पूर्वबाट घन्किएको राष्ट्रनाद : देशभक्तिको पहिलो स्वर- राजन न्यौपाने
हाम्रा साँझहरु पछिल्लो समय बडो कोलाहलपूर्ण हुन थालेका छन्। गीतहरु मनोरञ्जनका सामग्रीमा खुम्चिएका छन्। मञ्चहरु भाषणले थिचिएका छन्। यस्तै कोलाहलबाट अलग, झापाको विर्तामोडबाट गत शुक्रबार साँझ एउटा फरक नाद सुनियो - 'राष्ट्रनाद'।
डाइनामिक ग्रुप नेपाल, सप्तक सङ्गीत विद्यालय विर्तामोड तथा नेपाली साहित्य डटकमको संयुक्त आयोजनामा भएको यो कार्यक्रम सम्भवतः नेपालकै पहिलो यस्तो कार्यक्रम थियो, जहाँ देशभक्तिका नाममा एक शब्द पनि भाषण गरिएन, केवल देशभक्ति गाइयो।
परिकल्पनादेखि सहकार्यसम्म : तीन संस्थाको त्रिवेणी
यो राष्ट्रनाद एकाएक घन्किएको होइन। यसको पछाडि एउटा सुन्दर सहकार्यको कथा छ।
यस कार्यक्रमको बीउ रोप्ने काम डाइनामिक ग्रुप नेपालले गरेको हो। सामाजिक, साहित्यिक तथा सांगीतिक कार्यक्रम निरन्तर गरिरहेको एउटा अलग्गै संस्था हो - डाइनामिक ग्रुप नेपाल। फरक र सिर्जनात्मक काम गर्ने पहिचान बनाएको यस समूहले "अब भाषण होइन, गीत गाएर देशभक्ति जगाऔं" भन्ने आँटिलो परिकल्पना गर्यो।
त्यो परिकल्पनालाई "गरौं, हामी सँगसँगै छौं" भनेर हातेमालो गर्ने काम सप्तक संगीत विद्यालयले गर्यो। विर्तामोडमै रहेर पूर्वमा प्रतिभा जन्माउने तपोभूमि हो सप्तक। कृपा पौडेल, अभिजीत अधिकारी र प्रसान्त पोख्रेल जस्ता राष्ट्रिय प्रतिभा जन्माएको विद्यालय हो यो। यहाँका सञ्चालक सरोज वत्स केवल संगीत शिक्षक हुनुहुन्न, उहाँ प्रतिभाका माली हुनुहुन्छ।
र यस्तो कार्यक्रम गर्ने भन्ने सुन्नासाथ "हामी पूर्ण साथमा छौं" भनेर तत्परताका साथ सहयोग गर्न अघि सरेको संस्था हो - नेपाली साहित्य डटकम। नेपाली साहित्य डटकम केवल एउटा अनलाइन पोर्टल होइन। *यसले देशभित्र मात्र होइन, देश-विदेशमा छरिएर रहेका भाषा र साहित्यलाई माया गर्ने मनहरुलाई जोड्ने काम गरिरहेको छ। विश्वभर छरिएका नेपाली स्रष्टालाई एउटै चौतारीमा ल्याउने डिजिटल घर हो यो।
यी तीन संस्थाको त्रिवेणीले नै पूर्वबाट यो पवित्र नाद घन्किन सम्भव भयो।
अध्यक्षको भावना : देशलाई धेरै बोल्यौं, अब गाएर हेरौं
कार्यक्रमकी सभाध्यक्ष तथा डाइनामिक ग्रुप नेपालकी अध्यक्ष खगिन्द्रा खुसीले भन्नुभयो, "हामीले देशलाई धेरै बोल्यौं, अब गाएर हेरौं। भाषणले मान्छेको कान थाक्छ, गीतले मन जाग्छ। हाम्रा बालबालिकाले राष्ट्रिय गान भन्दा पहिले आइटम गीत कण्ठ पार्न थालेका छन्, यो हाम्रो हार हो। त्यसैले हामीले राष्ट्रलाई नारा होइन, नादको रुपमा प्रस्तुत गर्न खोजेका हौं। यो नाद पूर्वबाट उठेको छ, यसले सिंगो देशलाई जगाओस्।"
भीड होइन, परिवारको उपस्थिति
यस कार्यक्रमको सबैभन्दा सुन्दर पाटो यसको उपस्थिति थियो। मञ्चमा रुद्रगौरी श्री अम्विका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, कवि नवराज पराजुली, स्रष्टा जे सागर, प्राज्ञ हरि पौडेल, डा. गोपी खतिवडा, सञ्चारकर्मी लिला अनमोल, ध्रुव पाठक, देवीभक्त श्रेष्ठ लगायत चर्चित व्यक्तित्वहरु हुनुहुन्थ्यो भने दर्शकदीर्घामा स्थानीय आमा समूह, टोल विकास संस्था, युवा क्लबका प्रतिनिधि, आफ्ना नानीबाबुको प्रस्तुति हेर्न काखमा बच्चा बोकेर आएका बुबा-आमा र बालबालिकाको बाक्लो उपस्थिति थियो। यो केवल दर्शकको संख्या थिएन, यो एउटा परिवारको सक्रिय उपस्थिति थियो।
त्यो साँझ विर्तामोडमा के भयो?
साँझ ७ बजे नेपाली साहित्य डटकमका उपाध्यक्ष अर्जुन उप्रेतीको स्वागत मन्तव्य र अध्यक्ष खुसीद्वारा रचित तथा संगीतबद्ध स्वागत कविताबाट सुरु भएको साँझलाई सप्तक संगीत विद्यालयका संस्थापक सरोज वत्सले 'जाग लम्क चम्क हे नौ जवान हो' गाएर अगाडि बढाउनुभएको थियो। प्रमुख अतिथि डा. टीका भण्डारीबाट दीप प्रज्वलन गरी उद्घाटन गरियो।
त्यसपछि सुरु भयो - स्वरहरुको राष्ट्रयात्रा। सप्तकका कलिला विद्यार्थीहरुले 'जब सुनका बाला झुल्छन्' गाउँदा लाग्यो, देशभक्ति पाठ्यपुस्तकको परिभाषा होइन, सास हो। संस्थापक वत्सले आफ्नै शब्द-संगीतमा रहेको राष्ट्रिय गीत, 'मेरो टोपी मैलो होइन', 'गाउँछ गीत नेपाली', 'देशले रगत मागे' गाउँदा एउटा संगीत शिक्षकको राष्ट्रिय दायित्व कति गहिरो हुन्छ भन्ने देखियो।
त्यस साँझको सबैभन्दा मन छुने क्षण थियो - डाइनामिक ग्रुप नेपालको तर्फबाट सामूहिक रुपमा गाइएको देशभक्ति गीत 'पंछीमा डाँफे राम्रो, फूलमा लालिगुराँस'। सबैको स्वर एकै लयमा मिल्दा हलमा उपस्थित हरेकको आँखा रसाएको थियो।
सारेगामापा लिटिल च्याम्प्सकी विजेता कृपा पौडेलले 'छाडेर काम सारा एक काम रोजिरहेछु' र 'फर्की आऊ शान्ति तिमी' गाउँदा हलले आँखा चिम्लेर सुन्यो। मेरो भ्वाइस युनिभर्सका प्रसान्त पोख्रेलले 'नेपाली नेपालको माया छ कि छैन' भनेर प्रश्न गर्दा हरेक युवाको छातीमा घोचिएको महसुस भयो। यशोदा पराजुली र गणेश पराजुली जोडीले 'अटल ज्योति चन्द्र र सूर्य नेपाली आकाशमा' गाउँदा आकाश फराकिलो लाग्यो। यशोदाजीले 'लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरा' गाउँदा त बुबा-आमा र बालबालिका सबै उठेर नाचे।
स्रष्टाहरुबाट मुक्तकण्ठले प्रशंसा
कार्यक्रममा सहभागी ख्यातिप्राप्त स्रष्टाहरुले यस्तो फरक खालको अवधारणाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।
गायक तथा संगीतकार गणेश पराजुलीले भन्नुभयो, "मैले देशभर धेरै कार्यक्रममा गाएको छु, तर विर्तामोडको यो राष्ट्रनाद जस्तो पवित्र कार्यक्रम कमै भेटेको छु। यहाँ भाषण छैन, भूषण छैन, केवल माटोको गीत छ। यस्तो कार्यक्रम हरेक जिल्लामा हुनुपर्छ।"
त्यस्तै प्रमुख अतिथि डा. टीका भण्डारीले अत्यन्तै भावुक हुँदै भन्नुभयो, "यो कार्यक्रमले मलाई अत्यन्तै भावुक बनायो। आजभोलि देशभक्तिको नाममा राजनीति धेरै हुन्छ, भक्ति कम। तर आज यहाँ राजनीति भएन, केवल भक्ति भयो। बुबा-आमा र स-साना नानीहरुले देशभक्ति गीतमा ताली बजाएको देख्दा लाग्यो - देश अझै बाँचेको छ। यो पूर्वबाट उठेको नादले अब देशै भरिनुपर्छ। आयोजकलाई हृदयदेखि धन्यवाद।"
उहाँहरुको यो प्रशंसाले राष्ट्रनादको महत्व अझ बढाएको थियो। अन्त्यमा डा. भण्डारीले 'यो माटो भरि हाम्रै रगत पसिना बगेको छ' र 'मरिगए मरीमाटो' गाउनुभएपछि हलमा केहीबेर सन्नाटा छायो। त्यो सन्नाटाभित्र नै सबैभन्दा ठूलो राष्ट्रनाद गुन्जिरहेको थियो।
साहित्यिक मन भएका वाचनकलामा चर्चित सञ्चारकर्मी केशव भट्टराईद्वारा सञ्चालित कार्यक्रम रातको १० बजेसम्म चलेको थियो। झापा नेपालको पूर्वी द्वार हो, जहाँबाट सूर्य पहिले उदाउँछ। पूर्वबाट घन्किएको यो विशुद्ध, भाषणविहीन राष्ट्रभक्तिको नाद अब देशभर फैलिनु जरुरी छ। किनकि देश अन्ततः नक्सामा होइन, हाम्रा छोराछोरीको कण्ठमा बाँचिरहन्छ।