रेडियो बजाउने लाइसिन
हाम्रै छिमेकमा मेरा गुरु र नाताले मामा पनि पर्ने भीष्मराज दाहालले हाम्रो गाउँ (नाखोपा, इलाम) मा सर्वप्रथम रेडियो किन्नुभएको हो । त्यो सायद तीन बेन्डको जापानी नेसनल पानासोनिक थियो । म छ वर्षको थिएँ होला । सानो बाकसभित्र चर्कोसँग मान्छे बोलेको, गीत गाएको, बाजा बजाएको सुन्दा मलाई अचम्मै लाग्थ्यो । यति सानो बाकसभित्र कसरी यत्रा औधि मान्छे अटाएर बोलेका होलान् ? मनमनै सोच्थें मान्छे नै त्यस्तै साना होलान् र त अटाएका छन् । वेला वेला आवाज मधुरो हुन्थ्यो अनि हाम्रा हजुर्बा (मावलका हजुर्बा टीकाराम खतिवडा) भन्नुहुन्थ्यो “अर्कापट्टि फर्केर बोल्यो भने त्यस्तो सानो आवाज आउँछ ।”
भीष्म सर कहिले कहिले बेलुका रेडियो बजाउँदै हाम्रो हजुर्बाकोमा आउनुहुन्थ्यो । हाम्रो घर नजिकै भएकाले हामी त सबै भेला भइहाल्थ्यौं नै, तल्लाघर भँडारी हजुर्बा, अलि तलबाट नेउपाने ठुलाबा, भार्ती मामा, भँडारी मामाहरु लगायत धेरै गाउँलेको जमात भेला हुन्थ्यो त्यहीँ । हजुर्बा गाउँको मान्य मान्छे भएकाले त्यसै पनि मानिसहरु भेट्न आइरहन्थे । बेलुकाको कार्यक्रम २–३ घन्टा जतिको हुँदो हो । जमेरै रेडियो सुनेर गाउँलेहरु रात परेपछि घर जान्थे । कहिले बिहान पनि त्यो अवसर जुथ्र्यो ।
ऊ वेला रेडियो बजाउन “लाइसिन चाहिन्छ” भन्थे । मलाई लाग्थ्यो त्यो लाइसिन भन्ने रेडियोकै कुनै उपकरण होला । त्यो नभई रेडियो बज्दैन । अनि सम्झन्थेँ ती भित्र बोल्ने मान्छेहरु हुन् कि लाइसिन भन्या ?
हाम्री आमा दिवंगत हुनुभयो, २०२७ सालमा । त्यसपछि हामी अहिलेको घर भएको गाउँ खम्बुटार (बाहुन्डाँगी – ५/xfn d]rLgu/ #) मा बसाइँ झर्यौं । त्यसको केही वर्षपछि २०३०–३१ तिर हुनुपर्छ हाम्रो गाउँका सम्पन्न मानिने भँडारी हजुर्बा (पर्भाखर भन्डारी, नाखोपाबाट बसाइँ आउने) ले सेन्यो ब्रान्डको तीन बेन्डको जापानी रेडियो ६०० मा किनेर ल्याउनुभयो । हाम्रो गाउँमा भित्रिएको पहिलो रेडियो त्यही थियो । त्यहाँ पनि गाउँभरिका मान्छे रेडियो सुन्न भेला हुन्थ्यौं । हजुर्बा जोकोहीलाई रेडियो छुन दिनुहुन्नथ्यो । रेडियोमा केही गडबडी आयो वा स्टेसन यताउती भएर आवाज बुझिएन भने मात्र म, मेरा दौंतर साथी चन्द्रमान राई र लाहुरे माल्दाइलाई मिटर मात्र यताउती सार्न अनुमति दिनुहुन्थ्यो । हामी दुई मित्र त हाइस्कुलसम्म पढ्न गएका भएर होला अलि विश्वास गरेको तर लाहुरे माल्दाइ त साक्षर मात्र थिए । उनलाई किन विश्वास लाग्यो त्यो हजुर्बालाई नै थाहा होला । विश्वास लागेपछि त लागिगयो नि ! रेडियोलाई जो कोहीले छुन्छ, चलाउँछ भनेर सिकुवाको माथि बलामा रेडियो राख्ने सानो बाकस बनाउन लगाउनुभएको थियो । हजुर्बा बिहानै त्यहाँ रेडियो ल्याएर राख्नुहुन्थ्यो । रेडियोमा शंखध्वनि आउनुअघि नै मुख धोएर, फूल चढाएर, अगरबत्ती बालेर रेडियोको पूजा गरेपछि रेडियो खोल्नुहुन्थ्यो । रेडियो घरमा आएदेखि भँडारी हजुर्बाको नित्यकर्म थियो यो ।
अँ त, यहाँ पनि लाइसिनको कुरा उठ्यो । भँडारी हजुर्बाले जिल्ला पञ्चायतमा खै को हो कसलाई लिएर जानुभयो र १० रुपियाँ तिरेर ‘लाइसिन’ बनाएर ल्याउनुभयो । “अँ यो पढपढ नाति ! गंगा !” औंठाछाप भँडारी हजुर्बाले मलाई लाइसिन तेस्र्याउँदै भन्नुभयो । सुरुमै ठुला अक्षरमा लेखिएको थियो “जिल्ला पञ्चायत सचिवालय, रेडियो लाइसेन्स” । लाइसिन होइन लाइसेन्स पो रहेछ ! आठ पाना भएको त्यसमा भित्री भागमा त्यसको दस्तुर १० रु.तिरेको विवरण पनि लेखिएको थियो अनि अरु पानामा gjLs/0f गर्ने ठाउँ अनि अन्य पानामा सम्बन्धित विषयको नियमावली पनि छापिएको थियो । यही पो रहेछ लाइसेन्स भनेको त कहाँको साना मान्छे हुनु !
एक पटक हजुर्बाको रेडियोमा ‘मसला’ सकिएछ । ब्याट्रीलाई उहिले मसला भनिन्थ्यो । ब्याट्री त पढेलेखेका जानेबुझेकाहरुले मात्र भन्ने गर्थे । हजुर्बाले कसैमार्फत बजारबाट मसला मगाउनुभएछ र रेडियोमा मसला फेर्नुभएछ । मसला फेरेपछि त रेडियो चाइँचुइँ नै गरेनछ । बोक्सी लागे कि ? भनेर खोर्सानीको धुवाँ लगाउँदा पनि नभएपछि glhs}sf rk|f;LdfOnfधामी बोलाएर जोखाना हेराउनुभएछ । धामीले के के भन्यो, गर्यो त्यो त थाहा भएन । केही नलागेपछि रेडियो बिग्रेछ बनाउन लानुपर्यो भनेर तल्लो गाउँ तेलपानीको बाटो धुलाबारी जाँदा बाटामा काइँला मुखिया (डम्मरुबल्लभ दाहाल) को सम्झना आएछ र एकपटक देखाउनु पो पर्यो भनेर त्यतै सोझिनुभएछ । काइला मुखियाकोमा त सधैं रेडियो बजिरहन्थ्यो । सायद उहाँकै सहयोग र सल्लाहबाट भँडारी हजुर्बाले पनि यो रेडियो ल्याउनुभएको थियो । नभन्दै काइला मुखियाले रेडियोको ब्याट्री झिकेर हेर्दा त उल्टोपाल्टो पो परेको रहेछ ! रेडियो नबज्नुको कारण त मसला उल्टो परेर पो रहेछ भन्ने थाहा पाएपछि हजुर्बाले रेडियोमा मसला फेर्न जान्नुभएछ । रेडियोलाई धामी लगाएको घटना धेरै पछिसम्म चर्चाको विषय बनेको थियो ।
अँ त्यो वेला बन्दुक राख्न, रेडियो बजाउन अरु केकेमा हो सरकारसँग अनुमति लिनु अनिवार्य हुन्थ्यो । विना लाइसेन्सका रेडियो पक्राउ परेका, जरिवाना तिरेर रेडियो उकासेका खबरहरु यदाकदा सुनिने गथ्र्यो । केही वर्षपछि मेरा हजुर्बाले पनि रेडियो किन्नुभयो । त्यो चाहिँ मर्फी ब्रान्डको थियो । अलि ठुलो आकारको । त्यति वेला त्यति खासै खोजी भने हुन छोडेको थियो लाइसेन्सको । पुलिसले देख्यो भने चाहिँ पक्रन्छ रे भन्थे । गाउँमा खासै पुलिस आउने पनि कुरा हुँदैनथ्यो । त्यही भएर हजुर्बाले भने लाइसेन्स बनाउनुभएन । त्यसपछि रेडियोको लाइसेन्सको कुरा पनि त्यतिकै हराएर गयो ।
गङ्गाप्रसाद अधिकारी
२०७९ माघ १८
भद्रपुर ८, भद्रशिवा टोल