एक्लो बाटोको गीत

रिमेन आलोक · भदौ १६, २०८३ ५:१३ PM
Cover Image for News

कविता
 एक्लो बाटोको गीत
                   ✍️ रिमेन आलोक

 बादलका थुम्काहरू हेर्दै 
 हरेक रात निदाउने यो मनले
 आकाशमा रमाइरहेका ताराहरूसँग
 कहिल्यै प्रश्न गरेन।
 बरु आफ्नै बगैँचामा
 माहुरी गुनगुनाएझैँ
 कुटो–कोदालोसँग रमाइरह्यो,
 फूलहरूसँग मुस्कुरायो,
 पातहरूलाई सुम्सुम्यायो। 

पोहोर साल आमाले दिएको
 पुरानो रूमाल झिकेर
 जब निधारका पसिना पुच्छु,
 त्यसका कुना–कुनामा अझै
 आमाकै हातको सुगन्ध आउँछ।
 तर,
 ती पापी बलात्कारीहरू
 यही देशको हावामा सास फेरिरहुञ्जेल
 मेरी आमाको आत्माले
 कहिल्यै शान्ति पाउने छैन। 

आँखाको डिलमा जमेका
 आँसुका ढिक्काहरू
 परेलीसँग बिदाइ माग्दै
 गालाको बाटो हुँदै
 माटोसम्म पुगेर बिलाउँछन्। 

त्यतिबेला
 आमाको सम्झनाले
 म भित्रभित्रै ढल्छु,
 जस्तो आँधीले चुँडिएको
 एउटा एक्लो बोट।
 त्यो जूनलाई हेरेर
 एक रात आकाशले भन्यो—
 "यही अनुहारले,
 यिनै हातखुट्टाले
 तँ सानै हुँदा
 बोल्न सिकायो,
 हाँस्न सिकायो,
 ताते–ताते गर्दै,
 जीवनको बाटो हिँड्न सिकायो।"
 जब म सानो थिएँ,
 बा बिशाल पहाडजस्तो हुनुहुन्थ्यो।
 अहिले बा वृद्ध हुँदै जाँदा
 सानो हुँदै जानुभएको छ,
 म भने समयभन्दा अग्लो भइसकेको छु। 

बा–आमा,
 मसँग तपाईंहरूको भेट नभए पनि
 तपाईंहरू एकअर्कासँग
 अवश्य भेट्नुहोस्।
 किनकि
 एक दिन
 मेरो पनि पालो आउनेछ,
 र म पनि
 जूनको उज्यालो समात्दै
 तपाईंहरूतिरै हिँड्नेछु। 
                                   - अष्ट्रेलिया

                         ©️

ट्यागहरू:
विश्व साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
Karna Gurung
एक महिना अगाडि

Sundar Kabita

सम्बन्धित पोस्टहरू
चित्रभित्र हराएको घर
चित्रभित्र हराएको घर
✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे - शुक्रबार १६ अक्टोबर २०२६
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
✍️ डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे - बिहिबार ८ अक्टोबर २०२६
मनको ताजमहल
मनको ताजमहल
कर्ण गुरुङ - सोमबार ५ अक्टोबर २०२६
गाउँ जाने बाटो
गाउँ जाने बाटो
कवि-विराट किराती पोष्ट-दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६