जीबीएलओको देवकोटा जयन्ती विशेष ‘सृजना, स्रष्टा र संवाद’ कार्यक्रम सम्पन्न
२१ कात्तिक, झापा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाइरहँदा विश्व भूटानी साहित्यिक सङ्गठन (जीबीएलओ) ले देवकोटा जयन्ती विशेष कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको नियमित साहित्यिक शृङ्खला ‘सृजना, स्रष्टा र संवाद’ अन्तर्गत जुमका माध्यमबाट आयोजित कार्यक्रममा अमेरिका, नेपाल, बेलायत र डेनमार्कका साहित्यकार तथा स्रष्टाहरू सहभागी भएका थिए।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण धरावासीको प्र मुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रममा अमेरिका, नेपाल, बेलायत र डेनमार्कबाट सहभागी स्रष्टाहरूले कविता, गजल तथा अन्य साहित्यिक रचना वाचन गरेका थिए। अमेरिकाबाट जीबीएलओका कोषाध्यक्ष शेखर कोइराला ‘काकु’, वसुधा रिजाल, पत्रकार अर्जुन प्रधान, इन्दिरा प्याकुरेल, कुबेर शर्मा ‘भुवन्तरे’, अवि न्यौपाने ‘अभिषेक’ र भरत तिम्सिनाले सिर्जना प्रस्तुत गर्नुभएको थियो।
नेपालबाट बेलडाँगीका ‘मेरो कविता’ सिजन–१ का फाइनलिस्ट अविलाल राई तथा झापाकी शिक्षिका खगिन्द्रा खुसी र गजलकार रश्मि असफल सहभागी हुनुभएको थियो।
त्यसैगरी डेनमार्कबाट साहित्यकार सुदर्शन पोखरेल र बेलायतबाट विश्वासदीप तिगेला सहभागी हुनुभएको थियो। उहाँहरूले साहित्य, समाज र सिर्जनाका विविध पक्षमा विचार तथा सिर्जना प्रस्तुत गर्नुभएको थियो।
जीबीएलओका अध्यक्ष ‘पातलो अन्तरे’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम निर्देशक ईश्वर ढकालले गर्नुभएको थियो। संस्थाका सचिव दियालो सुसन माझीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सांस्कृतिक निर्देशक सरगम भारद्वाजले महाकवि देवकोटाको जीवन, व्यक्तित्व र नेपाली साहित्यमा उहाँले पुर्याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो।
कार्यक्रममा स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम् साम्पाङले पनि साहित्य, दर्शन र समाजका विषयमा आफ्ना विचार राख्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि धरावासीले “जहाँ रह्यो, त्यहीँको माटो, संस्कृति र परिवेश समेटेर साहित्य लेख्नुपर्छ,” धरावासीले भन्नुभयो। उहाँले प्रवासी साहित्यलाई जन्मभूमिको सम्झना र विस्थापनको पीडामा मात्र सीमित नराखी आफूले बाँचेको वर्तमान समाज र जीवनका अनुभवलाई पनि सिर्जनामा उतार्नुपर्ने सन्देश दिनुभयो।