हरितालिका तीज महोत्सव तथा 'हाम्रो गौरव अवार्ड २०२६' को नयाँ दिल्लीमा आयोजना गरिने
झापा १८ भाद्र/हरितालिका तीज महोत्सव तथा 'हाम्रो गौरव अवार्ड २०२६' को अवसरमा आगामी भाद्र २८ गते आइतबार तदनुसार १३ सेप्टेम्बर २०२६मा नयाँ दिल्लीमा भव्य कार्यक्रमको आयोजना गरिने भएको छ।
कार्यक्रम दिल्ली सरकारको सहयोगमा र पतञ्जलि योगपीठ, हरिद्वारको सान्निध्यमा हाम्रो स्वाभिमान ट्रस्टले यो वृहत् सांस्कृतिक तथा पुरस्कार वितरण समारोह इन्दिरा गान्धी इन्डोर स्टेडियम,आईटीओ, नयाँ दिल्लीमा आयोजना गर्न लागेको हो।पहिलोपटक यो कार्यक्रममा दिल्ली सरकारले सहयोग गर्न लागेको हो।
हाम्रो गौरव अवार्ड २०२६ का सम्मानित व्यक्तित्वहरूमा विभिन्न क्षेत्रका ११ जना प्रतिष्ठित नेपाली गोर्खा व्यक्तित्वहरूलाई यस वर्ष सम्मानित गरिँदै छ। जसमा- गोपालसिंह नेपाली-आजीवन उपलब्धि सम्मान,पद्मश्री गम्भीरसिंह योनजोन-जैव विविधता, पद्मश्री जीतु राई-विश्वविजेता निशानेबाज,सुनील छेत्री- पूर्व कप्तान, भारतीय राष्ट्रिय फुटबल टोली,देवराज उपाध्याय-प्रशासनिक सेवा,डा.गोकुल सिन्हा-साहित्य तथा शिक्षा,सुश्री शान्ति ठटाल-संगीत,कृष्ण कडारिया-व्यवसाय एवं उद्यमिता,विनोद खनाल-कला एवं संस्कृति,एसीपी जमुना थापा-महिला सशक्तीकरण,श्री भावेश निरौला-कृषि एवं जैविक खेती सम्बन्धि योगदान दिने व्यक्ति रहेका छन्।
यो केवल सांस्कृतिक उत्सव मात्र नभई “शोकलाई शक्तिमा बदल्दै, एकता, सहयोग र पुनर्निर्माणसहित नयाँ सुरुआतको संकल्प लिने कार्यक्रम” रहने आयोजकले बताएको छ।
शोकलाई शक्तिमा बदल्ने संकल्प: यस वर्ष नेपालमा आएको हालैको विनाशकारी बाढी पहिरोका कारण ज्यान गुमाएका दिवंगत आत्माहरूको सम्झनामा कार्यक्रममा विशेष शोक व्यक्त गरिनेछ। साथै, बाढीपीडित परिवारहरूको राहत र पुनर्स्थापनाका लागि यस कार्यक्रममार्फत Fund Mobilization (कोष संकलन) अभियान समेत सञ्चालन गरिने समाचार छ।
भारतमा रहेका नेपाली समुदायबीच सांस्कृतिक एकता कायम राख्नु र विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुऱ्याउने विशिष्ट नेपाली व्यक्तित्वहरूलाई हाम्रो गौरव अवार्डबाट सम्मानित गर्नु यसको मुख्य लक्ष्य रहेको आयोजकको दाबी छ।
यो कार्यक्रम पतञ्जली योगपीठ हरिद्वारका संस्थापक स्वामी रामदेव र आचार्य बालकृष्णको समुपस्थिति तथा दिल्ली सरकारको सहयोगमा आयोजना हुँदैछ।