`जो पत्थरसँग दैनिक संवाद गर्छन्´
`जो पत्थरसँग दैनिक संवाद गर्छन्´
✍️´विवश' बलिभद्र कोइराला
"सामान्य मानिसका आँखामा सामान्य अर्थ र अवशेष भएका पत्थरका साना! ठूला! हल्ला विहीन, बिभिन्न आकार ,प्रकार र आयतन ओगटेर आफ्नो कार्यकक्ष नजिक असरल्ल हलचल नगरी बसेका ढुङ्गाहरूमा उनका आँखाहरुले यता-उता गरीरहँदा उनी ती अमुक पत्थरहरूसँग दैनिक मौन संवाद गर्छन्।उनी कुनै पत्थरमा भगवान्का आकृतिहरू देख्छन्, कुनैमा दार्शनिक, चिन्तक, अन्वेशक र वैज्ञानिक !
कुनैमा आफ्नै आफन्त र समाजका अनुहारहरु दुरुस्तै देख्छन् । विकृति, विसंगतिले थाङथिलो भएका अनुहारहरू अनि तिनै अध्याराहरूमा देख्छन् सम्भावनाको सुरम्य उज्यालो पनि । फुर्सद नभएर मात्र हो । उनलाई पत्थरको हतारो कति छ भन्ने थाहा छ ।

उनी हुन् मूर्तिकार हिम्मत नेम्बाङ ,जो कन्काई नपा. वडा नम्बर ३ गोहीखाडी स्थित सेवारो क्रिएटिभ आर्ट एण्ड एकेडेमीमा छिनो, मार्तलसँग मुस्काउँदै सन्तोषले धुलो पुस्दै गरेका भेटिन्छन् । श्रीमती सहित एक छोरा र एक छोरीका पिता जो लाहुरे जीवन छोडेर दुई दशक अघिबाट छिनो मार्तलले ढुङ्गाको आयातन र उचाई नापेर वासस्थानलाई प्राकृतिक बहुउपयोगि बहुउपयोगी रूपमा स्थापित गरेर आफू सुपरिचित भएकाछन् । यो उनको मूर्तिशाला उद्योग मात्र होइन। घर,गृहस्थी, व्यापार, पाहुनाघर, अध्ययनशाला र मनोरञ्जन सहित हजारौं मानिसहरुको स्वैच्छिक साझा आवतजावतको गन्तव्य पनि हो ।अर्थात नेम्बाङ, निवास बहुउद्देश्यीय प्राप्तीको एउटा खुल्ला तर ज्ञानवर्धक पुस्तक पनि हो।
मूर्ति कार्यशालामा नामले पनि नबोली अस्तित्व, पहिचान र सांस्कृतिक बिरासत बोल्ने मुन्धुमी स्वागत "सेवारो" छ।आगन्तुकहरुलाई स-सम्मान स्वागतमा मुस्कुराउने "सिलाम साक्मा" अर्थात मुधुमी याक्थुङ सौन्दर्यमा मृत्युको बाटो छेक्ने अश्त्र छ। आँगनमा झरेका पातपतिङ्गर र ढुङ्गाहरू पनि स्वपहिचानको स्वागतको न्यानो छरेर हिम्मतजीसँगै उभिरहेका छन्।
सन् १९९२ मा लाहुर भर्ती भएर सन् २००२ मा दश बर्ष लाहुरे भएर भारतीय गोर्खा राईफलबाट स्वैच्छिक अवकाश लिई आफ्नै परिवेशमा पत्थरसँग लुकामारी खेल्न थालेका कलाकारलाई मैले सोधें-हिम्मतजी हुँदा खाँदाको सुन्दा र देख्दा निक्कै भव्य र सुकिलो लाउरे' जीवन किन अधुरै छोड्नु भो ?
मुसुक्क मुस्कुराउँदै निक्कै परसम्म क्रमश:सजिएका आकर्षक मूर्त,अमूर्त मूर्तिहरूतर्फ इसारा गर्दै भन्नुभयो । `मैले लाउरे जीवन त्यागेको होइन बरु यी मूर्तिहरुको अनुरोधले जित्यो होला र मैले यो धुलो रोज्नु उचित ठानें क्यार ?´ 
हिम्मतजीका कुराहरू हुन् वा कुराहरू पनि कविताहरु, हुन् । बुझ्नभन्दा पनि सुनिरहन मन पर्ने । उनको निवासमा सयभन्दा धेरै किसिमका बोटबिरुवा छन् । सुविधा सम्पन्न शहरको होटलजस्तो वातावरण मैत्री `ट्री हाउस´ एकापट्टि सञ्चालनमा छ।अर्को छेउमा हिम्मतजीका हजारौं चित्रहरूको आर्ट ग्यालरी छ ।त्यस्तै अर्को कुनामा पोखरी छ। पोखरीमा माछा छन्। वरीपरी बाँस र निक्कै ठूला रुखहरूको शीतल छहारी छ ।
फूलैफूल र जडीबुटीका लहराले जेलिएको घेराबारा छ । जहाँबाट मौलिक संस्कृति , संस्कार र सभ्यताको सुगन्ध आइरहन्छ । जहाँ कहिले कविहरू भेला हुन्छन् र कविता पाठ गर्छन् । कहिले विद्यार्थीहरु अवलोकन भ्रमणका लागि आइपुग्छन्,।कहिले गायक कलाकाहरूका प्रस्तुतीले विशेष दिनहरू अवेर साँझसम्म पुलकित भएर जागीरहन्छन् ।
चराहरूलाई , भ्याउँकिरी र मुसा,भ्यागुताहरूलाई खुलेआम नाँच्न, बस्न र रमाउँन छुट्छ। चारो खुवाएर पालेका माछा आँखे अघि वकुल्लोले टिपेर लैजान्छ ! " माया त लाग्छ नि तर लैजाओस् " यो प्राकृतिक नियम हो । कसैले नखेद्नु, नलखेट्नुः हिम्मतजीको उर्दी छ।
छिनो, मार्तल लिएर कुनै ढुङ्गासँग खेलीरहेका हिम्मतजीसँगै ढुकुर र गौँथली छेउमै जिस्किदा रहेछन् । उनलाई यो समय निक्कै रोमाञ्चक लाग्दो रहेछ।
कुनै समयको बर्खे गोधूलि साँझमा घर आएका पाहुनाले भनेछन्-
होइन यो घर हो कि किरा,फट्याङ्ग्राहरुको सङ्गीतालय ? हामी घरमा बसेका छौ कि ? कुनै घनघोर जङ्गलमा ?
हुन पनि हो! वर्षाको झरी भ्यागुताहरुको घनीभूत आवाजमा झ्याउँकिरीको आलाप, चराहरूको सुमधुर स्वर अझ साँझको वातावरणीय अध्यारोमा आहार खोज्न निस्किएका जुनकीरीहरुको उज्यालो । त्यही उज्यालोमा वताससँग ठोकिएर चारैतिर फैलिएको फूलको सुगन्ध !कवि भए कविता लेख्ने मुड चल्दो हो । गीतकार भए गीत! ध्यानीका लागि साँच्चै खुल्ला योगस्थल, चिन्तन र ज्ञान आर्जनको मुहान झैं सेवारो क्रिएटिभ आर्ट एण्ड ग्यालरी ! नामैले अध्यात्म, आधुनिकता , मौलिक पहिचानको वैज्ञानिक समिश्रण " सेवारो क्रिएटिभ एण्ड आर्ट" जस्ले पाहुनालाई मात्र होइन सबैलाई त्यस्तो संमोहन लगाउने रहेछ।
कुनै पनि बस्तुमा आकृति मात्र प्रदान गरेर कलाकारको उद्देश्य पूरा हुदैन अरे ! हिम्मतजीले भनेको । आकृतिको पूर्णताप्रतिको न्याय पनि पर्याप्त हुदैन रे!उहाँले नै भनेको। समय, काल र परिस्थिति अनुसार कलाको उद्देश्य व्याख्या, प्रदर्शनी र उपयोगी लेखन र दस्तावेजीकरण पनि उतिकै आवश्यक पर्ने रहेछ त्यसैले मैले मेरो कर्म र सीपलाई आयआर्जनको रूपमा वा उद्योगको रूपमा मात्र सिमित गराउन सकिन ।
मेरा अग्रजहरु पनि भाषा, साहित्य र कलाप्रति समर्पित थिए, त्यही गुण ममा पनि सरेर आयो होला र नै म यो धुलोमाटोसँग सजिलै रत्तिएँ होला ! मेरो कला सीप र जाँगर मेरो मुख्य आर्जनको स्रोत त हुँदै हो । त्यो भन्दा पर पनि एउटा कलाकार लेखक र चिन्तन भएका नाताले मेरा पनि सामाजिक दायित्वहरू छन् जस्लाई पूरा गर्नु मेरो धर्म र कर्मको मर्म पनि हो ।
अनि त मैले यो सानो ठाउँलाई वैज्ञानिक भू-उपयोगिताको सिद्धान्त अनुसार कतै आय-आर्जनको व्यापारिक स्थलका रूपमा, कतै आफ्ना दिवंगत आत्माहरूको सम्मान र स्मरणका रूपमा, कतै खुल्ला अध्ययन अध्यापनका लागि ,कतै अन्वेशण र चिन्तनका लागि त कतै खुल्ला र अरुका शिल्प, कौशल र प्रदर्शनका लागि व्यवस्थापन गरेको छु ।अझ प्राकृतिक सौदर्य र जैविक विविधताको संरक्षण समेतमा ध्यान पु-याउने प्रयास गरेको हुँ ।
यो मेरो सुरुवात हो। क्रमश:मूर्तिकला, चित्रकला र लेखनकलासँग अलग- अलग अध्ययन गर्नेगरी स्मृति ग्यालरी थप्ने योजना छ। जसरी मेरा स्वगीर्य बाजे रनध्वोज नेम्बाङ स्मृति ग्यालरी देख्नु भयो त्यसै गरी अन्य ग्यालरी समेत धप्दै लाने योजनामा छु ।जहाँ अध्ययन गर्न चाहनेले मन परेकै विषय र विधा रोज्न पाउँन।
ओहो ! यसै पनि पत्थर त्यसमाथि हजारौं किलोका एक्लै हल्लाउन नसकिने,निश्प्राण ढुङ्गामा सपनाको प्राण थाप्नेकाम, कामसँगै आफ्नै हृदयको आवाजको पनि विश्राम दिलाउन गरिने महिनौंको एकोहोरो मेहनत ! साँच्चै कल्पना बाहिरकै कुरा लाग्ने । कसरी सम्भव भएका होलान् , सार्वजनिक चोक चोकमा उभिएका उनका बहुआयामिक अर्थ उदेश्य र चिन्तन बोकेका सार्वजनिक सालिकदेखि आफ्नै ग्यालरीमा सजिएका सयौं संख्याका मूर्त अमूर्त सालिकहरु !हजारौं चित्रहरु,भाषा, साहित्यका, लेख आलेख र कृतिहरु ? यस्ता हजारौं प्रश्न, जिज्ञासा, कौतुहलहरुको एउटै उत्तर हिम्मत नेम्बाङ हो।

यो मेहनतलाई साधुवाद छ ।अविराम यात्राका कला सारथि हिम्मतको हिम्मतलाई सलाम छ। नेपाली 'चित्रकला, मूर्तिकला, लेखन कला र रङ्ग कलाका स्थापित स्रष्टा हिम्मत नेम्बाङ ।जो सधैँ ढुङ्गासँग भावनाको गहिरो जंघारमा डुवेर फर्किन्छन् अनि आफू मात्र चम्कदैनन् पत्थरका अनुहारहरुलाई पनि निशब्द शब्द प्रदान गर्दछन् र जुग जुगान्तर चम्काउँछन्।हिम्मतजीलाई थप हिम्मतको शुभकामना छ।
-चुलाचुली,इलाम