तिते फापरको रोटी

हेम अधिकारी पोष्ट - खगिन्द्रा खुसी · भदौ १८, २०८१ ८:४५ AM
Cover Image for News

खाने परिकारहरु पनि कति हो कति हुन्छन् । खानाप्रतिको मान्यता हरेक समाजमा आ–आफ्नै किसिमको हुन्छ । अहिले स्वास्थ्य विज्ञानको विकासले खानेकुराहरु धेरै चिनायो । मानिसहरुका खानेकुराप्रति उस्तै अनेक धारणा बने । तर पनि समुदाय पिच्छे खानेकुराहरुका फरक फरक मान्यता छन् । धर्म र संस्कृतिपिच्छे खानेकुरामा केही न केही फरक मान्यताहरु छन् । हुँदाहुँदै पुस्ता पिच्छे पनि खानेकुराका मान्यतामा  फरकपन आइरहेको छ । त्यसैले के खाने के नखाने भन्ने मान्यताहरु समयसापेक्ष मात्र स्थापित भएका हुन्छन् ।
हाम्रो समाजमा अघिल्लो पुस्तासम्म बाहुनले च्याउ खाओस् न च्याउका बात जानोस् भन्ने उखान राम्ररी लागु थियो । लसुन, प्याज बाहुनले खानु हुदैनथ्यो । रामभेँडा झन् खानै नहुने । बडो अचम्म छ त्यस्ता राम्रा चिजहरु कसरी खान नहुनेमा परे । जाति प्रथाका ऐजेरुका रुपमा खानहुने र नहुने कुराहरु तयभएका पाइन्छन् । धार्मिक मामन्यताका आधारमाखान नहुने कुराहरु धेरै छन् ।तीकतिता राम्रा र सदाचार युक्त पनि छन् । कति भने मानवीय भावनामा चोट पु¥याउने खालका पनि छन् । फापर, कोदोजस्ता उपयोगी खानेकुरालाई कुअन्नमा वर्गीकरण गरेर वर्जित गरिएको थियो । तर ती अहिले खाद्य विज्ञानले अति उपयोगी खाद्यान्न प्रमाणित ग¥यो । 
यस्तैमा एउटा तितेफापरसँग सम्बन्धित मेरो बडो रोचक सम्झौटो छ । हाम्रो घर  गैरीबारी माथियो । त्यसैले मान्छेहरु हाम्रा पिताजीलाई गैरीबारी माइलो पनि भन्ने गर्थे । घरदेखि  निकै तलतल्लो बारी थियो । त्यहाँ हिउँदमा गोठ राखिन्थ्यो । बारी मल्नु पथ्र्यो । बस्तुका थला गरैपिच्छे सारी सारी बारी मलिन्थ्यो । भैँसी, गाई, गोरुका अलग्गै थला बनाएका हुन्थे । पाडाबाछा र मान्छेकालागि माझमा भकारीको गोठ बनाइन्थ्यो । पाडाबाच्छाका छेउमा गुन्द्री राडी र दरी ओछ््याएर गोठमा बस्नेको ओछ्यान हुन्थ्यो । अगाडि नजिकै आगो बालिन्थ्यो । लुगाबाहिर जानबाट छेक्नकालागि छेउतिर काठ वा बाँसको सडेस लाइन्थ्यो । 
गोठमा गाई घुरेको सुन्न बडो मजा आउथ्यो । छेउमा पाडाबाच्छा हुन्थे । भरखरका पाडा बाच्छाले हगे भाने साह्रै गनाउथ्यो । त्यसैले उठेर तल्ला गरातिर फ्याकिहाल्नु पथ्र्यो । घरमा बस्नभन्दा गोठमा बस्त मज्जा आउँथ्यो । माथिको हाम्रो कामीबारीदेखि अलिकमाथि रानी साइलीभन्ने एकजना हाम्री हितैसी राईनी थिइन् । हाम्रामा आउजाउ भैरहन्थ्यो । काम, खेतालापातमा उनको सारै भर थियो । 
मलाईबाहरुले बाहुनले तिते फापर खानुहँुदैन भनेको सुनेर तुलबुल लागिरहेको थियो । किन चैँन हुनेरहेछ चाख्नै पर्ला भनेर दाउ हेरिरहेको थिएँ । उनै रानी साइलीकहाँ गएर अलिकति तितेफापरको पिठो मागेँ । पहिले त उनले दिन मानिनन् । तँलाई किन चाहियो तितेफापरको पिठो भनेर पातपातै उडाइन् । खानलाई होला तेरा बाआमाले मार्छन् फुच्चे जादिँन भनिन् । सारै ढिपी गरेँ । त्यसपछि अलिकति दिइन् । त्यो पिठो ल्याएर मजाले पोको पारेर गोठका भित्तामा लुकाएँ । पिताजीको कताकता जाने काम परिरहन्थ्यो ।
शनिबारको दिन भएकोले म घरमा भात खाएर दिउसो गोठमा आएँ । एक्लै थिएँ । आज चैँ दाउ प¥यो भनेर तिते फापरको रोटी हाल्ने निधो गरेँ । च्याप्टो ढङुगो तताएर त्यसमा हाल्नुपर्छ भन्ने कुरा साथीहरुबाट थाहा पाएको थिएँ । एउटा च्याप्टो ढुङ्गो खोजेर ल्याएँ । मजाले धोएर खोले पकाउने अगेनामा मज्जैले तताएँ । त्यसपछि तितेफापरको रोटी बाक्लो गरी हालेँ । खनिउँका पातले मजाले छोपिदिएँ । अगेनामा मुढा पर पर सारेर भुङ्ग्रोमात्र राखेँ । रोटीताता ढुङ्गामा पाक्न थाल्यो । निकै बेरमा ढुङ्गापट्टि बाक्लो माम्रीलागेर पाकेछ । अर्कापट्टि फर्काएँ । काली भैँसी लैनु थियो । उसलाई निबाराको घाँस हाल्न गएँ । घाँस हालेर आउँदा मेरा अघि अघि गोठमा हजुरबा आइपुग्नु भयो । उहाँ ठुलो ज्यानका हुनुहुन्थ्यो । “के गर्दैछस् ? तेरो बाउ खोइ कतागयो ?” भनेर सोध्नुभयो । मैले के के जवाफ दिएँ । बा आउँदा सतर्क हुनुपर्ने । मैले तिते फापरको रोटी ता भुुसुक्कै बिर्सिएँछु । आगो किननिभाइस् । नाथे खोले पकाउने बेलाभयो भन्दै भैँसीको थलो हेरेर अगेनातिर लाग्नुभयो । मपनिलुखुर लुखुर पछि पछिलागेँ । अगेनामा पुगेर यो के हो ?आगो बाल् म खोले बसाइदिन्छु भन्दै बाङ्गे लौराले रोटी पो कोट्याउनु भयो । मजाले पाकेको तितेफापरको रोटीमाथिका पातझरे र रातो मुखै रसाउने माम्री लागेको रोटीलाई यसो भाँच्नु भयो । अबभने बाको पारो मजैले तात्यो , जङ्गिनु भयो । “नाथे खान नपाएर कसकाँ बाड तितेफपरको पिठो मागेर ल्याइस् अनि रोटी पकाइस् ? तेरा बाउका आँखा छलेर” भनिसक्ता नसक्ता मेरा डडाल्नामा बाङ्गे लौरो ड्याम्म भैहाल्यो । बा डाँडाखोलाका जानेमानेका पुरोहित म पुरोहितको नातिभएर तितेफापरको पिठो मागेर, रोटी खाने अनि नतातोस् त बाको पारो !
पर खोले पकाउने कराइमा हुत्याइदिएर कराउँदै हुनुहुन्थ्यो पिताजी टुप्लुक्कै आइपुग्नुभयो । केटाकेटीलाई के के खान सिकाउँछस् भनेर पिताजीलाई पनि गाली तोडिहाल्नु भयोे । बाका सामुन्ने कोही मुख फर्काउने आँट गर्नुहुन्नथ्यो । पिताजीले पनि तीन त्रिलोक चौध भुवन देख्ने गरी गालामा झ्याम्मै दिनु भयो । लु खास् तितेफापरको रोटी खाइस् । 
उहाँहरुले तितेफापरको अध्याय सकिहाल्नु भयो । अनि के के गफगर्न थाल्नु भयो । मेरो पालो सुँक्क सुँक्क गर्दै गोठका पछाडिको खड्काका बाँसघारी तिरबाट घरतिर सुइँकुच्चा ठोकिहालेँ । बाटामा मुख धोएर रोएको थाहा नपाउने भएर घर पुगेँ । आमाले थाहा पाउनुभयो भने तीन तेवालीपुग्ने डर ले जोगिनसम्म जोगिएँ ।
मेरो तितेफापर खाने धोको त बाँकी नै थियो । धेरै पछि, ठुलो भैकनमात्रै धोको मार्न पाएँ । जे होस् यो तितेफापर काण्ड एउटा राम्रै सम्झौटो बनेर रहेको छ ।

ट्यागहरू:
सहित्य literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
बिफरको तोबातोबा र थारमुङ्ग्राको कमाल
बिफरको तोबातोबा र थारमुङ्ग्राको कमाल
हेम अधिकारी पोष्ट - खगिन्द्रा खुसी - शनिबार ७ सेप्टेम्बर २०२४
द्रोण सर अब समाजको सम्पत्ति
द्रोण सर अब समाजको सम्पत्ति
कृष्ण धरावासी पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २२ अगष्ट २०२४
माईपोखरीको सेरोफेरो
माईपोखरीको सेरोफेरो
डा.गोपीकृष्ण खतिवडा पोष्ट-दिलिप घिमिरे - बुधबार १४ अगष्ट २०२४