नाम लेख्ने समस्या - पुण्यप्रसाद खरेल
मैले भनेथें– “त्यो पनि त बाबुको थर हो नि ! बाबु पनि लोग्नेमान्छे नै हो । अब कि आमाको थर सोधेर लेख्ने कि ? आमाको पनि मावलका हजुरबुबाको थर होला । मावलकी हजुरआमाको थर पनि बुढामावलका बुढाहजुरबुबाको थर होला । सम्झेर भन्नुस् त के लेख्ने ? ...” मैले भनेको थिएँ, “नेता भएर तपाईं नसुल्झिने समस्यामा नफँस्नोस् ! घाँस काट्ता हात काट्यो भनेर हँसिया समात्ने हातलाई हिर्काउँदा आफैंलाई दुख्छ । यो समाजका दुई हात हुन् पुरुष र नारी । दुबै नमिली घाँस काट्न सम्भव छैन ।”
म अहिले पनि नाम लेख्ने वारेमा घोरिन्छु । वास्तवमा हामीले त हाम्रा सेवाले, हाम्रा योगदानले चिनिनु पर्ने हो । डिग्रीले, हाम्रा जात–थरले, हाम्रा प्रमाणपत्रले चिनिनु पर्ने पक्कै होइन नै । ती प्रमाणपत्र कुनै पनि राष्ट्र र समाजका लागि योगदान गरेवापत पाएका होइनन् । ती त सदुपयोग गरेको खण्डमा अब सेवा गर्न सक्षमताका आधार मात्र हुन् ।
म अहिले पनि ती ऋषिमुनिहरू, महात्माहरू सम्झिन्छु । ती तीन–चार अक्षरी नामले चिनिने भएका छन् । विश्वामित्र, वृहस्पति, वशिष्ठ कुन जातका थिए ? न्यूटनको जात किन चाहियो ? आर्किमिडिसको जात के थियो के मतलब ? फ्लोरेन्स नाइटिङ्गेलको जात किन चाहियो ? कलमका आविष्कारक वाटरम्यान कुन जातका थिए ? हवाइजहाजका आविष्कारक राइट दाजुभाइ कुन जातका थिए ? भन्नुको तात्पर्य नाम चाहिन्छ तर जात त चाहिंदैन नै । त्यसकारण यो जात–थरको गलफती नगरे पनि त हुन्छ नि ।
म भन्छु, नामका पछि लेखिने त्यो थर वारे गलफती नगरौं । जुन लेखिरहेका छन् महिलाले त्यही थर लेख्ता दोहोरो फाइदा छ । ‘आमा’को नाम उल्लेख गर्दैखेरि मावली पनि जानिने थियो । यो दुई वटा थर लेखेर नामलाई भद्दा बनाउने चलन हटाउनु नै राम्रो । अझ दुई वटा थर लेख्ता कसैले एउटा थरलाई ब्राकेटमा लेख्छन् । कुन थर ब्राकेटमा लेख्ने र कुन बाहिर लेख्ने त्यो पनि भ्रम हुन्छ । अझ बुझाइमा समस्या हुन्छ । बरु सुरुको थर सधैं लेखिरहे समस्या सकिन्थ्यो । सकेसम्म नाम मात्र लेखेर यो थर लेख्ने चलन हटाए अझै राम्रो हुन्थ्यो ।