नेपाली साहित्य क्लब औपचारिक घोषणा तथा शुभारम्भ विज्ञप्ति
नेपाली साहित्य क्लब
औपचारिक घोषणा तथा शुभारम्भ विज्ञप्ति
“विश्वभरिका साहित्यिक मनहरूलाई एउटै सूत्रमा जोड्ने महाअभियान”
नेपाली भाषा,साहित्य,कला,संस्कृति र पहिचानको संरक्षण,संवर्द्धन,प्रवर्द्धन तथा विश्वव्यापी विस्तार गर्ने पवित्र उद्देश्यका साथ नेपालीसाहित्य.कम (NepaliSahitya.com) ले “नेपाली साहित्य क्लब” को औपचारिक घोषणा तथा शुभारम्भ गरेको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौँ।
विश्वका विभिन्न देश, समुदाय र भूगोलमा छरिएर रहनुभएका नेपाली भाषा तथा साहित्य प्रेमीहरूलाई एउटै साझा साहित्यिक मञ्चमा जोड्दै साहित्यिक सिर्जना,अध्ययन,संवाद,सहकार्य र प्रतिभाको विकासका लागि एउटा सशक्त विश्वव्यापी सञ्जाल निर्माण गर्नु नेपाली साहित्य क्लबको प्रमुख उद्देश्य हो।
हाम्रो उद्देश्य
नेपाली साहित्य क्लबले विशेष रूपमा—
• नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने,
• नयाँ तथा स्थापित लेखक, कवि, साहित्यकार र सर्जकहरूलाई साझा मञ्च उपलब्ध गराउने,
• बालबालिका, विद्यार्थी तथा युवा पुस्तामा साहित्यप्रतिको रुचि र सिर्जनशीलताको विकास गर्ने,
• विद्यालयदेखि विश्वविद्यालय र गाउँदेखि सहरसम्मका साहित्यिक गतिविधि विस्तार गर्ने,
• नेपाल र विश्वभर रहेका नेपाली साहित्यिक समुदायबीचको सम्बन्ध, संवाद र सहकार्य स्थापित गर्ने,
• कविता, कथा, गजल, निबन्ध, गीत, उपन्यास, समालोचना, अनुसन्धान तथा अन्य साहित्यिक विधाहरूलाई प्रोत्साहन गर्ने,
• साहित्यिक गोष्ठी,सम्मेलन,महोत्सव, प्रतियोगिता, प्रशिक्षण, प्रकाशन तथा सम्मान कार्यक्रम सञ्चालन गर्ने,
• नेपाली साहित्यलाई डिजिटल प्रविधिमार्फत विश्वव्यापीकरण गरि पाठकसम्म पुर्याउने,
• नयाँ प्रतिभाको खोजी, विकास, प्रकाशन तथा सम्मानका लागि अवसर सिर्जना गर्नेछ।
• पठनसंस्कृतिको विकासका लागि पहल गर्ने र साहित्य लेखन सम्बन्धि कार्यशाला गोष्ठी सञ्चालन गर्ने,
विश्वव्यापी साहित्यिक सञ्जाल
नेपाली साहित्य क्लब कुनै एउटा स्थान, शहर वा देशमा सीमित अभियान होइन। यसको लक्ष्य नेपालदेखि विश्वका विभिन्न देशसम्म नेपाली भाषा र साहित्यलाई जोड्ने साझा साहित्यिक सञ्जाल निर्माण गर्नु हो।
यस अभियानअन्तर्गत आवश्यकताअनुसार विद्यालय, कलेज,विश्वविद्यालय,स्थानीय समुदाय, जिल्ला,प्रदेश,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा क्लब, शाखा, च्याप्टर तथा साहित्यिक सञ्जाल विस्तार गर्दै लगिनेछ।
हामी विश्वास गर्छौँ—भाषा केवल संवादको माध्यम होइन; भाषा हाम्रो इतिहास, संस्कृति, भावना र पहिचानको जीवन्त आधार हो। साहित्य त्यसै पहिचानलाई पुस्तादेखि पुस्तासम्म जीवित राख्ने शक्तिशाली माध्यम हो।
त्यसैले नेपाली साहित्य क्लब केवल एउटा संस्था वा क्लबको निर्माण होइन; यो नेपाली भाषा, साहित्य र संस्कृतिलाई नयाँ पुस्तासँग जोड्दै विश्वमञ्चमा अझ सशक्त रूपमा स्थापित गर्ने साझा अभियान हो।
सहभागिताका लागि आह्वान
विश्वभर रहनुभएका साहित्यकार, लेखक, कवि, गीतकार, गजलकार, पत्रकार, कलाकार, शिक्षक, विद्यार्थी, अनुसन्धानकर्ता, साहित्यिक संस्था तथा सम्पूर्ण नेपाली भाषा–साहित्यप्रेमी महानुभावहरूलाई नेपाली साहित्य क्लब मा आबद्ध भई यस अभियानको सहयात्री बन्न हार्दिक आह्वान गर्दछौँ।
आउनुहोस्—
विद्यालयदेखि गाउँसम्म,
गाउँदेखि सहरसम्म,
नेपालदेखि विश्वसम्म,
नेपाली भाषा,साहित्य र संस्कृतिको ज्योति फैलाऔँ।
हामी फरक भूगोलमा हुन सक्छौँ, फरक पुस्ताका हुन सक्छौँ, हाम्रा सिर्जनाका विधा फरक हुन सक्छन्—तर नेपाली भाषा र साहित्यप्रतिको प्रेमले हामीलाई एउटै सूत्रमा बाँध्न सक्छ।
हाम्रो संकल्प
“साहित्यलाई जोडौँ, प्रतिभालाई प्रोत्साहन गरौँ, संस्कृतिलाई संरक्षण गरौँ र नेपाली साहित्यलाई विश्वसँग जोडौँ।”
आजबाट नेपाली साहित्य क्लबको यो साझा साहित्यिक यात्रा औपचारिक रूपमा प्रारम्भ भएको घोषणा गर्दछौँ।
यस महाअभियानमा तपाईंहरूको सहभागिता, सहकार्य, सुझाव र सद्भावको हार्दिक अपेक्षा गर्दछौँ।
कर्ण गुरुङ
संस्थापक तथा अध्यक्ष
नेपालीसाहित्य.कम/नेपाली साहित्य क्लब