मिरिकमा पहिलो चोटि "महफिल गजल" कार्यक्रम हुने

दिलिप घिमिरे · भदौ १६, २०८३ ८:४२ PM
Cover Image for News

झापा १६ भाद्र/दार्जिलिङ जर्नल पव्लिकेशनको आयोजनामा आगामी असोज ४ गते आइतबार (ता: २० सितम्बर २०२६) को दिन मिरिकमा साहित्यिक एवम् साङ्गितीक कार्यक्रमको आयोजना गरिने भएको हो। 

नेपाली साहित्यका गजल विधामा सम्पन्न गरिने यस कार्यक्रममा गजल वाचन र गायनलाई एउटै मञ्चमा प्रस्तुत गरिने छ। यस कार्यक्रममा गजल वाचनमा पूर्वी नेपालकी सुपरिचित कवि, गजलकार एवम् सञ्चारकर्मी रेडियो विराट (८८.५ मेघाहज) बिर्तमोडकी प्रबन्ध निर्देशक लीला अनमोलको एकल गजल वाचन रहनेछ भने गजल गायनमा खर्साङका गायक संगीतकार ,संगीत संयोजक तथा म्युजिक मेलोडी खर्साङका निर्देशक महेश्वर लामाको एकल प्रस्तुति रहने कार्यक्रमका संयोजक डिएल प्रधानले बताए । 

कार्यक्रममा गजलका दुई फरक आयाम वाचन र गायनलाई एउटै मञ्चमा प्रस्तुत गर्ने तयारी गरिएको छ। साहित्यमा गजलको विकास, यसको मौलिकता र नेपाली समाजमा गजलले बोकेको भावनात्मक पक्षलाई प्रत्यक्ष अनुभूति गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक समितिको भनाइ छ। 

मिरिकमा यसअघि विभिन्न सङ्घ,संस्थाहरुले साहित्यिक तथा सांगीतिक कार्यक्रम हुँदै आए पनि गजल विधामै केन्द्रित भएर वाचन र गायनलाई एउटै मञ्चमा प्रस्तुत गर्न लागिएको यो पहिलो कार्यक्रम भएको आयोजक समितिले दाबी गरेको छ। यही विशिष्टताका कारण कार्यक्रमको नाम ‘महफिल गजल’ राखिएको जनाइएको छ। 

यस "महफिल गजल" को रसास्वादन गर्न मिरिक लगायत नेपाल, दार्जीलिङ, खर्साङ, र सिलगढीका भाषा,साहित्य र संगीत अनुरागीहरुको विशेष उपस्थिति रहने आयोजकको भनाइ रहेको छ।

कार्यकमलाई सफल बनाउन आयोजक समितिले सबैलाई साथ सहयोग र उपस्थितिका लागि अनुरोध समेत  गरेको छ।कार्यक्रम मिरिकको कृष्णनगरमा अवस्थित जगजीत होटलको प्रेक्षागृहमा दिउँसो १:३० बजेदेखि सुरु गरिने छ। कार्यक्रमको सहजीकरण भने नेपालका चर्चित गजलकार विवश बलिभद्र कोइरालाले  गर्नेछन्।

ट्यागहरू:
साहित्य# कला गीत संगीत #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।