बिफरको तोबातोबा र थारमुङ्ग्राको कमाल
विक्रम सम्वत् २०२२ साल हाम्रो परिवारमा कहिल्यै नबिर्सिने वर्ष रह्यो । म ठिटो केटो थिएँ । हाम्रो घर लुङ्सुङ्दाङ्को गैरीबारीमा थियो । हिउँदको याम थियो । हामी घुर्बिसे पञ्चमीबाट ज्यामिरहरु किनेर ल्याएर खान्थ्यौँ । हाम्रो अलिक लेक भएकाले सुन्तला र ज्यामिर वर्गका फलफुल हुदैनथे । हजुरबासँग कान्छाकाका बस्नुहुन्थ्यो । उहाँहरुको घर आमचोकको फुएँलबारीमा थियो । हाम्रा बुवाहरुका नाम नै आमचोक जाँदा फुएँलबारी जेठा, माइला, साइला, काइला, कान्छा र लुङ्सुङ्दाङ् हुदा गैरीबारी ,जेठा, माइला, साइला, काइला, कान्छा थियो । अहिले पनि पुराना मान्छेहरु हामीलाई त्यही नामले फलानाको छोरो भनेर चिन्छन् । हामी लुङ्सुङ्दाङ्, आमचोक आउजाउ गरिरहन्थ्यौँ । हामीजस्ता केटकेटीलाई ता के थाहा ,ठुला मन्छेलाई पनि घरमा त्यस्तो बज्रपात होला भन्ने अनुमानसम्म थिएन । इलामको पश्चिम चारखोला क्षेत्र इलामका लागि जुम्लाजस्तै थियो । विकास कुन चराको नाम हो थाहा थिएन । इलाम सदरमुकाम र त्यसभन्दा पूर्व दार्जिलिङको प्रभावले अलिक अगाडि नै थियो । हाम्रो चारखोलातिर शिक्षा, स्वास्थ्य, यातायातको विकासको नाम निसान पनि थिएन । पहिलो विद्यालय नै वि सं. २००८ सालमा स्थापना भएको आमचोकको सिंहदेवी प्रा. वि. हो । पछि मा.वि. भएर पहिलोपटक एस्. एल्. सि. मा २०२२ सालमा समावेश भएको थियो ।
तत्कालीन प्रधानपञ्च टिकाराम ढकालको अगुवाइमा र इलामका धर्म गौतम प्रधानाध्यापक हुदा उहाँको सक्रियतामा तिनताकाको हाईस्कूल बनाइएको हो । हामीलाई श्री सिंहदेवी हाईस्कूल भनेरै पढाइन्थ्यो, लेखाइन्थ्यो र त्यो प्यारो विद्यालयलाई त्यस्तै लेख्न मनलाग्छ । धर्म सरले रामदेव शर्मासरलाई मेची क्याम्पस भद्रपुरबाट ल्याएर विद्यालयको प्रधानाध्यपकको जिम्मा छाडेर आफू निजामति सेवातिर जानुभयो । धर्मसरसँग पछि २०४८ सालको निर्वाचनमा मतदान अधिकृत भएर तोपगाछीको सरस्वती प्रा.वि. मुजुरभिट्टा मतदानकेन्द्रमा आउदा भेट भएको थियो ।म धेरै पछिको विद्यार्थी भएकाले उहाँका बारे त्यति धेरै जानिनँ पनि । बुवासँग राम्रै दोस्ती थियो क्यार त्यसबेला हाम्रा घरमा पनि अउनुभयो ।
त्यतिबेला बल्ल हाईस्कूल बनेको हाम्रो चारखोला क्षेत्र प्रचीन युगमै बाँचेको थियो । करिब चेतना शून्य समाज थियो । खेतीपाती, घरगोठमात्र जीविकाका उपाय थिए । पढेगुनेका मान्छे पाउनु तराईमा गुराँसको फूल पाउनुजस्तै थियो । त्यही साल अर्थात् २०२२ सालमा हाम्रा घरमा बिफर पसेको कहिल्यै बिर्सन नसकिने पीडादायी घटना थियो । त्यही सम्झनास्वरुप त्यस सालको आमचोकको ऐतिहासिक शैक्षिक उपलव्धी पनि कोट्याएको हुँ ।
हाम्रालागि हर्ष र पीडा एकैसाल आए । बिफर कहाँबाट आयो थाहा छैन । हजुरबा डाँडाखोलाका पुरोहित भएकाले हिडिरहनुहुन्थ्यो । हामी हजुरबालाई बा भन्थ्यौँ । बाबुलाई बाबु नै भन्थ्यौँ । धेरै पछि बुवा भन्ने चलन आयो । त्यो कताबाट कसरी आयो मलाई थाहा पनि छैन । हाम्रा मुखमा चैँ बाबु र बा परिवर्तन हुन नसक्ने गरी बसिसकेका थिए । अहिले मैले बुवा भन्नु र लेख्नु, हजुरबा भन्नु र लेख्नु दोस्रोपटक जबर्जजस्ती सिकेको हो । फुएँलबारीमा बालाई बिफरले भेटाएछ । उहाँ ज्वरोले ग्रस्त हुनुभयो । अघिल्लो साल चैतमा हाम्री आमै अर्थात् हजुरआमा बितिसक्नु भएको थियो । हजुरबा साह्रै बिरामी हुँदै गएपछि कान्छाकाका अलिक डराउनुभएछ । लुङ्सुङ्दाङ्बाट बुवाहरुलाई बोलाउनुभयो । बुबाहरु पाँचैभाइ सबै भेलाभएर बस्नुभयो । तिनताकाको जरीबुटी आदिइत्यादि जानेबुझेको ओखतीमुलो गर्नुभयो । बालाई त्यसले छुदैछोएन । दिनदिनै बिरामले च्यप्तै लग्यो । बिसको उन्नाइससम्म पनि भएन । बरु दिनदिनै उँFभो चड्दै गयो । खतराको घन्टी बजेको सबैले अनुमान गरे ।
एककान दोकान मैदान भयो । लौ माइला पुरेतलाई ता अपुर्वीले भेटायो रे भनेर सनसनी भयो । त्यतिबेला हाम्रातिर बिफरलाई अपुर्वी भन्थे । बिफर भनेको ता पछि सुनियो । बा दिनदिनै सिकिस्त हुदैजानुभयो । घरमास्तिर बरको रुख थियो । कोही गाउँलेहरुले त्यहाँ एउटा काठ गाडेर ढुङ्गो झुण्डाएछन् । त्यसलाई थारमुङ्ग्रो भन्थे । अधिकारीका घरमा जान हुदैन, अपुर्वी पसेको छ । त्यसैले बरका फेदमा बाटामा थारमुङ्ग्रो गरेको छ भन्थे । त्यो कुरा चैतबैसाखको हुरीजस्तै फैलियो । त्यसदेखि डराउने आएनन् । नडराउनेहरु आउदैजाँदै गरे । ओल्लो गाउँ पल्लो गाउँ सबै त्राही त्राही भयो । हुदैजादा बाको बाँच्ने आस हराउदै गयो । बुवाहरु पाँचैजना,आमाहरु भ्याउनेजति जम्मा भएर बस्नुभयो । जेठीफुपू र फुपाजु आउनुभयो । कान्छी फुपू पनि आएर बस्नुभयो । उहाँ निकै कडा हुनुहुन्थ्यो । छिछिदुर्दुर् गर्ने गाउँलेहरुलाई “समस्या सबैकहाँ पर्नसक्छ । भगवानले नदेखेको काहीँ हुदैन । अभर परेकाबेला धेर नगर्नू” भनेर थर्काउनु हुन्थ्यो ।
गाउँका एकाध शक्तिशालीहरुले थर्कमान पार्न खोज्थे । गाउँमा दोहोरो थर्कमान थियो । एउटा ता डाँडाखोलाका नाम चलेका पुरेहित “माइला पुरेत बा” बिरामी हुदा कसरी नजानू ! फेरि हाम्रो परिवार पनि निकै ठुलो र समाजमा परिआउँदा जस्तोसुकै सहयोग गर्न पनि पछि नहट्ने खालको थियो । त्यसैले नजानुपनि समस्यै भएको थियो । अर्को भने गाउँका जान्नेसुन्ने बुज्रुक भनाउदा कसैले थारमुङ्ग्रो गरेर आउजाउ गर्न प्रतिबन्ध लाएका थिए । त्यो बेलासम्म हाम्रा ठाउँतिर त्यस्ताको निकै हाइदुहाइ थियो । महामारीबाट बँच्न जोगिनुपर्ने रहेछ तर हाम्रो त्यो बेलाको चेतना लगभग शून्य समाजमा त्यसरी चेतना जगाउने कुरै थिएन । कसैलाई त्यो तरिकै थाहा रहेनछ ।
लुङ्सुङ्दाङ् र लामिछाने गाउँतिरका कति गाउँलेहरु जुकेनी खेतको सिरानको कुलाको बाटोबाट आउजाउ गर्थे । पश्चिमतिरकाहरु तलतिरबाट आउजाउ गर्थे । पौडेल गाउँकाहरुलाई सबैले माइलामामा भन्ने गरेका पौडेल माइला हाम्रा छिमेकीले परेका बेला सहयोग गर्नुपर्छ भनेर थुम्थुम्याउनु भएको थियो । कति ता डराएर आउजाउ नै गरेनन् । धेरै भने बिहान, बेलुका, राति मिलाएर आउजाउ गर्थे । बिरामले च्यापेर बा नबाँच्ने अवस्था भएपछि कसैले त्यो थारमुङ्ग्रो उखेलेर फ्याँकिदिएछ । त्यसले पनि एकखालको सनसनी फैलियो । तर छिछिदुर्दुर् गर्नेहरुको संख्या थोरै थियो अझ भनौँ सकिइसकेको थियो । जति भए पनि प्रभाव चैँ डराउनेलाई अलेली पार्थे । व्रmमशः उनीहरुको केही लागेन । युवाहरु पनि सरसहयोगमै जुटेकाले गाउँलेहरुको पाखुरे शक्तिले जित्तै लग्यो । बुवा आमाहरु आमचोक गएपछि लुङ्सुङ्दाङ् हाम्रा घरमा हामी केटाकेटीमात्रै रह्यौँ । हामीलाई पनि कार्की बाहरु आएर खबरदार पारी आमचोक घरमा आउजाउ गरौला ! अपुर्वी सारेर ल्याउला ! भनेर दिनहूँ खै गरिरहनुहुन्थ्यो । हामी भने पालैपालो बेलुका राति जान्थ्यौँ र बिहानीपख घर आउथ्यौँ । हाम्रा गाउँमा दोकानघर बा सबैका अभिभावकजस्तै हुनुहुन्थ्यो । उहाँको राम्रै हैकम चल्थ्यो । घरमा आएर आमचोक बा घर नजान भनिरहनुहुन्थ्यो । अहिले सम्झिँदा उहाँ धेरै सचेत हुनुहुदोरहेछ । त्यो महामारी सरुवा रोग भएकाले जोगिनुपर्ने नै रहेछ तर हामीलाई त्यस्तो चेतना पलाएकै थिएन ।
एकदिन दोकान घर बा आएर आमचोक बाबुआमा भएठाउँमा गएर अपुर्बी लिएर आउला भनेर निकै कडागरी खै गर्नुभयो । म पनि दशवर्षको ठिटो बडी आइजाइ गरिरहन्थेँ । अलिक झोँक चलेछ । बा फिर्नलाग्दा पछाडि गएर “बा म भोलि बिहानै आमचोक बाघर गएर तपाईँकहाँ आउँछु है” भनेँ । मेरो छुल्याइँ कुरो बाले सुनिहाल्नुभएछ । फर्किएर “ए बजिया के भनिस् अरे” भनेर बाङ्गे लौराले छोपिहाल्नुभयो । मेरो पालो खुरुरुरु कुदेर पल्लापट्टि बडाबाका खोल्मामा चडेर परालका भारीका विचमा सास दबाएर लुकेँ । बा एकछिन् यताउति खोजेर कराउँदै फिर्नुभयो । उहाँको नाति चन्द्र मेरो साथी थियो । बा गएपछि म हाँस्तै दिदीहरु भएठाउँमा आएँ । किन छुल्याइँ गरेको भनेर दिदीहरुले कराए । पछि मैले बुझेपछि बाको खैगराइलाई सम्मान गरेँ र मेरो ठिटौलेपनलाई सम्झिएर मन अमिलो पनि भयो ।
गाउँघरमा मायामोह सघाउपघाउ धेरै नै हुन्छ । त्यसमाथि पनि तिनताकाको गाउँले जीवन साच्चै एकआपसमा मिलेर बसेको हुन्थ्यो । केटाकेटीमात्र भएकाले गाउँका बा, आमा आएर हामीलाई हेरचाह गरिरहनुहुन्थ्यो । कान्छाबाका छोरा काकाहरु ,पोख्रेल ठुलाबाका घरबाट र सुबेदी मावलीबाका घरबाट अनि डाँडाघरे कार्की बाका घरबाट साह्रै सघाउपघाउ भयो । उहाँहरु छिमेकी हुनुहुन्थ्यो । हामी केटाकेटीमात्र भएकाबेला उहाँहरु सहारा हुनुभयो । आपतमा परेको परिवार भनेर हामीप्रति सहानुभूति पनि थियो । बेलुकीपख भएपछि को आउनुहुन्छ भनेर हामी बाटो हेर्थ्यौँ ।
यस्तै हुँदाहुँदै आमचोक घरमा बा बित्नुभयो । महामारीले बितेकालाई जलाउनुहुँदैन भन्ने बुझाइ रहेछ । बाले नै पनि चेत हुँदैखेरि माथि लुङ्सुङ्दाङ्का सिरान घर्तेडाँडाका थाप्लामा राखिदिनू भनेर छोराहरुलाई अराउनुभएको रहेछ । बा लुङ्सुङ्दाङ्का घरमै जन्मी हुर्की गरेर पछि आमचोकको फुएलसँग बारी किन्नुभएको थियो । आफू हुर्केबडेको ,खाएखेलेको ,घरगोठ गरेको ,घाँसदाउरा गरेको वन भएकाले बालाई त्यसको मोह असाध्यै रहेछ । कहिलेकाहीँ आमचोकबाट आएर मलाई हातमा समाएर त्यता हुदै गोठ राख्ने लेकतिर घुमाउन पनि लानुहुन्थ्यो । बुवाहरुले दाउरा चिरेका ठाउँतिर पनि लानुहुन्थ्यो । हाम्रो घाँसदाउरा गर्ने वन त्यही थियो । अहिले काकाहरुका छोरा , भाइहरु मलाई बाको चिहान देखाउन लैजानू भनेर ढिपी गर्दैछन् । मौका मिलाएर लैजाऊँला भनेको छु । त्यही घर्तेडाँडाका थाप्लामालगेर चिहान बनाएर राखिदिनू भन्ने उहाँको इच्छा अनुसार नै बुवाहरुले गरिदिनुभयो । त्यहाँ जान आमचोकबाट ठाडो उकालो जानुपर्छ ।
ठाडो बाटो भँडारी चौर हुदै डाँडातिर लास हिँडाउनुभयो । डराउने मलामी गएनन् नडराउने गए । मलामी नजान र डाँडामा नलान पनि कतिले नभनेका भने होइनन् । त्यो वनमा लान कसले रोकेर रोकिन्थ्यो र ! त्यसरी थर्काउने थोरै अर्थात् एक दुईमात्र थिए । तिनका थर्काइ पनि कुनै काम नलाग्ने कमजोर भैसकेका थिए । किनभने महामारी फैलिएर जसकहाँ पनि समस्या हुनसक्छ भनेर सबै गाउँलेहरु सचेत भएका थिए । सरसहयोग ,भरथेगका लागि एकजुट भएका थिए । कडा अवरोध गरेर रोक्नसक्ने हिम्मत कसैको थिएन । गाउँले युवा कम्मर कसेर सहयोगमा जुटेका थिए । तिनताका अहिलेजस्तो सरुवा र महामारीबाट कसरी बँच्ने भन्ने चेतना थिएन । हुन त बिफरजस्तो घातक सरुवा रोगबाट अलग्गै बस्नु नै श्रेयस्कर रहेछ । तर आ–आफ्नो समाजको चेतनाको स्तर अनुसार व्यवहार हुने नै भयो । राम्ररी सम्झाइ बुझाइ गरेर के कसो गर्ने भन्ने जानेबुझेर समस्यासँग जुध्ने उपाय अपनाउनुभन्दा जान्नेसुन्ने केही ठुलाठालुले थर्काएरै ठिक पार्ने चेतना रहेछ । त्यो सामाजिक चेतनाको कुरा हो, व्यक्तिको गल्ती वा दोष भने होइन । त्यस्तो गाउँघरको परम्परागत शैली कमजोर भएर त्यसको त्यान्द्रोमात्र बचेकाले त्यति गतिलो काम गरेन । महामारीसँग जुध्न समाज एकजुट हुदैगयो ।
बा ता बितिहाल्नुभयो तर घरमा बिफरको बिगबिगी झन् बढेर खपिनसक्नु गर्न थाल्यो । बाका सबै छोरा, बुहारी ,छोरीज्वाइँ, बहिनीज्वाइँ भेलाभएर काजक्रिया सुरु भयो । काजक्रियामा आफ्नै परिवार ठुलो भएकाले घन्चमन्च नै थियो । जेठा फुपाजु पण्डित तारानाथ पौडेल कम्मर कसेर लाग्नुभयो । गाउँघरका मानिसहरु, इष्टमित्रहरु पनि आउनेजाने गरे । केही मानिसहरुमात्र डराए । महामारीदेखि डराउनु पनि अस्वाभाविक रहेनछ । त्यो ता धेरै पछि थाहा भयो । हामी घरबाट लुकीछिपी आउजाउ गरिरहन्थ्यौँ । बाबुआमा सबै भएठाउँमा केटाकेटी नपुगी कसरी सक्छन् र ! बिफरको आक्रमणभने अझ तिब्र बन्यो । हाम्रै घरमा साइला काकाको चारवर्षको छोरो मधुलाई लगिछाड्यो । हाम्री कान्छी बहिनी हीमा र साइलाकाकाको काखको छोरो दिनेशलाई साह्रै पारेर छोड्यो । अहिले पनि उनीहरुका अनुहारमा बिफरका दाग छन् । काजव्रिmयामा बसेका ज्वरोले भक्रन नै भए । गाउँघरमा तबाही मच्चायो । धेरै जनाको जीवनलीला समाप्त पारिदियो । लामिछाने हजुरबाका भन्जाहरुका घरमा गनुनगर्नु गर्यो ।
लुङ्सुङ्दाङ्मा पनि धेरै तबाही मच्चायो । बरझाँगे कार्की बडाबाकहाँ निकै धेरै क्षति गर्यो । अरु पनि धेरै घरमा पस्यो । आमचोक पनि धेरैतिर पीडित भयो । यसरी गर्नुनगर्नु गरेकाले त्यो बिफरको पीडालाई हाम्रो परिवारले बिर्सन सक्तैन । गाउँघरमा पनि त्यो पीडाले सधैँ घोचिरहन्छ । अब ता त्यो दर्दनाक कथा पुस्तान्तरण पनि हुदैछ । हाम्रै परिवारका नयाँ पुस्ताहरुले त्यो घटनालाई राम्ररी बुझेका पनि छैनन् ।
रातोदिन रमितेको ओरालो उकालो हिडेको, तल चाम्लिङ्का घरबाट उँधो नसुवा खोलातिर लागेपछि डरले मुटु कामेको र बाटा छेउका ढुङ्गा मुढा र रुखबुटाहरु भूत बनेर आपूmतिर आउदा धाइफल दिएर खोला दाहालका घरमा पुगेरमात्र सजिलो गरी सास फेरेको जस्ता बिफरका कारणले पाएका सास्ती मनमस्तिष्कमा अहिले पनि झलझली आउदारहेछन् । त्यसैले त्यो ठाउँभन्दा तल तराईमा बसिरहँदा पनि त्यस कुराले घच्घच्याइरहेर यो लेख्ने अवस्थासम्म पु¥यायो ।
मुजुरभिट्टा, तोपगाछी , झापा
माघशुक्ल अष्टमी, बाको श्राद्धका दिन
२०४२