शुभस्मृति-सुखस्मृति !
कुरो ९ वर्ष अघिको हो ।
२०७२ साल पुसको १२/१५ गतेतिर होला म भट्भटे वाहनमा सवार भएर घरबाट रवि, रक्से, लारुम्बा हुँदै फाल्गुनन्द मार्गको रतुवा खोलामा घरि पानीमा पस्तै, जँघार तर्दै, घरि बगरका ढुङ्गाहरूमा वाहनसँगै उफ्रिंदै बटारिंदै दमकतिर आउँदै थिएँ । विद्यालयमा पढाउने काम छोडेको थिएन, हिउँदे छुट्टी भएको थियो भर्खरै र यसै मौकामा काठमाण्डु पुगेर केही दिन अल्मलिएर आउने योजना थियो र बाटो लागेको थिएँ ।
त्यस बेला रतुवाको पूर्वी भित्तामा अहिले जस्तो बाटो थिएन,घर्ती दोभानबाट खोलामा पस्नुपर्थ्यो,जुत्ता खोलेर बोकेर, सुरुवाल राम्रैसँग सुर्किएर हेलिनुपर्थ्यो । म पनि राम्रै बन्दोबस्त मिलाएर हेलिएको थिएँ । आधाउधी बगर छिचोल्दै थिएँ होला, सानो पुन्टे फोन गोजीमा चिच्याउन थाल्यो । एउटा जँघार तरिसक्नै लागेको थिएँ, तरिसकेर थपक्कै भट्भटे उभ्याएर हतारहतार पुन्टे फोन अन गरें । उताको आवाज सुनें-
" हेल्लो ,हजुर नमस्कार ! म कृष्ण सुवेदी निराकार । के छ सञ्चो सुविस्ता ? अहिले कता ?"
" अँ चिनिसकें, म ठिकै छु । म रतुवाका बगरमा छु यतिखेर, नेपाल जान हिंडेको ।" मैंले भनें ।
" एउटा खुशीको खबर छ । लेखनाथ पुस्तकालयले तपाईंलाई यसपालिको" श्यामकृष्ण श्रेष्ठ-कामाक्ष साहित्य पुरस्कारका लागि चयन गरेको छ, यही आउँदो २६ गते पुस्तकालयको स्थापना दिवसका दिन । तपाईंलाई अग्रिम बधाइ ! आधिकारिक जानकारी अध्यक्षले दिनुहुनेछ, मैंले ता यसो मित्रवत् हिसाबले थाहा मात्रै दिएको ।"
"कति असल मनुष्य ! मैंले भनें र थपें " मलाई भन्दा पनि हाम्रा दाजुलाई रोजेको भए राम्रो हुने थियो नि समितिले !"
" समितिको निर्णय हो, यसमा तपाईंले बाठो हुने कुरै होइन ,बरु तपाईंको मञ्जुरी के छ ? उहाँले भन्नुभयो ।
" मञ्जुर ता छँदै छु नि ,पुरस्कार पाउँदा किन बेमञ्जुर हुन्थें र ! " मैंले भनें ।
"उसो भए यही २६ गते लेखनाथ पुस्तकालयमा आउनुहोला ,अरू खबर पाए नपाए पनि यसैलाई निम्तो मान्नुहोला ।" निराकारले भन्नुभयो ।
मैंले " हवस्,धन्यवाद !" भनेर पुन्टे फोनलाई गोजीमा हालें, अनि फेरि रतुवासँगै पौंठेजोरी खेल्दै अघि बढें ।
दमकमा भट्भटे थान्को लगाएर काठमाण्डु गएँ । केही दिन उता अल्मलिएर आएँ अनि निर्धारित दिनमा चन्द्रगढीस्थित लेखनाथ पुस्तकालयमा पुगें ।
पुस २६ गते । पहिले पहिले अधिराज्यभरि यो दिनलाई नै कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म दिवस हो भनेर स्मृतिदिवस मनाउने कार्यक्रम हुने गर्थे । २०३७ सालमा यसै दिनलाई रोजेर यो पुस्तकालय स्थापना गरिएको र नाम पनि लेखनाथ पुस्तकालय राखिएको इतिहास रहेछ । पछि कहिलेतिर हो लेखनाथको जन्ममिति १९४१ साल पौष १५ गते पञ्चमी तिथिमा भएको भन्ने प्रमाण भेटिएछ र त्यसैलाई आधिकारिक मान्ने निर्णय प्राज्ञ सभाले गरेपछि राज्यले कविशिरोमणिको स्मृति दिवस पुस १५ मा नै मनाउन थालेको रहेछ । यता लेखनाथ पुस्तकालयले भने पुस्तकालय स्थापनादिवस र उसबेलाको आम मानिएको तिथिलाई नै निरन्तरता दिएर मनाइल्याएको छ ।
मैंले झापाका साहित्यिक कार्यक्रमहरूमा यदाकदा भाग लिने गरेको थिएँ । शान्तिनगर, भद्रपुर, बिर्तामोड, दमक, धुलाबारी ,धरमपुरतिर कहिलेकाहिं सहभागी भएकैले थोरैतिना चिनजान पनि भएछ ,अनि त साथीभाइले पनि सम्झिनुभयो ।
झापा प्रतिभाको कदर गर्न जान्ने ठाउँ हो भन्छु म । झापाले मलाई महानन्द पुरस्कार( शान्तिनगर), छन्द कवि पुरस्कार( कञ्चनजङ्घा एफ् एम्), स्रष्टा सम्मान("सुगन्ध" धुलाबारी ) दिएको छ, धर्नासो प्रकाशन धरमपुरले सम्मान दिएको छ र जीवन स्मृति प्रतिष्ठान दमकले पनि सम्झेको छ । म आफूलाई कलिलै साहित्यप्रेमी मात्रै सम्झिने मान्छेलाई झापाले थप जाँगर र उत्साह दिएको छ । झापाका साहित्यकर्मीहरू-कृष्ण धरावासी,चूडामणि रेग्मी, तेराख,कृष्ण निराकार,चन्द्र भण्डारी ,पुण्यप्रसाद खरेल( सुसेली सम्पादक),भवानी क्षेत्री ,शिरो सान्दाइ, लीला अनमोल,गोपीकृष्ण खनाल,होम सुवेदी,नवराज घिमिरे, आरती पोखरेल, खगेन्द्रा खुशी, गङ्गाप्रसाद अधिकारी, चूडामणि वाशिष्ठ,डम्बर घिमिरे ,दिलिप घिमिरे ,कुमार भट्टराई, कृष्ण बराल, मुनाराज सेर्मा, विनोद खनाल, केशवराज खनाल, हस्त परियार आदिमध्ये अग्रजहरूले मलाई आशीर्वाद दिनुभएको छ ,समपुस्ता र पछिल्लो पुस्ताबाट पनि मैंले प्रशस्तै शुभकामना र प्रेरणा पाएको छु । साँच्चै भन्नुपर्दा मलाई आरम्भमा साहित्यमा बढी उत्साहित गर्ने झापा नै हो ।
यी सन्दर्भमा गाँसिएका कुरालाई बिसाउँदै यता २०७२ साल पुस २६ गतेको सम्झना गर्छु । सो दिन सर्वप्रथम चूडामणि गुरु,डा.टङ्क न्यौपाने,त्यो कार्यक्रमका संयोजक होम सुवेदी दाजु,तेराख दाजु,नवराज घिमिरे ,आरती पोख्रेल,खगेन्द्रा खुशी ,कृष्ण निराकार,देवीचरण भण्डारी आदि धेरै जना साहित्यकारहरू लेखनाथ चौकमा गएर कवि शिरोमणिको प्रतिमामा माल्यार्पण गर्यौं । त्यसपछि विभिन्न नारा जुलुस र कवि शिरोमणिद्वारा रचित कविताहरू पाठ गर्दै चन्द्रगढीकै केही भाग नगर परिक्रमा गर्यौं । खगेन्द्रा खुशीले तरुण तपसीका केही श्लोक वाचन गर्नुभयो,खुशीको वाचनकलामा जादू छ । यसलाई आलोपालो अरूले पनि निरन्तरता दिनुभयो । मलाई लेखनाथका फुटकर कविताहरूमा निकैवटा कविता अझै पनि कण्ठस्थ छन्,तीमध्ये मैंले" गौंथलीको चिरिबिरी " वाचन गरें । हाम्रो जुलुश यसरी नै अघि बढ्दै लेखनाथ पुस्तकालयको सभाकक्षमा पुगेर सभामा परिणत भयो ।
संस्थाका सचिव आरती पोखरेलले कार्यक्रम सहजीकरण गर्नुभयो । प्रा. डा. टङ्क न्यौपाने प्रमुख आमन्त्रित हुनुहुन्थ्यो । नवराज घिमिरेको अध्यक्षता र चूडामणि रेग्मी ,तेराख,विजय खरेल, कोमलप्रसाद पोखरेल,मित्रप्रसाद दाहाल आदि को को विशेष आमन्त्रित हुनुहुन्थ्यो अहिले बिर्सिसकेंछु ।
अन्य उपस्थितहरूमा पनि मातृका सङ्ग्रौला,कृष्ण सुमार्गी,गीता भण्डारी ,केशव भट्टराई ,इन्दू पूर्वेली,जयप्रसाद आचार्य ,गङ्गा सुवेदी नेपाल, राजेन्द्र सङ्ग्रौला, डिल्लीराज नेपाल आदिको उल्लेख्य उपस्थिति थियो जस्तो लाग्छ, बिर्सिएँछु निकै अनुहार । हाम्री ठुल्दिदी पनि जानुभएको थियो ।
हलभित्र नअटाएर अघिल्लो ढोकाको छेउछाउमा पनि केही कुर्सी राखेर पनि अभ्यागतलाई अटाउनु परेको थियो । विराटनगरबाट पनि मधु पोख्रेल,गण्डकीपुत्र पनि आउनुभए जस्त लाग्छ । त्यस सभामा र झापाका अन्य कतिपय सभामा उपस्थित हुनुहुने आदरणीय अग्रजहरू तेराख दाजु,गोपीकृष्ण खनाल र विजय खरेल दाइहरू पनि अब यो लोकमा हुनुहुन्न भन्ने सम्झिंदा दुःख लाग्छ । यसै साल अस्ति भर्खरै कर्मठ साहित्यकर्मी पुण्य खरेललाई पनि समयले हामीबाट खोसिदियो । अझै अगाडिका मसँगै महानन्द पुरस्कार प्राप्त गर्नुहुने अग्रज हृषिकेश उपाध्याय र अग्रज साधक श्याकृष्ण श्रेष्ठ, दिदी राधिका रायाको पनि मलाई अहिले सम्झना आउँदैछ । दिवङ्गत सबै आदरणीय स्रष्टामा हार्दिक श्रद्धार्पण गर्दछु ।
अौपचारिक कार्यक्रममा उद्घाटनदेखि लिएर शुभकामना मन्तव्यहरू भए, स्वभावतः हुने नै हुन् । पर्व विशेषमा कवि शिरोमणिको साहित्यिक देनबारे विभिन्न वक्ताहरूले प्रकाश पार्नुभयो । सम्मान/ पुरस्कार वितरणको क्रममा अध्यक्ष नवराज घिमिरे ,प्रमुख आमन्त्रित प्रा. डा. टङ्क न्यौपानेले मलाई दोसल्ला ओढाइदिनुभयो, सम्मानपत्र दिनुभयो, कसैले टीका, माला लगाइदिनुभयो, नगद रू. पन्ध्र हजारको खामसमेत दिनुभयो । मसँगै साहित्यकार कृष्ण सुमार्गी र अरू पनि को कोदुईजना सम्मानित/ पुरस्कृत हुनुभयो ,अरूको नाम बिर्सिएँछु । बीचबीचमा स्रष्टाहरूका रचना पाठ पनि भईरहे, देवीचरण भण्डारी र मातृका सङ्ग्रौलाका प्रस्तुतिहरू झन् मनोरम थिए । कार्यक्रम बडो रोचक थियो, मेरा लागि ता ऐतिहासिक पनि भयो ।
मोटामोटी कुरा यति नै हुन् । कार्यक्रम समाप्तिपछि बाहिर आँगनमा भेला भएर सामुहिक फोटो खिच्ने काम भएपछि सबैले सबैसँग विदाइको हात हल्लायौं ।
होम सुवेदी दाजुले मलाई हाम्री ठुली दिदीको घर विरेन्द्र मा वि कै छेउसम्म पुर्याइदिने कुरा गर्नु भयो, मेरो साधन नभएको अनुमान गर्नुभएछ, तर मेरो आफ्नै साधन छ भनेपछि ढुक्क हुनुभयो । यो सदाशयका लागि उहाँलाई धन्यवाद दिएँ ।
यसरी वर्षेनी नेपाली साहित्यका साधकहरूलाई सम्मान/ पुरस्कार अर्पण गरेर साहित्यकारको उचित कदर गर्ने,हौसला प्रदान गर्ने साहित्यसेवी संस्था लेखनाथ पुस्तकालयलाई जीवन्त गति दिनुमा यहाँका स्रष्टागण र समितिका सम्पूर्ण सदस्यहरूको समर्पित मानसिकता नै कारक हो । यो खटाउपन र सदाशयताले निरन्तरता पाओस् ! लेखनाथ पुस्तकालय सुदूर भविष्यसम्म कीर्तिमानी हुन सकोस् हार्दिक शुभकामना ! जय स्रष्टा ! जय साहित्य !!***
फाकफोकथुम -४,फुएतप्पा,इलाम । २०८१/०६/२७