देवकोटाको ११७औँ जन्मजयन्ती

हिँजो लक्ष्मीपूजा नेपालीहरुको महान चाड तिहारको विशेष दिन घरघरमा दिपावली गरेर धुमधामका साथ मनाइयो । यस्तै लक्ष्मी पूजाकै दिन नेपाली भाषा साहित्यका लागि पनि विशेष पर्वको दिन रहेको छ । विश्वभरका नेपाली भाषा साहित्यलाई माया गर्नेहरुले विशेष दिनका रुपमा लक्ष्मी जयन्ती मनाउने गरेका छन् । यस पटक देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा साप्ताहिक रुपमा विश्वभर विभिन्न कार्यक्रमहरु सम्पन्न भइरहेका छन् ।
वि. सं. १९६६ कार्तिक २७ गते ‘लक्ष्मीपूजा’को दिन काठमाडौँको डिल्लीबजारमा जन्मिएका देवकोटा नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन् । देवकोटा नेपाली कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी मानिन्छन् । मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू लेखेका उनका काव्यिक र निबन्ध विधामा गरेका योगदान उच्च कोटिका रहेका छन् ।
विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन । उनको निधन वि.सं. २०१६ भाद्र २९ मा पचास वर्षकै उमेरमा नै भएको थियो ।
उनको स्मृतिमा स्वदेश तथा विदेशमा रहेका साना तथा ठुला साहित्यिक सँस्थाहरुले भौतिक उपस्थितिमा तथा भर्चुअल कार्यक्रम सम्पन्न गरेका छन् ।




