अनेसासको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
                        अमेरिकाको वासिङ्टन डिसीमा शनिबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले ११७ औँ लक्ष्मी जयन्ती तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ ।
कार्यक्रममा अनेसास सर्वोत्कृष्ट पुरस्कार रोशन थापाको “सन्त्रासका साठी दिन” उपन्यासलाई, अनेसास नन्दादेवी सर्वोत्कृष्ट लोकसाहित्य पुरस्कार शशीराम कार्कीलाई प्रदान गरियो । डायस्पोरा वाङ्मय पुरस्कार डा. तुलसी आचार्यको स्वप्नभूमि, निबन्ध यात्रा पुरस्कार मोमिलाको निबन्धसङ्ग्रह प्रश्नहरू बाँकी छन्, सांस्कृतिक अध्ययन विधाको डा. दुर्गाबहादुर घर्तीलाई प्रदान गरिएको छ । अनेसास राष्ट्रकवि काव्य पुरस्कार कवि जगन्नाथ पौडेलको बग्दाबग्दै र कृसु क्षेत्रीको पसिनाको क्यानभासलाई प्रदान गरिएको थियो ।
उत्कृष्ट कथा पुरस्कार कृष्ण कुसुमको कथासङ्ग्रह पाश्र्व धुनलाई, उत्कृष्ट कथा पुरस्कार अखण्ड भण्डारीको बोरा उपन्यासलाई, अनेसास गीत गजल पुरस्कार लक्ष्मण सिटौलाको गीतसङ्ग्रह धर्तीका ध्वनिलाई र अनेसास गीत, बालसाहित्य पुरस्कार बालसाहित्य यात्रामा देशकी लेखिका बिमला निरौलालाई प्रदान गरिएको थियो । यसैबिच विभिन्न साहित्यकार तथा पत्रकार, लेखकलाई अमेरिकाका राज्य संसद्ले प्रदान गरेको प्रशंसापत्र प्रदान गरिएको थियो ।
सहभागीले मन्तब्यका क्रममा विश्वभरि छरिएर रहेका नेपाली भाषा र साहित्यको क्षेत्रमा साधनारत साहित्यकार, लेखक तथा स्रष्टाले नेपाली भाषा र साहित्य उत्थानका लागि हातेमालो गरेर काम गर्न आग्रह गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकामा नेपालीमूलको पहिलो निर्वाचित सांसद डेलिगेट डा. ह्यारी भण्डारीले डायस्पोरामा रहेका नेपालीले नेपाली भाषा र साहित्यलाई विश्वव्यापीकरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो भने अनेसास केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले नेपाली भाषा र साहित्य क्षेत्रमा काम गर्न अनेसासले आगामी दिनमा तथ्याङ्क र दस्ताबेजीकरणलाई प्राथमिकतामा राखेको बताउनुभयो । यसैगरी विओटीका अध्यक्ष पदम विश्वकर्माले अनेसासको माध्यमबाट भाषा र साहित्य क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरेर मातृभूमि र प्रवासी भूमिलाई एकताको सूत्रमा बाँध्न प्रयत्नशील रहेको बताउनुभयो ।