु होस् । अनुवाद केवल भाषाको रूपान्तरण होइन, यो संस्कृतिको रूपान्तरण हो । त्यसैले नेपाली र विदेशी दुवै भाषामा पकड भएका व्यावसायिक अनुवादकलाई काममा लगाउन सक्नु पर्छ । आफैँले अनुवाद गरेर आफैँले छापेर डायस्पोरामै बाँड्नुको कुनै अर्थ छैन । हाम्रा अनुवादित कृति पेन्गुइन, हार्परकोलिन्स वा म्याकमिलन जस्ता अन्तर्राष्ट्रिय प्रकाशन हाउसबाट प्रकाशित हुने वातावरण निर्माण गर्न लबिङ र लगानी गर्नु पर्छ ।

नेपाली लेखकले विदेशी भाषामा लेखिएको साहित्य ‘नेपाली साहित्य’ हो कि होइन ? डायस्पोरिक साहित्य लेखनमा यो आजको सबैभन्दा पेचिलो र गम्भीर प्रश्न हो । यदि कुनै विदेशी भूमिमा बसेर, विदेशी भाषामै नेपाली संवेदना, नेपाली परिवेश वा नेपाली पात्रमाथि साहित्य लेखिन्छ भने के त्यसलाई ‘नेपाली साहित्य’ मान्ने ? यसको परिभाषा र सीमारेखा कोर्नका लागि हामीले सङ्कुचित राष्ट्रवाद र भाषिक कट्टरताबाट माथि उठ्नु पर्छ । भाषा केवल एउटा माध्यम मात्र हो, साहित्यको आत्मा ‘संवेदना र चेतना’ हो । यदि सलमान रुस्दी वा अरुन्धती रोयले अङ्ग्रेजीमा लेख्दा उनीहरूको साहित्यलाई भारतीय साहित्य वा दक्षिण एसियाली साहित्य भनिन्छ भने काजुओ इसिगुरोले अङ्ग्रेजीमा लेख्दा उनको लेखनमा जापानी चेतनाको खोजी गरिन्छ भने नेपाली मूलका लेखकले अङ्ग्रेजीमा लेखेर नेपाली समाज, संस्कृति र मनोविज्ञानलाई संसारसामु उजागर गरे, उनीहरूको साहित्यलाई ‘नेपाली साहित्य’ को दायराभित्र किन नसमेट्ने ? तसर्थ यसको सीमारेखा निकै फराकिलो हुनु पर्छ । जहाँ नेपाली संवेदना छ, जहाँ नेपाली माटोको सुगन्ध वा नेपाली पहिचानको द्वन्द्व छ र जसले नेपाली सभ्यतालाई प्रतिनिधित्व गर्छ, त्यो जुनसुकै भाषामा लेखिएको भए पनि ‘नेपाली साहित्य’ हो । यसलाई हामी अङ्ग्रेजी भाषाको नेपाली साहित्य वा डायस्पोरिक नेपाली साहित्य भन्न सक्छौँ । यसले नेपाली साहित्यको सिमानालाई भूगोल र भाषाको बन्धनबाट मुक्त गराई विराट् बनाउँछ । 

अन्तर्राष्ट्रिय नेपाली साहित्यिक संस्थाको क्रियाकलापलाई नजिकबाट नियाल्दा एउटा कुरा स्पष्ट देखिन्छ । उनीहरू प्रायः तडकभडकपूर्ण उत्सव, ठुला ठुला सम्मेलन, रातो कार्पेट र एकअर्कालाई मानपदवी वा दोसल्ला ओढाउने काममा बढी केन्द्रित छन् । यसको कारण मनोवैज्ञानिक पनि छ । प्रवासको व्यस्त र एकाकी जीवनमा मानिसहरू एउटा यस्तो मञ्च चाहन्छन्, जहाँ उनीहरूले तत्कालै सम्मान र सामाजिक प्रतिष्ठा पाउन सकून् तर यो प्रवृत्तिले साहित्यको दीर्घकालीन हित गर्दैन । उत्सव आवश्यक हुन् तर ती केवल प्रतिष्ठा व्यवस्थापनको माध्यम मात्र बन्नु हुँदैन । विश्वभरका नेपाली लेखकको प्राज्ञिक विकास, गम्भीर अनुसन्धान र बौद्धिक बहसका लागि यी संस्थाले आफ्नो कार्यदिशा पूर्णतः परिवर्तन गर्नु आवश्यक देखिन्छ । के डायस्पोरिक साहित्यले आफ्नो मौलिक नेपाली पहिचान जोगाइराख्न सक्ला ? यो सबैभन्दा गम्भीर प्रश्न हो । यदि हामीले परम्परागत र सङ्कुचित रूपमा मात्र सोच्यौँ भने ५० वर्षपछि विकास हुने दोस्रो, तेस्रो पुस्तामा गैरआवासीय नेपालीको मौलिक पहिचान हराउन सक्छ तर यदि हामीले पहिचानलाई गतिशील तत्वका रूपमा स्वीकार गर्‍यौँ भने यसले एउटा नयाँ र समृद्ध रूप लिने छ । ५० वर्षपछिको लेखकले सायद नेपालको भूगोल नदेखेको हुन सक्छ तर उसको रगतमा र उसको पारिवारिक स्मृतिमा नेपाली दर्शन जीवित रहने छ । त्यो समयको साहित्य अझ बढी हाइब्रिड हुने छ । त्यहाँ नेपाली संस्कृति र पश्चिमा वा पूर्वीय अन्य संस्कृतिको यस्तो सुन्दर फ्युजन हुने छ, जसले विश्व साहित्यमा एउटा नितान्त नौलो धारको नेतृत्व गर्ने छ । मौलिक पहिचान पुरानो स्वरूपमा रहँदैन तर त्यो झन् बढी परिष्कृत, बौद्धिक र वैश्विक भएर जुर्मुराउने छ तर यसका लागि आजको पुस्ताले भोलिको पहिचान रक्षालाई ध्यान दिएर ठोस योजनामा आफूलाई हिँडाउन सक्नु पर्छ । विश्वभरि छरिएका नेपाली लेखक, चिन्तक र स्रष्टा एउटा ऐतिहासिक मोडमा उभिएका छन् । उनीहरू केवल एउटा प्रवासी नागरिक मात्र होइनन्, नेपाली सभ्यताका दूत पनि हुन् । उनीहरूका कलमबाट निस्कने हरेक शब्दले भविष्यको नेपाली साहित्यको जग निर्माण गरिरहेको छ । त्यसैले डायस्पोराले बौद्धिक चिन्तनको उज्यालोमा पाइला चाल्नै पर्छ । संस्थागत विकृतिलाई सच्याउँदै, नवपुस्तालाई डोर्‍याउँदै र अनुवादको माध्यमबाट विश्वबजारमा छिर्दै नेपाली साहित्यको विजयपताका फहराउनु पर्छ । यो गम्भीर विमर्श र आत्ममन्थन नै भविष्यको ५० वर्षपछिका पुस्ताका लागि एउटा बलियो ज्योति र मार्गदर्शक सिद्धान्त हुने छ । साहित्यको यो वैश्विक यात्रा अविराम छ र यसको भविष्य अत्यन्तै चम्किलो छ ।  

ट्यागहरू:
सहित्य svikarokti
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
जन्मसो चिन्तन - पुण्यप्रसाद खरेल
जन्मसो चिन्तन - पुण्यप्रसाद खरेल
पुण्यप्रसाद खरेल - बिहिबार ८ अक्टोबर २०२६
नाम लेख्ने समस्या - पुण्यप्रसाद खरेल
नाम लेख्ने समस्या - पुण्यप्रसाद खरेल
खगिन्द्रा खुसी - सोमबार २८ सेप्टेम्बर २०२६
शिक्षा र साहित्यको सम्बन्ध-पुण्यप्रसाद खरेल
शिक्षा र साहित्यको सम्बन्ध-पुण्यप्रसाद खरेल
खगिन्द्रा खुसी - बुधबार २ सेप्टेम्बर २०२६
`श्रीगणेश´
`श्रीगणेश´
पुण्यप्रसाद खरेल - मङ्गलबार २५ अगष्ट २०२६