भावपूर्ण श्रद्धाञ्जली प्रगतिवादी सर्जक सरोज ओलीसर

लीला अधिकारी पोष्ट- खगिन्द्रा खुसी · कार्तिक २६, २०८१ ७:५६ PM
Cover Image for News

प्रगतिवादी सर्जक सरोज ओली वि.सं.१९९८ सालमा तेह्रथुम जिल्ला, आठराई होडाको याख्खा गाउँमा पिता जगतमणि र माता सरस्वती ओलीका साहिंला पुत्ररत्नका रूपमा जन्मिएका थिए । घर आँगनको अनौपचरिक एवम् विद्यालय र कलेजको औपचारिक शिक्षाबाट प्रशिक्षित बन्दै सरोजकुमार ओली वि.सं.२०१४ सालदेखि साहित्य लेखनमा कविताका माध्यमबाट सरोज ओलीका नामले देखा पर्दछन् । तत्पश्चात् कविता, आख्यान, निबन्ध, जीवनी आदि विधामा आफ्ना अभिव्यक्ति उनी पस्कदैँ आए । जीवनका दीर्घतर क्षण शिक्षण पेशामा बिताएका ओली शैक्षिक अभियन्ता मात्र नभएर उनी एक साहित्यिक अभियन्ता र कुशल सङ्गठक पनि हुन् । सिर्जना कर्ममा सदा सक्रिय सर्जक सरोज ओली साथीभाइ र सानाठुला सबैसँग बाक्लै सम्पर्क गरी सन्चोबिसन्चो तथा प्रगति र क्रियाशीलता विषयमा चासो राखी रहन्थे । मिलनसार स्वभावका उनी सर्जकहरूमाझ निकै रमाउने गर्दथे । उनले सेवा निवृत्त जीवन जिउने क्रममा सृजनात्मक फाँटलाई उत्तरार्ध समयमा अझ हराभरा पार्दै ल्याएको फेला पर्दछ । उनका प्रकाशितसँगै अप्रकाशित रचनाहरू पनि निकै सङ्ख्यामा रहेका छन् ।

लेखक - लिला अधिकारी
नेपाली विभाग प्रमुख 

मेची बहुमुखी क्याम्पस,भद्रपुर 

साहित्यकार सरोज ओलीको पहिलो प्रकाशित कृति ‘विद्रोह र मुक्ति’ (२०४८) हो । कविताबाट सिर्जनात्मक फाँटमा देखा परेको ओलीको कलम कविता, आख्यान, निबन्ध जीवनी लगायतका क्षेत्रमा बढी फस्टाएको देखिन्छ । उनका कविताहरूको प्रकाशित दोस्रो सँगालो ‘सरोज ओलीका कविता’ (२०५२) नामक काव्य कृति हो । कथामा  ‘मुटु छुने कथा’ (२०५०) कथा सङ्ग्रह, र ‘स्टे थिस सागरदेखि हिमालसम्म’ (२०६१) कथा सङ्ग्रह पाठकमाझ आइसकेका कथात्मक कृतिहरू हुन् । यस्तै उपन्यासमा ‘हडतालै हड्ताल, जुलुसै जुलुस’ (२०६७) र ‘माटोको माया’ (२०७१) दुईवटा औपन्यासिक कृति सार्वजनिक भइसकेका छन् । 

यसबाहेक विभिन्न समयमा लेखिएका र पाण्डुलिपिका रूपमा रहेका रचनाहरू पनि प्रशस्तै रहेका छन् । त्यसमा पनि उनका तीनवटा देशप्रेम, याङ्च, सजाय शिर्षकका उपन्यास प्रकाशोन्मुख अवस्थामा छन् । यसैगरी ‘छरिएका कथाहरू’ शिर्षकको कथासङ्ग्रह, ‘ओलीका केही कविता’, कविता सङ्ग्रह तथा ‘ओलीका निबन्ध’, निबन्ध सङ्ग्रह अप्रकाशित रूपमा रहेका छन् । यस अतिरिक्त उनका विभिन्न पत्र-पत्रिकाहरूमा फुटकर रूपमा छरिएर रहेका रचनाहरू पनि प्रकाशनको उज्यालोलाई पर्खिरहेका छन् । 

बहुमुखी प्रतिभाका धनी सरोज ओलीले भाषा साहित्य एवम् शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका छन् । उनको योगदानको उच्च मूल्याङ्कन गर्दै पुरस्कारद्वारा विभूषित गर्ने संस्थाहरूमा षडानन्द प्रतिभा पुरस्कार (२०४८), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३), गोकुल जोशी स्मृति पुरस्कार, त्रिमूर्ति पुरस्कार, जयन्द्र प्रसाईँ साहित्यकोष दीर्घ साहित्य सेवा पुरस्कार, नेपाल सरकार पर्यटन, उड्डयन तथा संस्कृति मन्त्रालय राष्ट्रिय पुरस्कार (२०७२) आदि रहेका छन् । यसबाहेक प्रगतिशील लेखक सङ्घ नेपाल, साहित्यिक स्रष्टा मञ्च नेपाल लगायत झापाका विभिन्न सङ्घ संस्थाहरूले  अभिनन्दन एवं सम्मानद्वारा उनलाई विभूषित गरेको पाइन्छ । 

ओलीका कृतिहरूलाई हेर्दा विशेषतः उनको सृजनशील कलमले प्रगतिशील मान्यतामा आधारित मार्क्सवादी चिन्तनशैलीलाई मूल आदर्श बनाएका छन् । कविता विधाबाट सुरु भएको उनको साहित्य लेखन यात्रा पछिल्ला वर्षहरूमा आख्यान विधामा बढी केन्द्रित छ । आख्यानमा पनि विशेषतः उपन्यास लेखन निकै उर्वर बनेर देखा पर्दछ । नेपाली साहित्यमा प्रगतिवादी उपन्यासको शृङ्खलामा ‘हडतालै हडताल जुलुसै जुलुस’ (२०६७) उपन्यास कोसे ढुङ्गाका रूपमा स्थापित भइसकेको छ । सामाजिक यथार्थ, आलोचनात्मक यथार्थ, शोषण उत्पीडन र वर्गीय भेदभावप्रति विद्रोही स्वर, मानवतावादी चिन्तन, राष्ट्रवादी भावना, स्थानीय आञ्चलिक अभिव्यक्ति सँगै स्वैरकाल्पनिक समाजवादी चिन्तनशैली आदि ओलीका उपन्यासले समेटेका मूलभूत विशेषता हुन् । लेखकको प्रकाशित पछिल्लो ‘माटोको माया’ (२०७१) उपन्यास नेपालको विकास र समृद्धिमा अझ प्राकृतिक समाजवादको पक्षमा नवीन चिन्तनको उत्प्रेरक बनेर देखिएको छ । यस्तै नवीन सोच र चिन्तनले खारिएका उनका अन्य विभिन्न विधाका पाण्डुलिपिका रूपमा रहेर प्रकाशनको उज्यालो पर्खिरहेका साहित्यिक कृतिहरू प्रशस्तै रहेका छन् । कीर्तिशेष सरोज ओलीद्वारा लिखित ती रचनाहरूलाई सार्वजनिक गर्नु परिवार एवं संस्थाहरूको अबको महत्त्वपूर्ण दायित्व हुनेछ । 

अन्त्यमा सेवा निवृत्त शिक्षक, शनिश्चरे माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, शनिश्चरे बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष, प्रगतिशील लेखक सङ्घ झापाका पूर्व अध्यक्ष एवम् प्रलेस पूर्व केन्द्रीय सदस्य वरिष्ठ प्रगतिवादी सर्जक सरोज ओलीको २०८१ कार्तिक १६ भएको निधनबाट हामीले श्रद्धेय अभिभावक, शिक्षासेवी एवं काव्यपुरुष गुमाएका छौं । यसले समग्र समाज, शैक्षिक जगत् तथा नेपाली भाषा साहित्यमा अपूरणीय क्षति पुगेकोछ । कीर्तिशेष सरोज ओलीप्रति भावपूर्ण श्रद्धान्जली एवं शोकाकुल परिवारजनमा हार्दिक समवेदना ।

  लीलाप्रसाद अधिकारी

          बिर्तामोड,३

ट्यागहरू:
सहित्य literature
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
असमको नेपाली साहित्यमा  छन्द कविहरू
असमको नेपाली साहित्यमा छन्द कविहरू
कल्पनादेवी आत्रेय पोष्ट-दिलिप घिमिरे - शनिबार १९ अक्टोबर २०२४
गर–गहना कहिले देखि
गर–गहना कहिले देखि
पुण्यप्रसाद खरेल पोष्ट- खगिन्द्रा खुसी - बुधबार ९ अक्टोबर २०२४