शिक्षा र साहित्यको सम्बन्ध-पुण्यप्रसाद खरेल
यो शीर्षकमा लेख्न बस्तैखेरि मेरा दिमागमा एक प्रकारको दबाब सुरु भयो । शिक्षा भनेकै के हो ? सुरुमा यही वारेमा जानकारी नभई मेलो लाग्दैन लेखाइको । म शिक्षालाई कसरी उपयुक्त रूपमा परिभाषित गरुँ ? शिक्षालाई कसरी चिनाऊँ ? मनमा अनेकन तर्कनाहरू देखापर्दै हराउँदै गरे । मैले एक छिन् कलम बन्द गरेँ र सोचाइमा डुबेँ । मैले एक दिन एक जना विद्वान मित्रलाई सोध्दा उत्तर पाएको कुरा सम्झना भयो ।
मैले सोधेको थिएँ –“शिक्षा भनेको के हो ?”
उहाँले भन्नुभएथ्यो– “छोटोमा भन्ने हो भने शिक्षा भनेको उज्यालो हो ।”
“शिक्षा भनेको उज्यालो हो” भन्दैमा हुन्छ त ? मनमा कुरा खेल्दाखेल्दै विद्यार्थी छँदा विज्ञानका शिक्षकले ‘उज्यालो’को परिभाषा दिएको सम्झिएँ– “उज्यालो भनेको एक शक्ति हो, यसको सहयोगमा वरपरका अदीप्त वस्तुहरू हामी देख्न सक्छौं ।” मलाई यी कुराहरू मनमा आउँदा आउँदै हो कि, हो कि जस्तो पनि लाग्यो । साँच्चै, अँध्यारामा बाटो हिड्दा दायाँ–वायाँ केही देखिन्न, बाटामा ढुङ्गो न माटो, सून न फलाम केही छुट्याइन्न, भैसी न अर्ना चिनिन्न, सत्रु न मित्रु केही भेउ पाइन्न । छ्याङ्ङ उज्यालामा कस्तो सजिलो हुन्छ यात्रा ! शिक्षा साँच्चै उज्यालै रहेछ जीवनरूपी बाटोको ।
मैले झापा जिल्ला शिक्षा कार्यालयको एउटा कोठाको भित्तामा लेखिएको एउटा उक्ति सम्झेँ– “Education is nothing but it is formation of habits” अर्थात् शिक्षा भनेको असल आदतको निर्माण गर्नु हो । मलाई आफैंआफ बुझेँबुझेँ जस्तो पनि लाग्यो । मान्छेका आदत देखेका आधारमा हामी कसैलाई सभ्य र कसैलाई असभ्य भन्न पुग्छौं । आदिम मानिसमा नुहाउने, धुने, माझ्ने, पखाल्ने, शिष्टता जनाउने, आदर–सत्कार गर्ने कुनै आदत थिएनन् । शिक्षा र सभ्यतासँगै मानिसले ती आदत ग्रहण गर्दै जान्छन् । यही सन्दर्भमा मैले महात्मा गान्धीले आफ्ना छोराछोरीलाई कुनै विद्यालयमा पढ्न नपठाएको सार्थकता पाएको छु । उहाँले विद्यालयमा पढाउन पठाउने वारेमा कुरा गर्दा उल्टै प्रश्न गर्नुभएको थियो– “अङ्ग्रेजहरूका स्कुलमा गएर हाम्रा नानीहरूले के सिक्छन् ?”
शिक्षाकै वारेमा मैले पढेको अर्को एउटा कुराको प्रसङ्ग पनि यहाँ चर्चा हुनु सान्दर्भिक होला । शिक्षा सिकाइका तीन चरण हुन्छन् – (क) ज्ञानमा परिवर्तन (ख) धारणामा परिवर्तन (ग) व्यवहारमा परिवर्तन अर्थात् आदतमा परिवर्तन । मानौं हामीले आफूलाई थाहा नभएको सौरमन्डलको वारेमा सिक्यौं । त्यसअनुसार सूर्य प्रमुख पिन्ड हो र यो केन्द्र भागमा छ । सूर्य अकुत तापशक्तिले युक्त पनि छ । यो दीप्त पनि हो । यसका साथ नौ वटा ग्रहहरू छन्, उपग्रहहरू छन् । चन्द्रमा पृथ्वीको उपग्रह हो । यति कुरा सिकिसकेपछि सूर्य या चन्द्रमालाई भगवान मान्ने हाम्रो सोचमा परिवर्तन आउन थाल्छ । तर यतिमै मानिसहरू सूर्यलाई भगवान मान्न छाडिहाल्दैनन्, चन्द्रमालाई अर्घ दिन छाडिहाल्दैनन् । बुझ्दा–बुझ्दा ज्ञानमा वा सोचमा आएको परिवर्तनबाट मानिसको धारणामा परिवर्तन आउँछ । “हो त साँच्चै, सूर्य–चन्द्र त प्राकृतिक रूपमा स्वभावैले मौजुद छन् । हो, हाम्रो जीवनमा तिनको असिमित महत्त्व छ, तथापि ती भगवान होइनन् । ती भौतिक पिन्ड मात्र हुन् भन्ने धारणा बन्छ अनि आफूले सूर्यतिर फर्केर अनेक अभिनय गरीगरी ढोग्ने, चन्द्रमालाई पूर्णिमाका साँझ अर्घ दिने त गर्दैनौं–गर्दैनौं, बरु अरुले त्यसो गरेको देख्ता पनि हाँसो उठ्न थाल्छ । यसबाट प्रष्ट रूपमा हामी के बुझ्छौं भने शिक्षाले सदैव पुरानो र गलत संस्कृतिलाई केरमेट गर्दे नयाँ र उपयुक्त संस्कृतिको निर्माण गर्दै जान्छ । कसरी भने एउटा भूगोलमा बस्ने आम मानिसहरूमाझ एक प्रकारको शिक्षाले आम रूपमा एउटा धारणाको विकास हुन्छ र त्यसअनुसारको आदत सबैजसोले ग्रहण गर्छन् । आम मानिसहरूको एकै प्रकारको धारणा र आदतले त्यहाँको संस्कृतिको अभिव्यक्ति गर्दछ । एकाथरि मानिसको गाईलाई माता मान्ने धारणा र सबैले निश्चित दिन पूजा गर्ने या गाईको पगाहा (दाम्लो) समेत ननाघ्ने आदतबाट यो कुरा बुझेहुन्छ । अर्काथरी मानिसहरू गाई काटेर खाइरहेका पनि छन् । उनीहरूको त्यही प्रकारको आदतको विकास भैरहेको छ ।
यतिसम्म चर्चा हुँदा मलाई लाग्छ हामीले शिक्षा भनेको के हो भन्नेवारे केही झलक पायौं । शिक्षा भनेको जीवनको बाटोमा हामीलाई के गर्ने, के नगर्ने, कसरी गर्नुपर्छ र कसरी गर्न हुँदैन भन्ने वारेमा जानकारी गराउने नै हो । कसैले सम्झन्छन्– विद्यालय वा महाविद्यालय–विश्वविद्यालयमा पढ्नु नै शिक्षा हो । एस.एल.सी, आइ.ए. वा बी.ए. हुनु शिक्षित हुनु हो अर्थात् निश्चित नियम परिपालना गरेर कुनै संस्थामा नियमित रूपमा किताब–कापी बोकेर जानु र निश्चित अवधिपछि यति पास–उति पास भन्ने प्रमाण पत्र लिएर निस्कनुलाई शिक्षा लिनु भनेर बुझ्छन् । हुन त शिक्षा त्यो पनि हो, तर त्यति मात्र होइन । मानिसले शिक्षा मूलतः दुई किसिमले प्राप्त गर्दछ– पढेर र परेर । पढेर प्राप्त गर्ने शिक्षालाई प्राय हामी सबैले बुझेका छौं, झन्डै त्यो मात्रै शिक्षा हो भन्ने पनि ठानेको हुनसक्छौं । परेर सिकिने शिक्षाको विविधता, जीवन्तता, दीर्घकालिकता वारे बुझ्यौं भने त्यस शिक्षाको चमत्कारिकता हामी बुझ्थ्यौं होला । जे होस् ! शिक्षा भनेको शिक्षा नै हो, बाँच्ने कला सिक्नु हो । सबैभन्दा बढी शिक्षा त मानिसले श्रमबाट नै प्राप्त गर्छ र गरेको पनि छ । श्रमकै कारणले मानिसका अङ्गहरूको परिमार्जन भएको पुष्टि गर्छन् वैज्ञानिकहरू । रुसका महान् साहित्यकार गोर्कीको आत्मकहानीको कृति ‘मेरो विश्वविद्यालय’ पढ्ने हो भने पनि शिक्षाको वारे बुझ्ने एउटा झिल्को प्राप्त हुन्छ । गोर्कीले त कुनै औपचारिक विद्यालय वा महाविद्यालयमा पढेका होइनन् । उनी जहाँजहाँ खातेजस्तो भएर हिँडे, मोचे भए, पत्रिका बेच्ने हकर भए, कुल्ली भए, सइस भए अर्थात् रुसका गरिब र बेसहारा केटाकेटीले गर्ने सबै काम उनले गरे । ती काम गराइबाट प्राप्त गरेको शिक्षा कुनै विद्यालय–विश्वविद्यालयबाट प्राप्त गरेको शिक्षाभन्दा अव्वल, बढी यथार्थपरक, बढी प्रभावकारी, बढी दीर्घकालिक रह्यो र त्यसकै परिणामले गोर्की ‘गोर्की’ बने ।
शिक्षालाई विद्याको पर्यायको रूपमा पनि मानिन्छ । विद्याको प्रशंसा गर्दै संस्कृतमा एउटा श्लोक लेखिएको छ– “न चौरहर्यम् न च राजहर्यम् न भ्रातृभाज्यं न च भारकारी ...” अर्थात् चोरले चोर्न पनि नसक्ने, राजाले हरण गर्न पनि नसक्ने, खर्च गर्दा बढ्दै जाने शिक्षा रूपी धन सबै धनहरूमध्ये श्रेष्ठ धन हो । मानिसका निमित्त उसले सिकेको जिउने कला वा सिप नै सबैभन्दा ठूलो सम्पत्ति अवश्य हो । त्यो सिप त ऊ बाचुन्जेल कसैले खोस्न, लुट्न, चोर्न त साँच्चै सक्तैन नै ।
शिक्षाको वारेमा यो छोटो परिचर्चा गरेपछि साहित्य भनेको के हो त ? यस वारे पनि अलिकति बुझ्ने प्रयत्न गरौं । यस बेला मलाई अलिकति प्रसिद्ध चिनियाँ साहित्यकार लुसुन किन साहित्यकार बने भन्ने प्रसङ्ग कोट्याउन मन लाग्यो । लुसुन, आफ्नो देशका गरिब जनताले आर्थिक अभावले उपचार गराउन नसकी दुःख पाएको देखेर त्यस्ता जनतालाई डाक्टर भएर सेवा गर्ने उद्देश्य राखी ‘डाक्टर’ पढ्नका लागि जापान गएका थिए । एक दिन जापानमा चिनियाँ विद्यार्थीहरूमाझ एउटा फिलिम देखाइयो । त्यो फिलिममा एउटा यस्तो दृश्य थियो जहाँ गरिब चिनियाँहरूलाई तुच्छ गाली दिइन्थ्यो, तिनलाई चोरीको, फट्याइँको आरोपमा निम्नस्तरको कडा सजायँ दिइन्थ्यो । जापानीहरूलाई भने सभ्य, सुखी र त्यो आदेश दिने, न्यायगर्ने देखाइन्थ्यो । त्यो फिल्म हेरेर अरु चिनियाँ साथीहरू मनोरन्जन लिइरहेका थिए, हाँसिरहेका थिए । फिलिमको त्यो दृश्य र साथीहरूको त्यो हाँसोको यावत् दृश्यले लुसुनलाई गम्भीर झड्का दियो । आफ्नै बन्धुहरूउपर भएको त्यो अपमानजनक व्यवहारले नचेतेका आफ्ना मनका रोगी साथीहरूप्रति दुःख उब्जियो । देशभक्ति, राष्ट्रियता र स्वाभिमानी भावनाले प्रशिक्षित नहुने हो भने शरीर मात्र निरोगी भएर, बलियो भएर केही कामको हुने रहेनछ । त्यसकारण शरीरको रोगको होइन मनको रोगको शल्यक्रिया मूलकुरा रहेछ भन्ने तथ्य बोध गरी लुसुनले साहित्य लेखनीको कलम समाए । हुन पनि उनका कलमका कारणले करोडौं चिनियाँ जनता निस्लोट निन्द्राबाट व्यूँझे । अर्थात् उनको साहित्य लेखनीले करोडौं चिनियाँ जनता शिक्षित भए । उनको अठोट सफलिभूत भयो नै भन्नुपर्छ किनभने चिनियाँ व्रmान्तिका महानायक माओसेतुङले लुसुनका वारेमा भन्नुभएको छ– “उहाँ हामी व्रmान्तिकारीहरूमध्ये सर्वाधिक शक्तिशाली व्रmान्तिकारी हुनुहुन्थ्यो । उहाँको अभावमा चिनियाँ व्रmान्ति अपूरो रहन्थ्यो ।”
मलाई लाग्छ, झन्डै–झन्डै हामीले साहित्यको भूमिका के हो भन्ने पनि बुझ्यौं । कसैले “साहित्य समाजको दर्पण हो” भन्छन् । यसैलाई कसैले जीवनको दर्पण पनि भन्छन् । हुन पनि समाज भनेको जीवनहरूको समष्टि नै त हो । यस बेला एउटा रुसी उखानको सम्झना हुन्छ– “यदि तपाईँको चेहरा कुरूप छ भने दर्पणलाई दोष दिनु व्यर्थ हो ।” यो उखानसँग प्रसङ्ग जोड्दै प्रसिद्ध रुसी साहित्यकार म्याक्सिम गोर्की चर्चा गर्नुहुन्छ– “साहित्यको महान गौरवका अगाडि यो मुहार कुरूप देखाउने दर्पणको भूमिका उपयुक्त होइन । चेहरा कुरूप देखियो होला । चेहरा आफैंले चाहेर कुरूप भएको त होइन । बरु उसका जीवनमा यस्ता किसिमका शक्ति र क्रियाप्रतिक्रियाहरूले खेल खेले । परिणामस्वरूप आफ्ना अनुहारहरू कुरूप वा विकृत हुन पुगे । साहित्यको दर्पणमा त्यो अनुहार कुरूप बनाउने शक्तिहरू, ती छलकपट र खेलहरू, ती क्रियाप्रतिक्रियाहरू पनि आउनुपर्छ ।”
जब साहित्य ऐना बन्दछ र त्यस ऐनामा हाम्रा समाजका यावत् निम्न वर्गका मानिसहरूको खुम्चिएको कुरूप अनुहार आउँछ, अनुहारलाई त्यस्तो कुरूप बनाउने शक्ति र क्रियाप्रतिक्रिया पनि आउँछ र त्यो हाम्रा बन्धुवान्धवले देख्छन् भने के हुन्छ ? बन्धुवान्धवका आँखामा उज्यालो पर्छ, बन्धुवान्धवहरूका मनमा शिक्षा पस्तछ । अनुहार कुरूप बनाउने त्यो शक्ति, ती क्रियाप्रतिक्रिया, ती छलकपटका स्रोतहरू निमिट्यान्न पारेर अनुहार सुन्दर पार्न लाग्नेछन् ।
त्यसोभए हामीले अब बुझ्यौं साहित्य भनेको शिक्षा नै हो । त्यसोभए शिक्षा भनेको चाहिँ साहित्य हो कि होइन त ? प्रश्न उब्जिन्छ । कुनैकुनै शिक्षा साहित्य हुनसक्छ तर कुनै शिक्षा साहित्य हुनै सक्तैन । एउटा भनाइ म सम्झन्छु– “सबै फूलहरू रङ्गीन हुन्छन् तर सबै रङ्गीन वस्तुहरू फूल हुन सक्तैनन्” । यसरी नै भन्ने हो भने भन्न सकिन्छ कि सबै साहित्य शिक्षा हो तर सबै शिक्षा साहित्य हुन सक्तैन । साहित्यको सिर्जना सामान्यतः जनताको आदत निर्माणकै लागि हुन्छ ।
“ठेस लागेपछि बुद्धि बढ्छ”, “एक फेरा नपरी कसरी चेतु”, “अभागी पर्यो भाग्यमानीले चेत्यो” यी टुक्काहरू सबै शिक्षा प्राप्ति सम्बन्धी नै हुन् तर ती साहित्य होइनन् । साहित्य भनेको मानिसको मनलाई आनन्दित पार्दै, मोहित पार्दै शिक्षित पार्ने कलात्मकतायुक्त लेखन हो । साहित्य त लेखन, पठन, वाचन, श्रवणको प्रक्रियामार्फत् सम्प्रेषण गरिने विषय हो । समाजको उन्नतिको निमित्त पुराना रुढीगत बानीबाट मानिसलाई सभ्य बानीमा रूपान्तरित गर्नका निमित्त साहित्यको विकल्पमा अर्को कुनै भरपर्दो साधन पाइएको छैन । साहित्य नै यस्तो हतियार हो जसले “आफ्नो बानी को छोड्छ अर्काको बानी को लिन्छ ?” भनी ढिपी कस्ने ढिपिसिङलाई पनि उसले नचाहँदा नचाहँदै अर्को बानीमा बदलिदिन सक्छ ।
सरल कथा, सरल उपन्यास, सरल नाटकहरू सामान्य मानिसको चेतनालाई ग्राह्य र पढौं–पढौं लाग्दा विषय हुन् । बौद्धिकहरूका लागि अथवा पढ्ने व्यसनीहरूका लागि कविता, काव्य, महाकाव्य, निबन्ध उपयोगी विषयहरू हुन् । यी सबै विधामा साहित्यकारले समाजलाई शिक्षित पार्ने विषयवस्तुको घोल तयार गर्छन् । त्यो घोल बालबालिकालाई दिइने औषधीजस्तो मिठो र जीवनस्वास्थ्यका लागि हितकर हुन्छ । जनता जब त्यस्तो साहित्य पढ्छन् अपूर्व रूपमा उनीहरू शिक्षित बन्दछन् । साहित्यले मानिसको हातलाई, खुट्टालाई होइन दिमागलाई प्रभावित पार्दछ, मुग्ध पार्दछ र नयाँ ज्ञान स्थापित गरिदिन्छ । हिजोको मानिस क्रमशः अर्कै बन्दछ । त्यसकारण साहित्यले सांस्कृतिक व्रmान्ति गर्ने सशक्त हतियारको काम पनि गर्दछ र नयाँ संस्कृतिको स्थापना गर्दछ ।
औधी राम्रो लाग्यो।सरलाई बधाई