१९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विराटनगरमा साहित्यकार तथा समालोचक स्व. दधिराज सुवेदीलाई विशेष कार्यक्रम सम्पन्न गरी सम्झियो

Khagendra Khushi · भदौ १७, २०८३ १:३३ AM
Cover Image for News

झापा, भदौ १७ गते । १९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विराटनगरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा साहित्यकार तथा समालोचक स्व. दधिराज सुवेदीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गरिएको छ । कार्यक्रमका मुख्य वक्ता साहित्यकार बलराम पोखरेलले दधिराज सुवेदी एक अथक साधक भएको उल्लेख गर्दै  सुवेदीको सरल जीवनशैली र साहित्यप्रतिको निष्ठाले नयाँ पुस्तालाई सधैँ ऊर्जा दिने बताउनुभयो । यस्तै प्राज्ञ एवं दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले सुवेदीको समालोचकीय क्षमता र साहित्यिक पत्रकारितामा उहाँले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै सुवेदी विराटनगरको साहित्यिक पहिचान भएको बताउनुभयो ।
परोपकार अभियान समूह विराटनगरद्वारा आयोजित सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य शिला दीक्षितले पुस्तकालय ज्ञानको मन्दिर भएको र दधिराज सुवेदी जस्ता व्यक्तित्वले समाजमा पठन संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले पुस्तकालयको संरक्षण र प्रवर्धनमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । साहित्यकार कविराज न्यौपानेले आजको डिजिटल युगमा पनि भौतिक पुस्तकालयको सान्दर्भिकता उत्तिकै रहेको विचार व्यक्त गर्नुभयो । इन्टरनेटको भिडमा आधिकारिक ज्ञानका लागि पुस्तक र पुस्तकालय नै भरपर्दो स्रोत हुने उहाँको तर्क थियो । डा. भेषप्रसाद धमलाले सुवेदीले पुस्तकालय स्थापना र सञ्चालनका लागि देखाउनुभएको सक्रियता सबैका लागि अनुकरणीय रहेको बताउनुभयो ।
परोपकार अभियान समूहले आयोजना गरेको कार्यक्रममा समूहका अध्यक्ष बाबुराम न्यौपाने, कार्यक्रम संयोजक इन्दु सुवेदीलगायत विराटनगरका कवि, लेखक तथा सामाजिक अभियन्ताले सुवेदीले जीवनकालमा समाजसेवा र साहित्यको क्षेत्रमा गर्नुभएको योगदानको चर्चा गर्नुभएको समाचार प्राज्ञ विवश पोख्रेलबाट प्राप्त भएको छ । 

ट्यागहरू:
samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।