असमको नेपाली साहित्यमा छन्द कविहरू
असमको नेपाली साहित्यमा छन्द कविहरू
✍️कल्पनादेवी आत्रेय
छन्द साहित्य नेपाली भाषा साहित्यको संस्कृति र सभ्यतासँग जोडिएको हो। यसको मूल उद्गम स्थल पनि नेपाली बहुल क्षेत्र नै मानिन्छ। पिङ्गलले बनाएका संस्कृत छन्दहरू आदिकालबाट आजसम्म नेपालीमा प्रयोग भइआएका छन्। यदि छन्द साहित्य नेपाली भाषा साहित्यबाट अलग गरिदिनु हो भने नेपाली साहित्य निश्चय नै पङ्गु हुनेछ, यसमा सन्देह छैन।
विश्वको जुनसुकै क्षेत्रमा भए पनि यदि त्यहाँ नेपाली साहित्यिकवर्ग रहेको छ भने, छन्द साहित्यको चर्चा र लेखन भएकै हुन्छ। यसको मूल कारण हो छन्द लेखन नेपालीको सभ्यता र संस्कृतिसँग जोडिएर आएको छ। यसले हाम्रो संस्कृति बोकेको छ, मर्यादा बोकेको छ अनि हामीलाई हामी हुनुको गौरवबोध गराएको छ। नेपाली साहित्यमा छन्द लेखनले आजको मितिसम्ममा निकै लामो ऐतिहासिक यात्रा गरिसकेको अनि यसको प्रयोग र जनप्रियतामा आज अलिकति पनि कमी आएको छैन। जसरी संस्कृत साहित्यको काव्य लेखन (लौकिक र वैदिक दुवै) छन्दबाट प्रारम्भ भएको छ, त्यसैगरी नेपाली काव्य साहित्यको लेखन पनि छन्दबाट नै प्रारम्भ भएको छ। यो परम्परा भानुभक्त आचार्यका अघि र पछिका कविहरूले पालन गरिआएका छन्। यो एउटा अमर विधा सावित भएको छ।
हिन्दी साहित्य, असमिया साहित्य लगायत संस्कृत मूलका भाषीहरूमा छन्दको प्रयोग भएकै छ ता पनि आजको परिप्रेक्ष्यमा छन्द लेखनभन्दा छन्दमुक्त लेखन अधिक प्रचलनमा ल्याएका छन्। तर छन्द कविताको जनप्रियता भने उत्तिकै छ, कमेको छैन।
विशेष गरी नेपाली भाषा साहित्यले छन्दलाई आज पनि उही रूपमा अपनाएका विशेष कारणहरू छन्। संस्कृत छन्दको उद्गम नेपाली बहुल क्षेत्र नै भएको हुँदा नेपालीहरूले छन्द लेखन उत्तराधिकारीको रूपमा पाएको पुर्ख्यौली सम्पत्ति हो। छन्द साहित्य हाम्रो आफ्नै उपज हो र यसमा हाम्रो संस्कृतिको सौरभ, सभ्यताको महिमा, गरिमाको प्रतिफलन, आदर्शको अनुगमन र विकासक्रम परिशीलनको गति निहित छ।
नेपाली लोक साहित्य उद्गमको केन्द्रमा पनि छन्दको प्रभाव छ। नेपाली साहित्यमा दुई खालका छन्दको प्रयोग पाइन्छ। शास्त्रीय छन्द र लोकलय। शास्त्रीय छन्द मात्रा गन्तिका आधारमा लेखिन्छ भने लोक छन्द वर्ण गन्तिका आधारमा लेखिन्छ। अक्षर वा मात्रा गणनाका आधारमा लेखिने छन्द कविता सिकारु अवस्थामा केही कठिनाइजस्तो लागे पनि क्रमश: त्यो सरलतामा परिणत हुने कुरा लेखकहरू भन्छन्।
मेरो यो लेखमा असमको छन्द साहित्य र छन्द कविमाथि केही प्रासङ्गिक कुराहरू जोड्न खोजिएको छ। यो समयको माग पनि हो भन्ने अनुभव पनि गरेकी छु।
असमको नेपाली साहित्यमा शास्त्रीय छन्द र लोक लयात्मक छन्दमा काव्य लेखनको परम्परा पुरानो हो। १८९३ मा मणिपुरका तुलाचन आलेको सवाई छन्दमा (लयात्मक) लेखिएको 'मणिपुरको लडाइँको सवाई’बाट सुरु भएको थियो पूर्वीय भारत असमलगायतको काव्ययात्रा। आलेको सवाईपछि भारत स्वाधीनकालमा पनि बिहालीका केही विद्वानहरूले छन्दमा कविता रचेको पाइन्छ। पछि जगन्नाथ गुरागाञीका 'गुणरत्नमाला’ र 'नम्र निवेदन’ दुईटा अति प्रिय छन्द पुस्तक प्रकाशमा आए। नीतिशतकका आधारमा लेखिएका यी पुस्तकले पाठकमा नीतिशिक्षाको बोध गराउँछन्। उनको कर्मक्षेत्र असमकै शोणितपुर जिल्ला थियो। पूर्वाञ्चलका कोइली कवि मानिने पुष्पलाल उपाध्यायले असमको छन्द साहित्यलाई नेपाली साहित्यमा प्रतिष्ठा दिलाए। छन्दमा कलम चलाएर भारतीय साहित्य अकादमी पुरस्कार प्राप्त गर्न सक्षम भएका कवि पुष्पलाल उपाध्यायका कविताको सरलता र सरसताको प्रशंसा आज पनि सुन्न पाइन्छ। उनले १९८८ को साहित्य अकादमी पुरस्कार 'उषा मञ्जरी’मा प्राप्त गरेका हुन्। 'उषा मञ्जरी’ शास्त्रीय छन्दमा लेखिएको कविता विधाको ग्रन्थ हो। असमको छन्द साहित्य “साहित्य अकादमी, दिल्ली”बाट पनि समादृत भएको सुखद अनुभूति हामीमा छँदैछ लेखनको शृङ्खला पनि टुटेको छैन। निरन्तर चलिरहेकै छ।
अहिले असमकै छविलाल उपाध्याय छन्द लेखनमा निरन्तर लागिरहेका व्यक्तित्व हुन्। उनका महाकाव्यको सङ्ख्या र खण्ड काव्यको सङ्ख्या थुप्रै छ। उनको देवकोटा महाकाव्यलाई असमको पहिलो महाकाव्य भनी विद्वानहरूले स्वीकारेको पाइन्छ। वर्तमान असममा शास्त्रीय छन्दमा सबैभन्दा धेर नेपाली काव्य पुस्तक प्रकाशन गर्ने श्रेय छविलाल उपाध्यायलाई नै जान्छ।
यसैगरी डा. खेमराज नेपालले पनि असमको छन्द साहित्यमा 'सृष्टि’ नामक महाकाव्य छन्दमा लेखेर छन्द साहित्यको मर्यादा बढाएको पाइन्छ। उनका छन्दका फुटकर कविताहरू पनि थुप्रै छन्। उनले लेखेको सृष्टि महाकाव्यले असमक्षेत्रलाई पृष्ठभूमि बनाएको छ। यो महाकाव्यले साधारण मानिसको जीवनभोगाइलाई विषयवस्तु बनाएर समस्याको उठान र समाधान गरेको छ।
असमका अर्का एकजना चर्चित छन्द कवि हुन्, विद्यापति दाहाल। विद्यापति दाहालका खण्डकाव्य लगायत महाकाव्य पनि छन्। उनको 'उषाहरण’महाकाव्यमा उषा अनिरुद्धको प्रेम, हरिहरयुद्ध आदि वर्णन छ। उनलाई 'असम नेपाली साहित्य सभा, ओदालगुडी जिल्ला समिति’ले महाकविको उपाधि पनि प्रदान गरेको छ। उनी वर्तमान संस्कृत साहित्यमा निमग्न रहेको देखिन्छ। उनले संस्कृतमा पनि छन्दमा धेरै महाकाव्यहरू लेखेका छन्।
डा. शिव आचार्य पनि असमका एकजना प्रखर छन्द कवि थिए। वैदिक साहित्यमा निष्णात डा. आचार्यको असामयिक निधनले असमको बौद्धिक क्षेत्रमा ठुलो क्षति भएको छ।
लङ्का, असमका शिव शास्त्रीका पनि छन्द कविताहरू छन्। उनले छन्दका सूत्रहरू र अलङ्कार समेटेर ‘छन्दको सँगालो’ नामक पुस्तक प्रकाशमा ल्याएको देखिन्छ। असमका छन्द कविका पङ्क्तिमा शिव शास्त्री पनि अन्यतम कवि हुन्।
उपरोक्त प्रौढ विद्वानहरूबाहेक वर्तमान असममा केही युवा छन्द कविहरू पनि छन्। सामाजिक सञ्जालमा आएका उनीहरूका केही कविताले शास्त्रीय र लोक छन्द विधालाई अँगालेको देखिन्छ। यी कविहरूभित्र, डा. दैवकी देवी तिमसिना, लक्ष्मण अधिकारी, ज्योति हुमागाञी, निर्मल ढुङ्गाना उपाध्याय, अनूप शर्मा, रोहिणी तिमसिना आदि पर्दछन्। डा. दैवकी देवीले बालोरी, सवाई आदि लोक छन्दमा शिशु साहित्यको पुस्तक प्रकाशनका निम्ति तयार छ भने लक्ष्मण अधिकारीको ‘माटो र मानिसका कविता’ (२००८) मुक्त छन्द र शास्त्रीय छन्दको सङ्ग्रह प्रकाशित छ। रेवतीमोहन तिमसिनाको पनि लोकलयमा आधारित ‘शबरी’ काव्य ग्रन्थ रहेको छ।
वर्तमान केही नारी सर्जकहरूले पनि छन्द कविता रुचाएको देखिन्छ। ओदालगुडीबाट पद्मावती देवी ढुङ्गाना, दुलुमणि देवी उपाध्याय र मनीषा दाहाल, नगाउँबाट कल्पना देवी आत्रेय र लखिमपुरबाट पद्मा देवी आदिले शास्त्रीय र लोक छन्दमा कविताहरू लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको छ।
अहिलेको असममा गद्य कविका तुलनामा छन्द कविहरूको सङ्ख्या थोर छ। गद्य कविता लेखनमा केही हदसम्म सजिलो र आफ्नै पाराको लयका आधारमा लेखिने हुँदा कविलाई थोर परिश्रम पर्दछ। त्यसैले लेखकहरूको झुकाउ मुक्त छन्द वा गद्य कवितापट्टि हुनु स्वाभाविक हो। हुन त गद्य कविता अनुवादका दृष्टिकोणले सजिलो छ, भन्ने मत पनि केहीको पाइन्छ। तर छन्द कविता अनुवाद नै गर्न नमिल्ने, नसकिने भन्ने कुरा केही छैन। धेरै छन्द कविताहरू विभिन्न भाषामा अनुवाद भएका छन्। त्यसैले अनुवादको बहानामा यो विधा पन्साउनु उचित होइन।
शास्त्रीय छन्द परम्परारूपमा हाम्रो सम्पत्ति रहेको हुँदा यसको संरक्षण र संवर्धन नितान्त आवश्यक हो। छन्द लेखनमा प्रोत्साहन दिन र यसप्रति लेखकलाई आकृष्ट गराउन आवश्यक छ। कारण छन्दको विलोपमा हाम्रो संस्कृतिको एउटा पाटो विलोप हुने निश्चित छ। साहित्य लगायत जातीय संस्थाहरूले पनि यो दिशामा केही चिन्तन गर्न आवश्यक देखिन्छ। तर किन हो, संस्कृति र जातीय संस्थाहरू यो विषयमा मौन छन्। असममा नेपाली साहित्य लेखनको शिल्पकलामा विकास हुन जसरी आवश्यक छ, त्यसैगरी छन्द विधालाई पनि विलुप्तिको सङ्घारबाट उकास्नुपर्ने आवश्यक देखिन्छ। कविहरूको उद्यम र सम्बन्धित निकायहरूको सहयोग अपेक्षित छ।
-कलियाबर,असम