द्रोण सर अब समाजको सम्पत्ति
द्रोण सरलाई मैले २०४० सालदेखि चिनेको हुँ । मेरो उहाँसँगको चिनाइ एकपक्षीय थियो । म शनिश्चरे माविको शिक्षक थिएँ । उहाँ मेची क्याम्पसको सहप्राध्यापक हुनुहुन्थ्यो । मैले उहाँलाई चिन्ने आधार भनेको साहित्य नै हो । बिर्तामोडमा स्थापित विश्वदीप मुद्रणालयले छपाई मात्र गर्दैन थियो, त्यो उत्तरी झापाको साहित्यिक गतिविधिको केन्द्र नै बनेको थियो । मदन ढकाल र गोपीकृष्ण खनालको सक्रियतामा स्थापित त्यस प्रेसले २०३७ सालमा मेची अञ्चलस्तरीय साहित्य सम्मेलन गरेपछि अब त्यो केवल प्रेस मात्र रहेन । त्यसका संस्थापक दुबै जना आफैं साहित्यकार समेत हुनुहुन्थ्यो । त्यो प्रेसले छोटै समयमा झापाको साहित्यिक गतिविधिमा केन्द्रीय भूमिका निभाउन पुग्यो । त्यही प्रेसद्वारा स्थापित मञ्चबाट हामी त्यो बेलाका नवझापाली कविहरू जन्मिन थालेका हौं । त्यसको नेतृत्व भवानी घिमिरेले गर्नुभएको थियो । त्यसैबेलाको साहित्यिक यात्राको क्रममा उहाँसँग पहिलो भेटघाट र परिचय भएको हो । परिचयका क्रममा उहाँले आफू भट्टराईको भाञ्जो भएकोले मलाई मावलीको दर्जा दिनुहुन्थ्यो ।
अत्यन्त सरल र मिलनसार स्वभावले गर्दा म पनि चाँडै उहाँसँग घुलमिल हुनपुगें । उहाँ पनि साहित्यिक साथी भएको र आफ्नो पनि साहित्यिक रुचि भएकाले होला, त्यो क्षण रमाइलो थियो । हामी नयाँ कविहरूसँग समकालीन साथीसँग जस्तो खुलेर उहाँ कुरा गर्नु हुन्थ्यो । उहाँले हाम्रा कविताहरूको प्रशंसा पनि गर्नुभयो र कमजोरीहरू पनि सहजै देखाउने गर्नुभयो ।. त्यसअघि चाहिं मैले भद्रपुरका लेखक भनेर चिनेका नकुल काजी, भवानी घिमिरे, एसएल शर्मा, चूडामणि रेग्मीहरू नै हुनुहुन्थ्यो । बिस्तारै परिचयको दायरा फैलिने क्रममा म पनि उहाँसँग निकट हुन पुगें । २०४० सालमा हामी केही युवाहरूले ‘भोक कविता आन्दोलन’ सुरु गरेपछि एकाएक हाम्रो चर्चा सुरु भएको थियो । त्यसले झन् हाम्रा अग्रजहरूलाई हामीतिर आकर्षित गर्न थालेको थियो । झापाका भानु, विश्वदीप, युगज्ञान, साप्ताहिक विचार, विवेचना, वरुण, जुही आदि पत्रिकाहरूले ‘भोक कविता’ स्तम्भ नै बनाएर हाम्रा कविता छाप्न थाले । यो बेला झापाली बुद्धिजीवी र प्रशासन एकैचोटिजस्तो सँगसँगै हामीतिर आकर्षित भएका थिए । प्रशासन हामीलाई शंकाको नजरले हेर्थ्यो भने बुद्धिजीवीहरू प्रोत्साहन र प्रशंसाको लस्करमा थिए । त्यही लस्करमा हुनुहुन्थ्यो, द्रोण सर पनि । उहाँले मेरा छापिएका वा मञ्चमा वाचन गरेका हरेक कविताहरूको प्रशंसा गर्नु हुन्थ्यो । त्यही भएर पनि म उहाँप्रति अझ आकर्षित भएको थिएँ ।
पछि २०४३ सालदेखि कृषि बिकास बैंकको जागिरमा प्रवेश गरें । मेरो पोष्टिङ पछि चन्द्रगढीमा भएर उतै डेरा लिनुपर्ने भयो । त्यसबेला हामी केही साथीहरू मिलेर मैत्री टोल, चन्द्रगढीका कृष्णबहादुर थापाको घरमा डेरा लियौं । अब त झन् म उहाँको घरकै छिमेकी पो हुनपुगेछु । त्यो टोल बौद्धिक समुदायहरू बस्ने भनेर चिनिएको रहेछ । त्यही टोलमा थियो, तारा बरालको घर र बराल छापाखाना । जहाँबाट छापिन्थ्यो, साप्ताहिक विचार पत्रिका । मेची क्याम्पसका नेपाली विषयका सहप्राध्यापक तारा विविधको घर पनि त्यहीं थियो । रामनाथ बाँस्कोटा पनि त्यही टोलमा हुनुहुँदो रहेछ । नजानिकनै डेरा बस्न पुगेका हामी एकदम नै बौद्धिक समुदायको संगतमा पुगेछौं, जुन मलाई चाहिएकै थियो ।
त्यसपछि त उहाँसँग मेरो निरन्तर भेट हुन थाल्यो । मैले आफ्नो लेखन र अध्ययनमा उहाँबाट निरन्तर सल्लाह र हौसला पाउन थालें । मैले साप्ताहिक विचारमा नियमित गद्य लेखन पनि गर्न थालेपछि अझ निकट हुन पुगें । उहाँले पनि लेख्नु भएका सांस्कृतिक र भाषिक लेखहरू सुनाउनु हुन्थ्यो । असमी साहित्यको पनि गहिरो ज्ञान भएकाले हाम्रो लेखन र असमी लेखनमा के कस्ता भेद छन् ? भनेर पनि सुनाउनु हुन्थ्यो । त्यो राजनीतिक विचारका लागि प्रतिबन्धित बेला थियो । त्यसले पनि हामी प्रजातन्त्रवादीहरूलाई निकट हुन आवश्यक थियो । हामी विद्रोही कविका रूपमा परिचित थियौं, तर प्रशासनले कार्वाही गरिहाल्ने निहुँ भेटेको थिएन । हामीमध्ये हिरा आकाशलाई भने प्रशासनले अलिक बढी नै खेद्थ्यो । ऊ सिडियो कार्यालयमा तारिख धाइरहन्थ्यो ।
द्रोण सर पनि विद्रोही चेतनाको हुनाले उहाँको सामीप्यता मलाई शितलु लाग्थ्यो । धेरै विवादमा आउन नचाहने, अनावश्यक बहसहरूमा भाग नलिने, सबैसँग मिल्ने, सधैं केही न केही खोज र अनुसन्धानमा लागिरहन मन गर्ने उहाँको बानी सबैका लागि प्रिय थियो ।
म २०४५ सालदेखि मेची क्याम्पसमा भर्ना भएँ, बी.ए.पढ्न । पछि उहाँ मेरो नेपाली विषयको शिक्षक पनि हुनुभयो । म पहिल्यैदेखि चिनिएको र जिल्लामा स्थापित कवि भइसकेकाले कक्षाभित्र पनि उहाँको मप्रतिको व्यवहार छात्रसँगको भन्दा भिन्न थियो ।
पचासको दशकदेखि म पनि साहित्यिक संघ–संस्थाहरूमा सक्रिय तथा आयोजक हुन थालेपछि उहाँलाई हामीले विभिन्न विषयमा कार्यपत्रहरू लेखाउने दुःख दिन थाल्यौं । तर, उहाँले कहिल्यै हुँदैन, भ्याउँदिन, सक्दिन भन्नु भएन । आफूभन्दा भाइ पुस्ताहरूमा पनि आफै ंसरहको हैसियत देख्ने उहाँको नजरको हामी सधैं कदर गथ्र्यौं । पछि–पछि त हामीले हरेकपल्ट केही लेख्नु र बोल्नु पर्ने भएमा द्रोण सरको नाम शुरुमै राख्थ्यौं । उहाँले नभ्याउने हुँदा मात्र अरूतिर लाग्थ्यौं । जो सरल र सजिलो हुन्छ, उसैलाई धेरै पिरोलिंदो पनि रहेछ, भन्ने लाग्छ ।
मैले साहित्यमा लीलालेखनको अभियान लिएर हिंडेपछि झापामा निकै विरोध खप्नुपर्यो । प्रगतिशील पक्षका लेखक तथा बुद्धिजीवीहरूको निकै कडा आक्रमण हुन्थ्यो । तर, त्यसमा पनि द्रोण सरले मलाई कहिल्यै निराश बनाउनु भएन । उहाँमा आध्यात्मिक चेत र अध्ययन भएकाले पनि त्यो विषयमा सम्भावना देख्नुभएको थियो होला । भन्नु हुन्थ्यो– ‘इन्द्रबहादुर राई जस्तो विद्वानले त्यसै यस कुरालाई उठाउनु भएको छैन । यसको गहिराईसम्म पस्ने कोशिश गर्नु, बहस र विवादसँग नआत्तिनु ।’ त्यस कुराले मलाई ठूलो हौसला मिल्थ्यो । पछि, रत्नमणि नेपालको नेतृत्वमा चन्द्रगढीको नवयुवा भाइहरूको साथ पाएपछि मेरो यो यात्राले पखेटा हाल्यो ।
हिन्दू धर्म र दर्शनबारे गहिरो अध्ययन भएका उहाँलाई फरक प्रकारले नै हेर्ने गरिन्थ्यो ।
२०६४ सालदेखि म काठमाडौं आएपछि झापाका सबैसँग नै मेरो सम्पर्क पातलिन गयो । त्यो पातलिनेमा द्रोण सर पनि पर्नुभयो । तैपनि पछि फेसबूकमा म जोडिएको रहेछु । तर, मेसेन्जरमा खासै सम्वाद भएको भेटिनँ । झापा जाँदा पनि माथि–माथि नै घुमेर फर्किन थालियो । पर–परबाट हालखबर लिंदै गरे पनि वास्तवमा सूचना पातलिएकै थियो । त्यसै बीचमा म आफैं पनि पारिवारिक शोकमा परेपछि सम्पर्कहरूबाट भाग्न थालें । एकलकाँटे जस्तो हुँदै गएँ । जीवनका स्वाभाविक उतारचढावहरूले कतिपय पुराना सम्बन्धहरूलाई पातलो बनाउँदै जाने रहेछ ।
त्यस्तै परिस्थितिले गर्दा केही वर्ष मैले देशै छोड्न पर्यो । ती पाँच वर्ष मेरो जीवनका लागि बनवास नै थिए । अत्यन्त मानसिक कष्टका साथ बिताएको छु त्यो समय । त्यसबेला त झन् मेरो कसैसँग पनि सम्पर्क हुने कुरै भएन । त्यसै बेलामा उहाँलाई क्यान्सर जस्तो असाध्य डरलाग्दो रोगले समातेछ । त्यो रोगसँग हाम्रो परिवारले लडिसकेको हुँदा ‘त्यसको पीडा कस्तो हुन्छ’ भन्ने म सहजै अनुभव गर्न सक्छु । तर, मलाई उहाँ ‘त्यस रोगबाट बिरामी हुनुभएको छ’ भन्ने कहिल्यै थाहा भएन । बरू खडानन्द वाशिष्ठ सरको कलेजोको क्यान्सरका बारेमा अमेरिकामै थाहा पाएको थिएँ, उहाँका छोराबाट । पछि, एकाएक द्रोण सर बितेको समाचार फेसबूकबाट थाहा पाएँ र अचम्भित भएँ । अनि सोधखोज गर्दा मात्र उहाँ त्यो ‘असाध्य डरलाग्दो रोगको पीडासँग जुध्दा–जुध्दै बित्नु भएछ’ भन्ने बुझें ।
हामी सबैले कुनै न कुनै कारण बोकेर एक दिन यो जीवनबाट पाखा निस्कनै पर्छ । को कहिले कसरी निस्कने हो ? भन्ने थाहा नभएकाले मात्र हामी हाँसिरहेका, रमाइरहेका हुन्छौं । झापाका धेरै अग्रज र समकालीनहरूमाथि हामीले श्रद्धाञ्जलिका फूल चढाइसकेका छौं । मानिस भौतिकरूपमा बितेर गए पनि उसको योगदानलाई हामीले समाजको जिम्मा लगाउनु पर्छ । त्यसका लागि यिनै स्मरण र उनले दिएका कृतिहरू नै हुन्छन् । आज फेरि हामीले द्रोण उपाध्याय सरलाई समाज हस्तान्तरण गर्न लागेका छौं । त्यस काममा मैले पनि यो एउटा सानो स्मृति चढाउन पाएकोमा खुशी लागेको छ । हार्दिक श्रद्धाञ्जलि द्रोण सर !
कृष्ण धराबासी
यो लेख डा.द्रोण कुमार उपाध्याय स्मृति ग्रन्थका लागि तयार पारिएको हो ।